close

२०५४ सालपछि जन्मिएकाले मात्रै पाउनेछन् वार्षिक ५ हजारमा टेलिकमको ‘फाइबर विद्यार्थी अफर’

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १५:४०

२०५४ सालपछि जन्मिएकाले मात्रै पाउनेछन् वार्षिक ५ हजारमा टेलिकमको ‘फाइबर विद्यार्थी अफर’

काठमाडौँ । नेपाल टेलिकमले आइतबार सार्वजनिक गरेको फाइबर विद्यार्थी अफरको सुविधा २०५४ सालपछि जन्मिएका विद्यार्थीहरुले मात्रै पाउने भएका छन् । 

कम्पनीले वार्षिक चार हजार ९९९ रुपैयाँमा यो अफर ल्याएको हो । कम्पनीका अनुसार यो डेटा प्याकेजमा ३० एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिनेछ भने दैनिक एफयूपी २५ जीबी हुनेछ । एफयूपी पार गरेपछि पनि ५ एमबीपीएसमा डेटा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यस अफर २०५४ सालपछि जन्मिएर हाल अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर ल्याइएको बताए । सेवाका लागि आवेदन दिने विद्यार्थीहरूले शैक्षिक संस्थाबाट जारी गरिएको परिचयपत्र, जन्ममिति खुल्ने सरकारी कागजात, र नाबालकको हकमा अभिभावकको नागरिकता प्रमाणपत्र पेस गर्नुपर्ने उनले जानकारी दिए ।

टेलिकमका अनुसार यो प्याकेजको समयावधि (Validity) समाप्त भएपछि पुनः यही अफरमा नवीकरण गर्न सकिँदैन । सेवा निरन्तरता चाहने प्रयोगकर्ताले साविकका अन्य प्याकेजहरूमध्ये आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन् । त्यस्तै, नवीकरण गर्न नचाहेमा सेवाको सुरुवातमा उपलब्ध गराइएको सीपीई (Customer-premises equipment) फिर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १६:२३