सिरीमा जेमिनाईको प्रविधि प्रयोग गर्न वार्षिक १ अर्ब डलर तिर्नेगरी गुगलसँग सम्झौता गर्दै एप्पल
कात्तिक २०, २०८२ १८:५७
काठमाडौँ । एप्पल इंकले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीमा सुधार ल्याउन अल्फाबेट इंकको गुगलसँगको सम्झौताको तयारी थालेको छ । जसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्झौता अन्तर्गत एप्पलले गुगलको प्रविधिमा पहुँच पाउनको लागि वार्षिक करिब एक अर्ब अमेरिकी डलर तिर्नेछ । यो एप्पलका लागि महत्त्वपूर्ण कदम मानिएको छ, जो परम्परागत रूपमा आफ्नै प्रविधिमा भर पर्दै आएको थियो ।
एप्पलले आफ्नो एआई पर्याप्त किसिमले शक्तिशाली नबनुञ्जेल गुगलको जेमिनाई मोडेललाई अस्थायी समाधानको रूपमा प्रयोग गर्ने योजना बनाएको छ । गुगलले एप्पललाई १.२ ट्रिलियन प्यारामिटरको कस्टम एआई मोडेल उपलब्ध गराउने योजना बनाएको छ । एआई सफ्टवेयरको जटिलता र क्षमताको मापन प्यारामिटरमा गरिन्छ ।
यो १.२ ट्रिलियन प्यारामिटरको मोडेलले एप्पलका हालका मोडेलहरूको स्तरलाई धेरै ठुलो बनाउनेछ । हालको अवस्थामा एप्पलको इन-हाउस क्लाउडमा आधारित मोडेलमा १५० बिलियन प्यारामिटर छन् ।
यसको अर्थ गुगलको मोडेल एप्पलको हालको क्लाउडमा आधारित संस्करणभन्दा लगभग आठ गुणा बढी जटिल हुनेछ । एप्पलको अन-डिभाइस मोडेलमा भने ३ बिलियन प्यारामिटर मात्र छन् ।
गुगललाई छनौट गर्नुमा मोडेलको कार्यक्षमता भन्दा पनि मूल्यले भूमिका खेलेको बताइएको छ । यसभन्दा पहिले एप्पलले एन्थ्रोपिक र ओपनएआई लगायतका मोडेलहरू पनि परीक्षण गरेको थियो ।
सिरीमा कस्तो होला जेमिनाईको भूमिका ?
गुगलको जेमिनाई मोडेलले सिरीको समराइजर (सारांशकर्ता) र प्लानर फंसन (योजनाकार कार्यहरू) लाई ह्यान्डल गर्नेछ । यी कम्पोनेन्टहरूले भ्वाइस असिस्टेन्टलाई जानकारी संश्लेषण गर्न र जटिल कार्यहरू कसरी कार्यान्वयन गर्ने भनेर निर्णय गर्न मद्दत गर्दछन् । यद्यपि, सिरीका केही विशेषताहरूले एप्पलका इन-हाउस मोडेलको प्रयोग जारी राख्नेछन् ।
सम्झौता अन्तर्गतको महत्त्वपूर्ण कुरा भनेको गुगलको मोडेल एप्पलको आफ्नै सर्भरमा चल्नेछ । यसको अभ्यासमा कुनै पनि प्रयोगकर्ताको डेटा गुगलसँग शेयर गरिने छैन । यसको अर्थ प्रयोगकर्ताको डेटा एप्पलको निजी क्लाउड कम्प्युट संरचनाबाट बाहिर जाने छैन ।
यो नयाँ एआई शक्तियुक्त सिरी अर्को वर्षको मे महिनासम्म सार्वजनिक हुने बताइएको छ । यति ठुलो सम्झौता गरे पनि एप्पलले जेमिनाईलाई दीर्घकालीन समाधानको रूपमा भने प्रयोग गर्न चाहँदैन ।
कम्पनीले नयाँ एआई प्रविधि विकास गरिरहने र अन्ततः जेमिनाईलाई इन-हाउस समाधाबाट प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ । यसका लागि एप्पलको मोडेल टोलीले क्लाउडमा आधारित १ ट्रिलियन प्यारामिटरको मोडेलमा काम गरिरहेको छ, जुन अर्को वर्षको सुरुमा नै कञ्जुमर एपहरूका लागि तयार हुने आशा गरिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ १९:६
