close

मास्टरकार्ड अन्तर्गत नबिल बैँकले जारी गर्‍यो नयाँ डेबिट कार्ड, ग्राहकलाई विशेष छुट

टेकपाना टेकपाना

कात्तिक ३०, २०८२ १८:११

मास्टरकार्ड अन्तर्गत नबिल बैँकले जारी गर्‍यो नयाँ डेबिट कार्ड, ग्राहकलाई विशेष छुट

काठमाडौँ । नबिल बैँकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको छ । बैँकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ कार्ड जारी गरेको हो ।

कार्यक्रममा नबिल बैँक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैँकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, “बैँकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ । यसै यात्रामा नयाँ डेबिट कार्ड जारी गरिएको हो ।”

मास्टरकार्ड, दक्षिण एसियाका प्रोडक्ट एन्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले नयाँ डेबिट कार्ड जारी गरी नबिल बैँकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा आफूहरूलाई खुसी लागेको बताए । मास्टरकार्डमार्फत् आफूहरू ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

नयाँ डेबिट कार्डमार्फत ग्राहकले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैङ्किङ सेवाको अनुभव लिन पाउने बैँकले जनाएको छ । बैँकका अनुसार नयाँ डेबिट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ ।

जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतीक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अङ्कित गरिएको छ । मास्टरकार्डको नयाँ डेबिट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ । 

नबिल बैँक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैँक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बँक पनि हो । बैँकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो ।

कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैँकको कुनै पनि शाखा वा एनबैँक एपमार्फत आवेदन दिन सक्ने जनाइएको छ । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १८:२४