आईसीटी अवार्ड २०२५ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरु
मंसिर ५, २०८२ १५:४९
काठमाडौँ । दशौँ ‘आईसीटी अवार्ड २०२५’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन आईसीटी अवार्ड २०२५ का उत्कृष्ट ५ घोषणा गरिएको हो ।
यस वर्ष ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रूपमा पुस पहिलो साता दशौँ संस्करणको आईसीटी अवार्ड हुँदैछ । उत्कृष्ट ५ छनौटका लागि कात्तिक २९ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो ।
अवार्डका सेमिफाइनलिस्टहरूले १४ जना विज्ञ जुरी समक्ष आफ्नो स्टार्टअप, इनोभेसन र परियोजना बारे प्रस्तुति दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए । ग्राण्ड जुरीसहित आईसीटी अवार्डका विभिन्न प्रि-इभेन्टलाई समेटेर मंसिर ४ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा विशेष टेलिभिजन शो समेत प्रसारण भइरहेको छ ।
प्रत्येक हप्ताको बुधबार साँझ ९ बजेदेखि १० बजेसम्म शो प्रसारण हुन्छ । विशेष टेलिभिजन शो ५ एपिसोडमा प्रसारण हुनेछ । स्टार्टअप आईसीटी अवार्ड २०२५ विधामा उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा आर्कबो टेक्नोलोजीज प्रालि, फास्टो नेपाल प्रालि, म्याक ट्वान्टी फोर अर्बिटल्स प्रालि, सिंक टेक्नोलोजी एण्ड सप्लायर्स प्रालि र ट्रिप टर्बो प्रालि रहेका छन् ।
यसैगरी प्रडक्ट आईसीटी अवार्ड २०२५ विधामा आएल्स पल्स, आईफाभेन्ड, माई क्युआर, क्विक सीसीए, वायुदृष्टि उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । त्यस्तै राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड २०२५ विधाका उत्कृष्ट ५ मा कानुन एआई, माइन्ड ब्रिज, स्केलिङ स्मार्टर, स्पिनोभेट र भक्स भिजन रहेका छन् । साथै सोसल इनोभेसन विधामा दास्ता, हाम्रो हेल्थ स्कुल, कताहो, आईडीएमएस र शालिक उत्कृष्ट ५ मा परेका छन् ।
आईसीटी अवार्ड २०२५ का यी ४ विधाहरुमा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा उत्कृस्ट १२ सेमिफाइनलिस्टहरू छनौट गरिएको थियो । सेमिफाइनलिस्टहरूले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत कात्तिक २७ र २८ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२५ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए ।
उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ । ‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इनोभेसनलाइ भोट गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटिङका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ । साथै अवार्डका सेमिफाइनलिस्टहरू पब्लिक च्वाइस आईसीटी अवार्ड २०२५ मा सहभागी हुन पाउने छन् । यस विधाका लागि ‘हाम्रो पे’बाटै आफुलाई मन पर्ने सेमिफाइनलिस्टहरूलाई भोट गर्न सकिने छ ।
सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आईसीटी अवार्ड प्रदान गरिने छ । आईसीटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको लोकप्रिय र प्रतिष्ठित कार्यक्रम हो । १० वर्ष अघि सुरु भएको आईसीटी अवार्डले यस वर्ष विभिन्न १५ विधामा पुरस्कार प्रदान गर्दैछ ।
यस वर्ष आईसीटी अवार्डलाई इन्ड्राइभले शीर्ष प्रायोजन गरेको छ भने इन एशोशिएसन विथमा नेपाल पे क्युआर र टिङटिङ तथा पावर्ड बाईमा सस्तो टिकेट्स रहेका छन् । अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरणसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य रहेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ १७:१२
