संसद्मा ३२ प्रदर्शनकारी थुनिएको झुटो खबर पुष्टि गर्ने प्रयासबाट अझै थाकेनन् युट्युबर टंक दाहाल*
कात्तिक २७, २०८२ १७:३५
काठमाडौँ । ‘जेन-जी विद्रोह’ का क्रममा गत २३ भदौमा संसद् भवनमा ३२ जना प्रदर्शनकारी थुनिएको भन्ने अपुष्ट सूचना फैलियो । युट्युबर टंक दाहालले सामाजिक सञ्जाल एक्स र फेसबुकमा यो सूचना पोस्ट गरेपछि उक्त भ्रामक सूचना भाइरल बनेको थियो ।
जसलाई उनी अहिले पनि जोडतोडले पुष्टि गर्न लागिपरेका छन् । ‘नियन्त्रण गरेर राखिएको’ भन्ने उक्त सूचनाले आन्दोलनको दोस्रो दिन (२४ भदौ) ‘३२ जनाको शव भेटिएको’ भन्ने डरलाग्दो हल्लाको रूप लियो । यो भ्रामक खबर व्यापक भएपछि नेपाल प्रहरीले विज्ञप्ति नै जारी गरेर संसद् भवनमा कोही पनि थुनिएको वा मृत भेटिएको घटना सत्य नभएको स्पष्ट पारेको थियो ।
यो अफवाहको स्रोत युट्युबर टंक दाहाल आफैँ थिए, जसले बिना कुनै प्रमाण ३२ जना थुनिएको भन्दै पोस्ट गरेका थिए । पछि त्यही पोस्टलाई आधिकारिक देखाउन अन्तिममा उनले स्रोतः त्यहीँका प्रत्यक्षदर्शी भनेका थिए । यस विषयमा ‘टेकपाना’ले तथ्य-जाँच समेत गरेको थियो । तथ्यजाँचका क्रममा संसद् भवनभित्र ३२ जनाको शव भेटिएको भन्ने सूचना अपुष्ट रहेको निष्कर्ष निस्किएको थियो ।
यसैबिच कान्तिपुर दैनिकले “‘संसद् भवनभित्र ३२ जना बन्धक र मृत फेला’ भन्दै अपुष्ट समाचार फैलाउने यी अनुहार’ शीर्षकमा समाचार प्रकाशित गर्यो । त्यसको प्रतिकारमा दाहालले एउटा छुट्टै भिडिओ नै बनाए । जसमा उनले ‘प्रमाण’ भन्दै तीन व्यक्तिको भिडिओ क्लिप प्रस्तुत गरेका छन् ।
तर ती तीनै ‘स्रोत’ वास्तवमा एउटै परिवारका दुई व्यक्ति मात्र हुन्: एक युवक र अर्का उनकै बुबा । भिडिओमा देखाइएका दुई क्लिप एउटै युवकका हुन् भने तेस्रो क्लिप उनका बुबाको हो ।
यी व्यक्ति कसरी दाहालकै सुरुको पोस्टबाट प्रभावित थिए भन्नेबारे ‘टेकपाना’को ‘टंक दाहालको सनसनिपूर्ण त्यो पोस्ट, जहाँबाट यसरी फैलियो संसद् भवनमा ३२ युवा मारिएको झुटो खबर’ शीर्षकको अनुसन्धानात्मक रिपोर्टमा उल्लेख छ ।
प्रदर्शनको दुई महिना बितिसक्दा पनि संसद् भवनभित्र कोही थुनिएको थियो भनेर पुष्टि गर्ने अन्य कुनै स्वतन्त्र प्रमाण वा व्यक्ति देखा परेका छैनन् । टंक दाहालकै स्रोत सामग्रीमा पनि अन्य सामग्री थपिएका छैनन् ।
अहिले दाहाल आफ्नो त्यही भ्रामक पोस्टलाई जसरी पनि पुष्टि गर्न लागिपरेका छन् । बिहीबार उनले एक पोस्टमार्फत सोही भिडिओको प्रसङ्ग उल्लेख गर्दै ‘प्रत्यक्षदर्शीको भनाइ’ र भिडिओमा देखाइएका ३ व्यक्ति प्रमाण भएको उल्लेख गरेका छन् ।
साथै उनले भिडिओमा प्रत्यक्षदर्शीसँगको कुराकानी भन्दै स्क्रिनशट भिडिओमा राखेको सन्दर्भ पनि कोट्याएका छन् । यद्यपि, ती स्क्रिनशट विश्वसनीय प्रमाण मान्न सकिने खालका छैनन् । सोही पोस्टमा उनले नेपाल बिग्रिनुमा पत्रकारहरू दोषी रहेको आरोपसमेत लगाएका छन् ।
आफ्नो बचाउमा दाहालले आफूले ‘३२ जना मारिएको’ नभई ‘थुनिएको’ मात्र भनेको तर्क गरेका छन् । वास्तवमा ३२ जना ‘थुनिएको’ भन्ने अफवाहको सुरुवात उनैले गरेका हुन्, जसलाई पछि भाग्य न्यौपाने र सुजन ढकाल जस्ता अन्य युट्युबरले ‘३२ जना मारिएको’ भन्दै थप सनसनीपूर्ण बनाएका थिए ।
दाहालले आफ्नो भिडिओमा ‘थुनिएका २-३ जनाको प्रमाण’ राखेको दाबी गरे पनि त्यहाँ देखाइएका दुई फरक व्यक्ति भनिएका क्लिप एउटै युवक, साम्राज्य खड्काका हुन् । तेस्रा व्यक्ति जो ‘थुनिएका युवकका बुबा’ भनिएको छ, उनी तिनै साम्राज्यका बुबा पूर्वकर्णेल माधवसुन्दर खड्का हुन् । यसरी दुई फरक व्यक्तिलाई तीन फरक ‘स्रोत’का रूपमा प्रस्तुत गरेर उनले भ्रम सिर्जना गर्न खोजेको देखिन्छ ।
पूर्व-कर्णेल माधवसुन्दर खड्काको भूमिकाले यो विषयलाई थप स्पष्ट पार्छ । उनले २४ भदौको बिहान एक बजे टंक दाहालकै पोस्टबाट प्रभावित भएर बनाइएको एक टिकटक भिडिओ शेयर गरेका थिए ।
यसको अर्थ उनलाई आफ्नो छोरा संसद् भवनभित्र थुनिएको हुनसक्ने आशङ्का दाहालकै पोस्ट पढेपछि भएको थियो । यसरी जुन व्यक्ति (माधवसुन्दर) लाई दाहालले आफ्नो दाबी पुष्टि गर्ने ‘प्रमाण’का रूपमा प्रस्तुत गरेका छन्, ती व्यक्ति स्वयँ दाहालकै अपुष्ट पोस्टबाट प्रभावित भएको देखिन्छ । यसले दाहालले एउटै स्रोतलाई घुमाउरो पाराले फरक-फरक रूपमा देखाएर आफ्नो दाबीलाई बलियो बनाउने प्रयास गरेको पुष्टि हुन्छ ।
टंक दाहाल जस्ता युट्युबरले कसरी भ्रम फैलाउँछन् भन्ने विषयमा विभिन्न व्यावसायिक सञ्चार माध्यमले तयार पारेका सामग्रीलाई प्रतिवाद गर्न उनले उक्त सन्दर्भलाई फेरि बाहिर ल्याएका छन् ।
[*समाचार शीर्षकमा ३२ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । स.]
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ ८:२४


