close

अभाव हुने देखिएपछि पुरानै कम्पनीबाट ७ लाख ई-पासपोर्ट खरिद गर्ने सरकारको निर्णय

टेकपाना टेकपाना

मंसिर ५, २०८२ १८:४३

अभाव हुने देखिएपछि पुरानै कम्पनीबाट ७ लाख ई-पासपोर्ट खरिद गर्ने सरकारको निर्णय

काठमाडौँ । सम्भावित अभाव टार्न सरकारले पुरानै कम्पनीबाट सात लाख थान ई-पासपोर्ट खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फ्रान्सेली कम्पनी आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीबाट थप पासपोर्ट खरिद गर्न राहदानी विभागलाई अनुमति दिएको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार विभागसँग हाल करिब एक लाख थान मात्र ई-पासपोर्ट मौज्दात छ । अर्कोतर्फ, सरकारले नयाँ पासपोर्ट छपाइका लागि जर्मन कम्पनीसँग सम्झौता गरे पनि सो कम्पनीबाट फेब्रुअरी अन्तिम वा मार्च महिनादेखि मात्र आपूर्ति सुरु हुने तालिका छ ।

नयाँ कम्पनीबाट आपूर्ति सुरु हुनुअघि नै मौज्दात सकिने जोखिम बढेपछि सरकारले पुरानै कम्पनीसँग पासपोर्ट खरिद गर्न लागेको हो । मन्त्री खरेलले नेपालमा हाल दैनिक पाँच हजारभन्दा बढी र मासिक करिब एक लाख २० हजारको हाराहारीमा पासपोर्टको माग भइरहेको जानकारी दिए ।

मन्त्रिपरिषद्ले उक्त कम्पनीसँग पुरानै दररेट अर्थात् प्रतिथान १० अमेरिकी डलर १३ सेन्टमा पासपोर्ट खरिद गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सेवाग्राहीले राहदानी अभाव झेल्नु नपर्ने सरकारको विश्वास छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १८:४३