close

सपोर्ट बन्द भए पनि अझै ५० करोड कम्प्युटर विन्डोज १० मै, विन्डोज ११ मा किन भएनन् अपग्रेड ?

टेकपाना टेकपाना

मंसिर १५, २०८२ १८:४१

सपोर्ट बन्द भए पनि अझै ५० करोड कम्प्युटर विन्डोज १० मै, विन्डोज ११ मा किन भएनन् अपग्रेड ?

काठमाडौँ । प्रविधि कम्पनी डेलले विन्डोज १० बाट विन्डोज ११ मा अपग्रेड हुने दर अपेक्षा गरेभन्दा धेरै पछाडि रहेको बताएको छ । कम्पनीका अनुसार विन्डोज ११ मा अपग्रेड हुने दर विन्डोज १० को अपग्रेड गतिभन्दा धेरै सुस्त देखिएको हो ।

डेलका प्रमुख सञ्चालन अधिकृत (COO) जेफ्री क्लार्कले केही दिन अघि मात्र तेस्रो त्रैमासिक अर्निङ कल (earnings call) मा उल्लेख गरे अनुसार लगभग ५० करोड मसिनहरू विन्डोज ११ चलाउन सक्षम भए पनि विन्डोज १० मै अड्किएर बसिरहेका छन् । यो सङ्ख्या डेलको मात्र नभई समग्र पीसी बजारको भएको बताइएको छ ।

माइक्रोसफ्टले विन्डोज ११ का लागि हार्डवेयर आवश्यकता सम्बन्धी मापदण्ड कडा पारेका कारण थप ५० करोड पुराना पीसीहरू (जो चार वर्ष पुराना छन्) भने विन्डोज ११ चलाउनै सक्दैनन् । डेलले आफ्ना पछिल्ला वित्तीय परिणामहरूमा विन्डोज अपग्रेड हुने दर अघिल्लो अपरेटिङ सिस्टम फेज-आउटको गतिभन्दा दश देखि बाह्र अङ्क कम रहेको पत्ता लगाएको छ ।

विन्डोज प्रमुख पावन दावुलुरीले लगभग १ अर्ब मानिस विन्डोज ११ मा निर्भर रहेको कुरा बताएको एक हप्तापछि डेलबाट यो ठुलो सङ्ख्या सार्वजनिक भएको हो ।

विन्डोज १०, १० वर्ष पुरानो अपरेटिङ सिस्टम हो । हालै त्यसको सपोर्ट फेज समाप्त भइसकेको छ । डेलका अनुसार धेरै संस्थाहरूमा पुरानो प्रणालीले अझै राम्रोसँग काम गरिरहेको कारण प्रतिस्थापन (replacement) मा ढिलाइ गरिरहेका छन् । यस किसिमको सुस्त अपग्रेडका कारण डेलले अर्को वर्ष पीसी फ्ल्याट रहने अपेक्षा गरेको छ ।

जेफ्री क्लार्कले यो अवस्थालाई ग्राहकलाई नवीनतम विन्डोज ११ मसिन र एआई पीसीतर्फ मार्गदर्शन गर्ने अवसरको रूपमा हेरेका छन् । व्यापारिक क्षेत्रमा कम्पनीहरूले अपरेटिङ सिस्टमको अपग्रेडभन्दा पूर्वाधार अपग्रेडलाई प्राथमिकता दिइरहेको देखिन्छ ।

डेलले सर्भर र नेटवर्किङ युनिटहरूबाट राम्रो प्रतिफल प्राप्त भइरहेको जनाएको छ । पछिल्लो त्रैमासिकमा एआई-केन्द्रित प्रणालीहरूको लागि १२ अर्ब डलरभन्दा बढीको अर्डर प्राप्त भएको बताइएको छ । सर्भर र नेटवर्किङबाट हुने आम्दानीमा अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८२ १८:४१