फोटो पत्रकार प्रवीण रानाभाट र पर्वतारोही कुङ्गा शेर्पाले खिचेको फोटो टाइम म्यागेजिनको शीर्ष १०० मा
मंसिर ११, २०८२ १६:४९
काठमाडौँ । प्रतिष्ठित अमेरिकी म्यागजिन ‘टाइम’ ले सार्वजनिक गरेको यस वर्षको शीर्ष १०० तस्बिरको सूचीमा दुई नेपालीले खिचेका तस्बिर पर्न सफल भएका छन् । फोटो पत्रकार प्रवीण रानाभाट र पर्वतारोही कुङ्गा शेर्पाले खिचेका तस्बिरहरू विश्वका उत्कृष्ट १०० फोटोमा समेटिएका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका लागि फोटो पत्रकार रानाभाटले खिचेको तस्बिरमा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा भएको आगजनीको दृश्य कैद छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवनमा आगजनी हुँदा उनले सो तस्बिर खिचेका थिए ।
भदौ २३ गते भ्रष्टाचार अन्त्यको माग गर्दै भएको प्रदर्शनमा राज्य पक्षको गोलीबाट १९ जनाको मृत्यु भएपछि भोलिपल्ट आन्दोलनले हिंसात्मक रूप लिएको थियो । सोही क्रममा सिंहदरबार, संसद् भवन लगायतका स्थानमा आगजनी र तोडफोड भएको बेला खिचिएको रानाभाटको तस्बिरलाई टाइमले उत्कृष्ट ठानेको हो ।
त्यस्तै, पर्वतारोही कुङ्गा शेर्पाले सगरमाथा आरोहणका क्रममा ट्राफिक जाम (आरोहीहरूको लाम) देखिएको तस्बिर खिचेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका लागि गत मे १८ मा खिचिएको उक्त तस्बिरलाई पनि टाइमले यो वर्षको शीर्ष १०० तस्बिरमा समावेश गरेको छ ।
फोटो पत्रकार रानाभाटले आफूले छनोटका लागि कुनै आवेदन नदिएको स्पष्ट पारेका छन् । “मैले एएफपीका लागि खिचेको फोटो हो त्यो । टाइमको शीर्ष १०० तस्बिरमा छनोट हुनलाई आवेदन दिएको छैन । न त कुनै औपचारिक कुराकानी अहिलेसम्म भएको छ । विश्वभर प्रकाशित तस्बिरहरुलाई टाइमले मूल्याङ्कन गरेर छनोट गर्न भन्ने सुनेको हो । त्यसैअनुरुप मैले खिचेको सिंहदरबारको फोटो यो वर्षको शीर्ष १०० फोटोमा छनोट भएको हुनुपर्छ,” रानाभाटले टेकपानासँग भने ।
पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १६:४९
