close

निर्वाचन आयोगको वेबसाइटमै गम्भीर प्रश्न, डेभलपर भन्छन्ः इन्टर्नले पनि यस्तो झुर कोड लेख्दैन

टेकपाना टेकपाना

कात्तिक २९, २०८२ १५:२५

निर्वाचन आयोगको वेबसाइटमै गम्भीर प्रश्न, डेभलपर भन्छन्ः इन्टर्नले पनि यस्तो झुर कोड लेख्दैन

काठमाडौँ । निर्वाचन आयोगको अनलाइन मतदाता दर्ता प्रणालीको वेबसाइटमा अत्यन्तै कमजोर र गैर-व्यावसायिक कोडिङ प्रयोग भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । मतदाता नामावली दर्ताका लागि बायोमेट्रिकको सबै काम राष्ट्रिय परिचयपत्रबाटै हुने भएपछि आयोगको वेबसाइटमा उच्च ट्राफिक आएको थियो । 

त्यस क्रममा बारम्बार सर्भर डाउन हुने, रिक्वेस्ट सब्मिट नहुने, एरर देखाउने लगायतका समस्या देखिएका थिए । यही सन्दर्भमा आयोगको वेबसाइटको होमपेजमा रहेको कोड विश्लेषण गर्दा निकै कमजोर देखिएपछि डेभलपर निश्चल लामिछानेले असन्तुष्टि पोखेका छन् । उनले यस विषयमा सामाजिक सञ्जालमा स्क्रिनशट र आफ्नो भनाइ राखेका छन् । 

लामिछानेले उक्त कोड १४ नोभेम्बर २०२५ को दिउँसो १ बजे जाँच गर्दा गुणस्तर निकै कमजोर रहेको पाएका हुन् । “यो बग त होइन,” टेकपानासँग कुरा गर्दै लामिछानेले भने, “कम्प्युटर साइन्स पढ्ने पहिलो वर्षको विद्यार्थीले पनि यो भन्दा राम्रो कोड लेख्छ । यसको गुणस्तरमाथि प्रश्न उठाइएको हो ।”

वेबसाइटको होमपेजमा रहेको जाभास्क्रिप्ट कोडमा यस्ता गल्तीहरू छन्, जुन सामान्यतः सफ्टवेयर डेभलपमेन्ट सिक्दै गरेका इन्टर्नले पनि गर्दैनन् ।

कोडमा देखिएका प्रमुख त्रुटिहरू:

१. तर्कहीन तुलना: कोडमा ‘True’ == ‘True’ जस्ता सधैँ सत्य हुने अवस्थाको जाँच गरिएको छ, जुन अनावश्यक र अर्थहीन छ ।

२. एउटै शर्तको पुनरावृत्ति: एउटै ब्लकमा एकै प्रकारको शर्तलाई बारम्बार दोहोर्याइएको छ, जसले कोडलाई भद्दा र अव्यवस्थित बनाएको छ ।

३. तीन पटकसम्म टेक्स्ट ओभरराइट: एउटै मेसेज देखाउन तीन पटकसम्म फरक-फरक टेक्स्ट लेखेर अन्तिमलाई मात्र मान्य गराइएको छ । यसले सफ्टवेयरको कार्यक्षमतामा नकारात्मक असर पार्छ ।

४. हार्डकोडिङको प्रयोग: यस कोडमा प्रत्यक्ष रूपमा कुनै सुरक्षा जोखिम देखिँदैन । तर, कोडको गुणस्तर हेर्दा यो इफिसियन्ट र मेन्टेनाबिलिटी हिसाबले लेखिएको छैन भन्ने स्पष्ट हुन्छ । बाहिरबाट हेर्दा केही भ्यालु 'हार्डकोड' गरिएका देखिए पनि ती ब्याकइन्डबाट डाइनामिक रूपमा आइरहेका हुन सक्छन् । तर, यदि भ्यालु ब्याकइन्डबाटै आउने हो भने सोसँग सम्बन्धित कन्टिडसन सर्भर तहमै परीक्षण गर्नु वा लागू गर्नु बढी उपयुक्त हुन्थ्यो । जुनसुकै सन्दर्भ भए पनि भर्टिकल वा होरिजेन्टल स्केलिङ टेक्निक प्रयोग भएको छैन ।

“यो डेभलपरको कमजोरी होइन,” लामिछाने अगाडि भन्छन्, “सरकारी काममा जति ठुलो बजेट भए पनि डेभलपरले अन्तिममा थोरै रकम पाउँछ । जति रकम पायो त्यही अनुसारको काम हुने त हो ।” दिनमा लाखौं नागरिकले मतदाता नामावलीका दर्ता गर्न खोज्दा ३५ हजार मात्र हुनुमा सरकारले सर्भरलाई ख्याल नगरेको उनको तर्क छ । 

उनी अगाडि भन्छन्, “निःशुल्क उपलब्ध हुने गुगल फर्मले पनि दैनिक एक लाख बढी रिक्वेस्ट ह्यान्डल गर्न सक्छ ।” उनी अगाडि भन्छन्, “कुनै न कुनै टेक्निक प्रयोग गरेको भए ३५ हजार जनालाई ह्यान्डल गर्दा सर्भर डाउन नै हुने समस्या आउँदैनथ्यो । जसले बनायो उसले मतलबै नगरी बनाएको जस्तो देखिन्छ ।”

आलोचकहरूका अनुसार सरकारी वेबसाइटहरू मर्मत गर्न सजिलो, पढ्न योग्य, अनुमान गर्न सकिने र धेरै प्रयोगकर्ताको चाप थेग्न सक्ने हुनुपर्छ । तर, यो कोडले यी सबै मापदण्डहरूलाई उल्लङ्घन गरेको छ । “यो होमपेजको एउटा सामान्य कोडबाटै यसको ब्याकइन्डमा कुन स्तरको कोड प्रयोग भएको छ भन्ने सजिलै अड्कल गर्न सकिन्छ,” लामिछाने भन्छन् ।

नेपाली डेभलपरले नै बनाएका प्रणालीले लाखौं प्रयोगकर्तालाई सजिलै धान्ने गरेको तर सरकारी वेबसाइटले दैनिक ३५ हजार प्रयोगकर्ताको सामान्य चाप पनि थेग्न नसक्नु लाजमर्दो भएको उनको भनाइ छ ।

लामिछानेको कुरालाई साथ दिँदै अन्य डेभलपरले पनि यस्ता कमजोरीलाई सरकारी पक्षले छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् । इन्टिग्रेटेड आईसीटी प्रालिका संस्थापक विरोध रिजाल सामाजिक सञ्जालमा लेख्छन्, “हामी अक्सर प्राविधिक पक्षहरूलाई नजरअन्दाज गर्छौं, जसले गुणस्तर र लागतमा असर पार्दछ ।”

डेभलपर आशिष बिस्ट फेसबुकमा लेख्छन्, “नेपाल सरकारले राम्रो डेभलपर नभेटेको हो कि राम्रो खोज्नु परेन भनेर बेवास्ता गरेको हो ? भोटिङ जस्तो संवेदनशील प्रणालीमा कम गुणस्तरको कोड हानिदियो भने त ‘यो त जस्ट ट्राई क्याच गरेर चलेको सिस्टम हो’ जस्तो लाग्छ ।” उनले आयोगको सिस्टम ब्याचलर्स फाइनल इयरको प्रोजेक्ट नभई देश चलाउने सिस्टम भएकाले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

(यदि तपाईंले सरकारी वेबसाइट कुनै कमजोरी देख्नु भएको छ भने यो फर्म भर्न सक्नुहुन्छ ।)

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ १८:७