close

भाइरल भिडिओबारे नन्दन यादवको स्पष्टीकरण- ‘दीपक डुम्रे मेरो भाइ जस्तै हो, गलत हल्ला नफैलाऊँ’

टेकपाना टेकपाना

मंसिर १३, २०८२ २२:३४

भाइरल भिडिओबारे नन्दन यादवको स्पष्टीकरण- ‘दीपक डुम्रे मेरो भाइ जस्तै हो, गलत हल्ला नफैलाऊँ’

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा आफ्नै टोलीका विकेटकिपर दीपक डुम्रेसँगको व्यवहारलाई लिएर आलोचना भएपछि कर्णाली याक्सका खेलाडी नन्दन यादवले स्पष्टीकरण दिएका छन् । यादवले सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ र त्यसमा आएका नकारात्मक प्रतिक्रियाको खण्डन गर्दै डुम्रे आफ्नै भाइ जस्तो रहेको र उक्त घटनालाई सामान्य खेल भावनाको रूपमा लिन आग्रह गरेका छन् ।

शुक्रबार कर्णाली याक्स र विराटनगर किङ्सबिचको खेलका क्रममा नन्दनले विकेटकिपर दीपकसँग आक्रोश पोखेको जस्तो देखिने भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त दृश्यलाई लिएर सञ्जाल प्रयोगकर्ताहरूले सिनियर खेलाडीले जुनियर खेलाडीमाथि दुर्व्यवहार, अपमान गरेको भन्दै नन्दनको आलोचना गरेका छन् । खेलका दौरान फिल्डिङ र किपिङमा तालमेल नमिल्दा यादव रिसाएको भन्दै धेरैले उनलाई संयमित हुन सुझाव दिएका छन् ।

आलोचना बढेपछि शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै नन्दनले उक्त घटनालाई सामान्य खेल भावनाको रूपमा लिन र अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।

यादवले लेखेका छन्, “सबैभन्दा पहिले, म दीपक डुम्रेलाई कति माया र सहयोग गर्छु भनेर स्पष्टीकरण दिइराख्नु पर्दैन । तर, सामाजिक सञ्जालमा आएका अर्थहीन भिडिओ र कमेन्टहरू देखेपछि मैले कुरा स्पष्ट पार्नुपर्ने देखेँ । त्यो खेलको एउटा सामान्य क्षण मात्र थियो, कुनै गम्भीर विषय थिएन ।”

यादवले आफू र दीपक एकेडेमी समयदेखि नै सँगै हुर्किएको र उनी आफ्नो भाइ जस्तै रहेको उल्लेख गरेका छन् । “हामी एकेडेमीका दिनदेखि नै सँगै हुर्किएका हौँ । पहिलो खेल खेल्दा खेलाडीमाथि कति दबाब हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । म सधैं उनी राम्रो प्रदर्शन गरुन् र हरेक पलमा उत्कृष्ट दिउन् भन्ने चाहन्छु ।”

यसपछि नन्दनको पोस्टलाई शेयर गर्दै दीपकले पनि यस्ता भिडिओ नबनाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, “दाइ र म एकेडेमीदेखि सँगै खेलेको हो र सधैं मलाई दाइले हेल्प र सपोर्ट गर्नुभएको छ । हिजोको गेममा पनि धेरै सपोर्ट गर्नुभएको हो । त्यो भिडिओमा हेर्दा जे देखिएको छ त्यो गलत हो, दाइले मजाक गर्नुभएको हो । म प्रेसरमा थिएँ अनि दाइले मलाई बुस्टअप गर्नुभएको हो । नन्दन दाइ मेरो ठुलो दाइ जस्तै हुनुहुन्छ, त्यसैले प्लिज यस्तो भिडिओहरू हालेर कसैलाई नराम्रो नबनाउनु ।”

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८२ २२:४५