आईफोन १७ को बिक्री बढेपछि एप्पल बन्यो ४० खर्ब डलर मूल्याकंन हुने विश्वकै तेस्रो कम्पनी
कात्तिक १२, २०८२ १९:८
काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य पहिलो पटक ४० खर्ब डलर नाघेको छ । आईफोन १७ सिरिजको माग ह्वात्तै बढेपछि कम्पनीले मङ्गलबार छोटो अवधिका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
एप्पल यो कोसेढुङ्गा पार गर्ने विश्वको तेस्रो ठूलो प्रविधि कम्पनी बनेको छ । यसअघि एनभिडिया र माइक्रोसफ्टले मात्र ४० खर्ब डलरको मूल्याङ्कन पार गर्न सफल भएका थिए । हाल एनभिडिया करिब ५० खर्ब डलरको बजार मूल्यसहित शीर्ष स्थानमा छ ।
मङ्गलबारको कारोबारका क्रममा एप्पलको स्टक मूल्य संक्षिप्त रूपमा २६९.८९ डलर पुगेको थियो । यसले गर्दा कम्पनीको बजार मूल्य ४० खर्ब पाँच अर्ब डलर डलर पुगेको थियो । यद्यपि पछि केही घट्दै बजार बन्द हुँदा मूल्य ०.१ प्रतिशतले घट्दा ३९ खर्ब ९२ अर्ब डलरमा कायम भएको थियो ।
यस वर्षको सुरुमा चीनमा कडा प्रतिस्पर्धा र प्रमुख उत्पादन केन्द्र विशेषगरी चीन र भारतमा उच्च अमेरिकी ट्यारिफका कारण एप्पलको शेयर मूल्य सङ्घर्षरत थियो । तर, ९ सेप्टेम्बरमा नयाँ मोडेल सार्वजनिक भएपछि यसको शेयरमा करिब १३ प्रतिशतले उछाल आएको रोयटर्सले जनाएको छ ।
“आईफोनले एप्पलको नाफा र राजस्वको आधाभन्दा बढी हिस्सा ओगट्छ,” नर्थलाइट एसेट म्यानेजमेन्टका प्रमुख लगानी अधिकारी क्रिस जाकरेलीले यो उपलब्धि हासिल हुनुअघि नै टिप्पणी गर्दै भनेका थिए, “जति धेरै फोन मानिसको हातमा पुग्छन् त्यति नै उनीहरूलाई एप्पलको इकोसिस्टममा आकर्षित गर्न सकिन्छ ।”
नयाँ लञ्च गरिएका आईफोन १७ सिरिज र विशेषगरी पातलो डिजाइनको ‘आईफोन एयर’ले ग्राहकलाई आकर्षित गर्न सफल भएको विश्लेषण गरिएको छ । विश्लेषकले आईफोन एयरको स्लिम डिजाइनले सामसङ इलेक्ट्रोनिक्स जस्ता प्रतिस्पर्धीलाई पछि पार्न सहयोग पुग्ने बताएका छन् । यता सामसङले पनि त्यस्तै डिजाइनको सामसङ २५ एज फोन बजारमा ल्याएको छ ।
एप्पलको नयाँ मोडेलले डिजाइन परिवर्तनका कारण चर्चा पाएको भए पनि एआईयुक्त फिचरको मामलामा पछाडि छ । त्यसैलाई बढाउन कम्पनीले च्याटजीटीपी इन्टिग्रेट गर्नेदेखि अन्य विभिन्न रणनीति अपनाइरहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ ९:१३
