close

थपिए ८ लाख ३७ हजार नयाँ मतदाता, राष्ट्रिय परिचयपत्रबाट मात्रै करिब ५ लाख

टेकपाना टेकपाना

मंसिर ६, २०८२ १३:१८

थपिए ८ लाख ३७ हजार नयाँ मतदाता, राष्ट्रिय परिचयपत्रबाट मात्रै करिब ५ लाख

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । आयोगले उपलब्ध गराएको अन्तिम तथ्यांक अनुसार यस अवधिमा देशभरबाट कुल आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् ।

आयोगले सुरुमा गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय तोकेको थियो । यद्यपि, नयाँ मतदाताहरूको दर्ता चाप र सरोकारवाला पक्षको आग्रहलाई मध्यनजर गर्दै ५ मङ्सिर (हिजो) मध्यरातिसम्मका लागि म्याद थप गरिएको थियो । थप गरिएको समयसीमा सकिएसँगै संकलन कार्य पूर्ण रूपमा बन्द भएको छ ।

सार्वजनिक विवरण अनुसार नयाँ मतदाता दर्ता दुई ओटा विधिमार्फत गरिएको थियो । परम्परागत बायोमेट्रिक्स प्रणालीमार्फत तीन लाख ४४ हजार ९१४ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

त्यस्तै, गत २६ कात्तिकदेखि सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी नाम दर्ता गराउनेको संख्या चार लाख ९२ हजार १८० रहेको छ । तथ्यांक हेर्दा छोटो अवधिमा नै बायोमेट्रिक्स प्रणालीको तुलनामा राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुने मतदाताको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ १३:५१