काठमाडौं । इथिकल ह्याकरहरूको समूह ‘पेनटेस्टर नेपाल’ १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । साइबर सुरक्षा सम्बन्धी जनचेतना फैलाउने र ह्याकिङको क्षेत्रमा आउने नव प्रवेशीलाई मार्गदर्शन गर्ने उद्देश्यले ३० जुलाई २०१३ मा नवीन केसीले पेनटेस्टर नेपालको सुरुवात गरेका थिए ।
फेसबुक ग्रुपका रूपमा सुरु भएको ‘पेनटेस्टर नेपाल’मा विस्तारै साइबर सुरक्षा तथा ह्याकिङको क्षेत्रमा रुचि राख्नेहरू जोडिँदै गए । त्यही समयमा निर्मल दाहाल र विशाल श्रेष्ठ पनि यसमा जोडिए ।
जुन उद्देश्यले ग्रुपको सुरुवात गरिएको थियो, त्यस अनुरूप प्रभावकारी भइरहेको थिएन । ग्रुपको नेतृत्व गरिरहेका केसी अन्यत्र काममा व्यस्त हुन थालेपछि ग्रुप निष्क्रिय जस्तै बन्यो ।
सन् २०१७ ताका केसीले आफ्नो नेतृत्व निर्मल दाहाललाई सम्पिए । ग्रुप निर्मल दाहालको नेतृत्वमा आइसकेपछि त्यसलाई सक्रिय बनाउन उनले विभिन्न अवधारणा ल्याए ।
“ग्रुप सुरु भएपछि मेम्बर जोडिएका थिए । तर, प्रभावकारी रूपमा अगाडि बढेको थिएन,” निर्मल भन्छन्, “पछि दाइ (नवीन केसी)ले ग्रुपको नेतृत्व गर्ने जिम्मा मलाई दिएपछि त्यसलाई सक्रिय बनाउँदै अगाडि लग्यौं ।”
उनकै नेतृत्वमा हाल उक्त समूहमा हाल पाँच हजारभन्दा बढी सदस्य जोडिरहेका छन् । नयाँ इथिकल ह्याकरलाई मार्गदर्शन गर्ने प्लेटफर्मको नेतृत्व आफूले लिएपछि दाहालले विभिन्न विद्यालय तथा सङ्घसंस्थासँग सहकार्य गरेर मासिक रूपमा साइबर सुरक्षासम्बन्धी कार्यक्रम समेत आयोजना गर्न थाले ।
कार्यक्रममा उठेका विभिन्न विषयवस्तु र अन्य कुराको जानकारी पनि ग्रुपमा राख्न थाले । ग्रुप सक्रिय हुन थालेपछि विभिन्न मानिसहरू जोडिँदै गए ।
“साइबर सुरक्षाको क्षेत्रमा रुचि राख्नेहरू समूहमा सक्रिय हुँदै गएपछि जनचेतना पनि बढ्दै गयो,” दाहाल भन्छन्, “समूहमा जोडिएका इथिकल ह्याकरहरूले आफूले पत्ता लगाएका कुराहरू, कुनै पनि प्लेटफर्ममा फेला परेका सुरक्षा कमजोरी बारे पोस्ट गरेर जानकारी दिन थाले । त्यसरी एकपछि अर्को अर्को गर्दै मेम्बर बढ्दै गए ।”
हाल उक्त समूहमा साइबर सुरक्षामा रुचि राख्ने सर्वसाधारण, ह्याकिङ सिक्दै गरेका विद्यार्थी, ह्याकिङकै क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू आवद्ध छन् ।
ग्रुपको सुरुवातसँगै जनचेतना फैलाउने बाहेक साइबर सुरक्षामा रुचि राख्नेहरूलाई यो समूहले विभिन्न तवरबाट सहयोग गर्दै आएको छ ।
दाहाल भन्छन्, “कतिपयलाई साइबर सुरक्षामा रुचि हुँदाहुँदै पनि आवश्यक अध्ययन सामग्रीको अभाव भइरहेको हुन्छ । उनीहरूलाई आवश्यक सामग्री पनि वितरण गर्दै आइरहेका छौं ।”
पेनटेस्टर नेपालले विशेषगरी ह्याकिङको क्षेत्रमा आएकाहरूलाई सर्टिफिकेट, आवश्यक विभिन्न अध्ययन सामग्री, टेस्टिङ गर्ने ल्याबको भौचर उपलब्ध गराउँदै आएको छ । नव प्रवेशीलाई सघाउन उक्त प्लेटफर्मले बेलाबखत एएमए (आस्क मि एनिथिङ) सेसन पनि सञ्चालन गर्दै आएको दाहाल सुनाउँछन् ।
उनी अगाडि भन्छन्, “यसमा साइबर सुरक्षा सम्बन्धी विज्ञता हासिल गरेका व्यक्तिहरू र नवआगन्तुकलाई एउटै प्लेटफर्ममा ल्याएर उनीहरूका जिज्ञासा मेटाउने काम गरिन्छ ।”
त्यसबाहेक पनि ह्याकरले देशमा भएको अशान्ति, भ्रष्टाचार लगायत अन्य बेथितिका बारेमा मास्क लगाएर आवाज उठाउने 'मिलियन मास्क मार्च' पनि गर्दै आएका छन् ।
“ग्रुपमा जोडिनु भन्दा पहिला म आफैलाई पनि साइबर सुरक्षा कम्पनीहरू हुन्छन्, साइबर सुरक्षामा कामहरू गर्न पाइन्छ भन्ने थाहा थिएन,” उनी भन्छन्, “विस्तारै ती कुराहरू बुझ्दै गएपछि अरूलाई पनि आवश्यक हुन्छ भन्ने महसुस भयो । अनि ग्रुपलाई विभिन्न ढङ्गले अगाडि बढाइरहेका छौं ।”
अहिले उक्त ग्रुपलाई सक्रिय रूपमा निर्मल दाहाल र विशाल श्रेष्ठले अगाडि बढाइरहेका छन् । एउटा सामान्य फेसबुक ग्रुपबाट सुरु भएको समूह पेनटेस्टर नेपाल अब गैरनाफामुखी संस्थाका रूपमा अगाडि बढाउने दाहालको योजना छ ।
“मेम्बर धेरै भइसकेकाले व्यवस्थापन गर्न चुनौती भइरहेको छ,” उनी भन्छन्, “अब संस्थाका रूपमा अगाडि बढाउने र मेम्बरशिप सब्स्क्रिप्सन सुरु गर्ने योजना बनाएका छौं ।”
उनका अनुसार मेम्बरशिप सब्क्रिप्सनको सुविधा ल्याइ सकेपछि पेनटेस्टर नेपालले सदस्यहरूलाई विभिन्न अवसर दिने, विभिन्न प्लेटफर्ममा आफ्ना सीप परीक्षण गर्न सघाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने साइबर सुरक्षाका कार्यक्रममा सहभागी गराउनेछ ।
वार्षिकोत्सव विशेष कार्यक्रम
पेन्टेस्टर नेपालको वार्षिक उत्सवको अवसरमा अबको पाँच दिनसम्म विभिन्न कार्यक्रम हुनेछन् । जसअन्तर्गत आज आइतबार ग्रुपको सुरुवात, त्यसमा आएका चुनौती र अन्य विभिन्न विषयमा भर्चुअल संवाद हुनेछ ।
त्यसपछिका कार्यक्रमबारे वेबसाइट र ग्रुपमार्फत सार्वजनिक हुनेछन् । अन्तिम दिन अर्थात अगस्ट ५ मा भने भौतिक रूपमा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्समा कार्यक्रम हुनेछ ।
उक्त कार्यक्रममा इथिकल ह्याकरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यक्तिले आफ्नो अनुभव र नवआगन्तुकलाई सुझाव तथा हौसला दिनेछन् । विशेषगरी सचिनजङ्ग कार्की, फिलिप वाइली (Phillip Wylie), कैलाश बोहरा, अभिषेक श्रेष्ठ, प्रशान्त पाण्डे वक्ताका रूपमा सहभागी हुनेछन् ।
त्यसबाहेक पनि उक्त समूहले वक्ताका रूपमा सहभागी हुन अन्य विज्ञलाई समेत आह्वान गरेको छ । वक्ताका रूपमा सहभागी हुन यहाँ क्लिक गरेर नाम दर्ता गर्न सकिन्छ ।
त्यस्तै कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले यहाँ क्लिक गरी दर्ता गर्न सक्नेछन् । कार्यक्रमलाई आर्थिक वा अन्य रूपमा सहयोग गर्न इच्छुक संघसंस्था वा व्यक्तिले यहाँ क्लिक गरी अगाडि बढ्न सक्नेछन् ।