फेसबुक पोस्टमा आउने लाइक-रियाक्सनको सङ्ख्या लुकाउन नसकिने समस्या, के होला कारण ?
मंसिर ७, २०८२ २१:२५
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले ल्याएको पछिल्लो अपडेटका कारण प्रयोगकर्ताले चाहेर पनि आफ्नो पोस्टमा आएका लाइक तथा रियाक्सनको सङ्ख्या लुकाउन नसक्ने भएका छन् । फेसबुकको मोबाइल एपमा आएको नयाँ अपडेटसँगै देखिएको इन्टरफेसमा प्रयोगकर्ताले यस्तो समस्या भोग्नुपरेको हो ।
यसअघि प्रयोगकर्ताले आफ्नो पोस्टमा आएका वा अरू कसैको पोस्टमा रियाक्सनको सङ्ख्या नदेखियोस् भन्ने चाहेमा फेसबुकको सेटिङमा रहेको ‘रियाक्सन प्रिफ्रेन्सेस’बाट लुकाउन सक्ने सुविधा थियो । तर, अहिले फेसबुकले परिवर्तन गरिरहेको नयाँ इन्टरफेसमा भने उक्त सेटिङ अन गर्दा पनि रियाक्सन गणना देखिन थालेको हो ।
हाल यो नयाँ इन्टरफेस सीमित प्रयोगकर्ता माझ परीक्षण भइरहेको छ, जसमा लाइक सङ्ख्या हाइड गरेका प्रयोगकर्ताको विवरण पनि सार्वजनिक रूपमै देखिने गरेको छ । यद्यपि फेसबुकको वेब भर्सन र लाइट एपमा भने पुरानै इन्टरफेस कायम रहेकाले त्यहाँ यो समस्या देखिएको छैन ।
यो फेसबुकको प्राविधिक ग्लिच हो वा नयाँ अपडेटमा अब अनिवार्य रूपमै रियाक्सन देखिने बनाइएको हो भन्ने स्पष्ट भइसकेको छैन । फेसबुकले सेप्टेम्बर २०१९ मा अस्ट्रेलियाबाट रियाक्सन काउन्ट लुकाउने फिचरको परीक्षण सुरु गरेको थियो भने मे २०२१ पछि यसलाई विश्वव्यापी रूपमा उपलब्ध गराएको थियो ।
खासगरी प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र सामाजिक सञ्जालको दबाब कम गर्ने उद्देश्यले फेसबुकले रियाक्सन लुकाउने फिचर ल्याएको थियो । फेसबुक चलाउने अनुभवलाई ‘लोकप्रियताको प्रतिस्पर्धा’ (पपुलारिटी कन्टेस्ट) जस्तो हुन नदिन तथा प्रयोगकर्तामा हुने सामाजिक तुलना र चिन्ता (एन्जाइटी) घटाउन यो सुविधा महत्त्वपूर्ण मानिएको थियो ।
पोस्टमा कति लाइक आयो भन्ने कुराले प्रयोगकर्तामा हीनताबोध नहोस् र सङ्ख्या भन्दा पनि विषयवस्तुमा केन्द्रित भएर स्वाभाविक पोस्ट गर्न प्रोत्साहन मिलोस् भनेर फेसबुकले यो विकल्प रोज्ने अधिकार प्रयोगकर्तालाई नै दिएको थियो । तर, अहिलेको नयाँ अपडेटले भने प्रयोगकर्ताको उक्त छनौटको अधिकार हनन् गरेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ७, २०८२ २१:२५
