close

नेपालमै विकसित रिमोट डेस्कटप सफ्टवेयर मल्टिपल डेस्कको प्रिमियम भर्सन सार्वजनिक, कति छ मूल्य ?

टेकपाना टेकपाना

कात्तिक २१, २०८२ १३:५५

नेपालमै विकसित रिमोट डेस्कटप सफ्टवेयर मल्टिपल डेस्कको प्रिमियम भर्सन सार्वजनिक, कति छ मूल्य ?

काठमाडौँ । जुनेली इंकले आफ्नो रिमोट डेस्कटप एप्लिकेसन मल्टिपल डेस्कको प्रिमियम भर्सन पनि सार्वजनिक भएको छ । टिमभ्युअर, एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इंकले नेपालमै यो मल्टिपल डेस्क सफ्टवेयर विकास गरेको हो । 

मल्टिपल डेस्क निःशुल्क पनि चलाउन सकिन्छ । यदि प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए पैसा तिरेर प्रिमियम भर्सन समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । अन्य विदेशी रिमोट डेस्कटप सफ्टवेयरको तुलनामा मल्टिपल डेस्कको प्रिमियम भर्सन धेरै सस्तो रहेको जुनेली इंकका सीईओ अपार थेबेले बताए । 

"निःशुल्क भर्सनले नपुग्ने ग्राहकले प्रिमियम लिन सक्नुहुन्छ । यसको मूल्य पनि हामीले एकदमै सस्तो राखेका छौँ,’ उनले भने, "अब रिमोट डेस्कटप सफ्टवेयरका लागि विदेशमा पैसा भुक्तानी गर्नुपर्ने छैन । हामीले नेपालमै विश्वस्तरीय सुरक्षित प्रोडक्ट बनाएका छौँ ।" 

मल्टिपल डेस्कको निःशुल्क भर्सनमा सिङ्गल डिभाइस सपोर्ट, दैनिक २ जीबी फाइल ट्रान्सफर, एईएस-२५६ इन्क्रिप्सन, क्लिपबोर्ड सिन्क्रोनाइजेसन र कम्युनिटी सपोर्ट जस्ता सुविधा छन् । तर यी सुविधाले नपुगे प्रिमियम भर्सन लिन सकिन्छ । 

कम्पनीका अनुसार प्रिमियम भर्सन पनि बिजनेस र कर्पोरेट गरी दुई प्रकारका रहेका छन् । साना तथा मध्यम व्यवसायका लागि ‘बिजिनेस भर्सन’ र ठुला ठुला कर्पोरटहरूका लागि ‘कर्पोरेट भर्सन’ उपलब्ध छ । बिजिनेस भर्सनको शुल्क मासिक ६५० रुपैयाँ छ । यसमा अनलिमिटेड डिभाइस, प्रायोरिटी सपोर्ट, फाइल ट्रान्सफर, सेसन रेकर्डिङ लगायतका सुविधा छन् । 

यस्तै कर्पोरेट भर्सनको शुल्क मासिक ९५० रुपैयाँ तोकिएको छ । निःशुल्क र बिजिनेस भर्सनका सुविधाका साथै यसमा अडिट लग, डेडिकेटेड म्यानेजर, कस्टम इन्टिग्रेसन लगायतका सुविधा पनि पाउन सकिन्छ । कर्पोरेट भर्सनका ग्राहकलाई आफ्नो डेटा आफ्नै सर्भरमा होस्ट गर्न सकिने सुविधा पनि दिइएको छ । 

मल्टिपल डेस्क बारे थप जानकारी multipledesk.com वा प्रत्यक्ष भेटेरै विस्तृतमा लिन नास आईटी एक्सपो २०२५ भिजिट गर्न सकिनेछ । यही आज शुक्रबार र शनिबार ललितपुरस्थित सानेपाको हेरिटेज गार्डेनमा हुने नास आईटी एक्सपोमा जुनेली इंक समेत सहभागी भएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८२ १३:५५