स्मार्टफोन बजारमा एप्पल र सामसङको वर्चस्व, धेरै बिक्री हुनेमा आईफोन १६ लगातार शीर्ष स्थानमा
भदौ ३१, २०८२ १४:१०
काठमाडौँ । सन् २०२५ को दोस्रो त्रैमासिकमा पनि एप्पलको आईफोन १६ सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको शीर्ष स्थानमा कायम रहेको छ । काउन्टरपोइन्ट रिसर्चको पछिल्लो प्रतिवेदनअनुसार आईफोन १६ लगातार दुई त्रैमासिकसम्म सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको हो ।
आईफोन १६ पछि धेरै बिक्री हुनेमा आईफोन १६ प्रो म्याक्स र आईफोन १६ प्रो रहेका छन् । शीर्ष १० को सूचीमा सामसङले चार स्थान ओगटेको छ, जसमा ग्यालेक्सी ए१६ फाइभजी चौथो र ग्यालेक्सी ए०६ फोरजी पाँचौँ स्थानमा छन् ।
एप्पलले गएको फेब्रुअरीमा लन्च गरेको आईफोन १६ई पनि दोस्रो त्रैमासिकमा शीर्ष १० मा पर्न सफल भएको छ । यो मोडेल विशेषगरी जापान र अमेरिकामा लोकप्रिय रहेको प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण कोरियाली टेक जायन्ट सामसङले जनवरीमा सार्वजनिक गरेको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२५ अल्ट्रा आठौँ स्थानमा छ । यसको बिक्रीमा सुधार हुँदै गएको देखिएको छ, जसको श्रेय सामसङले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरको राम्रो मार्केटिङलाई दिएको छ । यद्यपि, ग्यालेक्सी एस२५ अल्ट्रा पहिले सातौँ स्थानमा रहेकोमा आठौँमा झरेको हो ।
दोस्रो त्रैमासिकमा सामसङकै ग्यालेक्सी ए१६ फोरजी सातौँ स्थानमा उक्लिएको छ । नवौँ स्थानमा रेड्मी १४सी फाइभजी रहेको छ । शीर्ष १० मा स्थान बनाएको यो साओमीको एक मात्र मोडेल हो ।
दशौँ स्थानमा भने एप्पलकै आईफोन १५ रहेको छ । सन् २०२३ मा लन्च भएको यो फोन २०२५ को पहिलो त्रैमासिकमा चौथो स्थानमा थियो । दोस्रो त्रैमासिकमा ६ स्थान तल झर्दै शीर्ष १० को पुछारमा पुगेको छ । आईफोन १६ प्लस भने शीर्ष १० मा पर्न असफल भयो ।
पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १४:५१
