गुगल मेसेजमा डिलिट गरिएका मेसेजका लागि जिमेलको जस्तै ट्र्याश फोल्डर ल्याउने तयारी
कात्तिक १२, २०८२ १०:४२
काठमाडौँ । गुगल मेसेज (Google Messages) एपमा डिलिट गरिएका मेसेजहरूका लागि ट्र्याश फोल्डर (Trash folder) आउने सम्भावना देखिएको छ । पछिल्लो मेसेज बेटा बिल्डमा ‘ट्र्याश गरिएका कुराकानीहरू’का लागि एउटा कोड पत्ता लागेको हो ।
हालको अवस्थामा कुनै पनि मेसेज डिलिट गर्दा त्यो तुरुन्तै र स्थायी रूपमा तपाईँको डिभाइसबाट हट्ने गर्दछ । तर यो विकासले आगामी अपडेटमा मेसेजहरू डिलिट गर्ने तरिका फरक हुन सक्ने सङ्केत मिलेको छ ।
विकास भइरहेको यो ट्र्याश फोल्डरले जिमेलको ट्र्याश जस्तै काम गर्न सक्ने बताइएको छ । यो संयन्त्र अनुसार ट्र्याशमा सारिएका मेसेजहरू ३० दिनसम्म राखिनेछन् र त्यसपछि स्वतः स्थायी रूपमा मेटिनेछन् ।
यसले प्रयोगकर्ताहरूलाई उनीहरूले डिलिट गरेका मेसेजहरूलाई स्थायी रूपमा मेटिनुअघि हेर्न वा पुनः प्राप्ति गर्नका लागि एक प्रकारको ग्रेस पिरियड प्रदान गर्नेछ ।
मेसेजको messages.android_20251020_01_RC01.phone.openbeta_dynamic नामक पछिल्लो भर्सनमा यो नयाँ सुविधाको कोड फेला परेको एन्ड्रोइड अथोरिटीले जनाएको छ । एक नयाँ कोड स्ट्रिङले ट्र्याश फोल्डरलाई सिधै सन्दर्भ गरेको छ । जसको कोड छ:
Code <string name="trash_folder_activity_title">Trash</string>
यसबाहेक ट्र्याश गरिएका कुराकानीहरूसँग सम्बन्धित अन्य कोडहरू पनि भेटिएका छन् । जस्तै:
Code CREATE TABLE trashed_conversations Code DROP INDEX IF EXISTS index_trashed_conversations_conversation_id
नयाँ ट्र्याश कार्यक्षमताको कुनै पनि यूआई सक्रिय गर्न नसकिएकोले यो अझै विकासको प्रारम्भिक चरणमा हुन सक्ने अनुमान गरिएको छ । यो नयाँ ट्र्याश फोल्डर सार्वजनिक हुने अपेक्षित मितिको बारेमा पनि कुनै जानकारी छैन ।
सामान्यतया एपीके टियरडाउन मार्फत काम भइरहेका कोडमा आधारित रहेर भविष्यमा आउन सक्ने सुविधाहरूको भविष्यवाणी गरिन्छ । यद्यपि यसरी अनुमान गरिएका सुविधाहरू सार्वजनिक नहुन पनि सक्छन् ।
हाल गुगल मेसेजले प्रयोगकर्ताहरूलाई टेक्स्ट आर्काइभ गर्ने अनुमति भने दिन्छ । जहाँ म्यानुअल रूपमा डिलिट नगरिएसम्म मेसेजहरू स्थायी रूपमा रहन्छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ ११:२४
