close

प्राधिकरणका ७ ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा, अब कर्मचारी ड्युटीमा खटिनु नपर्ने

टेकपाना टेकपाना

मंसिर १९, २०८२ १९:२३

प्राधिकरणका ७ ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा, अब कर्मचारी ड्युटीमा खटिनु नपर्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उपत्यकासहित काभ्रेका पुराना सात ओटा ग्रिड सबस्टेसनलाई पूर्ण रूपमा स्वचालित प्रणालीमा रूपान्तरण गरी सञ्चालनमा ल्याएको छ । १३ ओटा सबस्टेसनलाई स्वचालित बनाउने प्रक्रिया अन्तर्गत पहिलो चरणमा सात ओटालाई स्वचालित बनाइएको हो ।

प्राधिकरणले दिएको अनुसार पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आबद्ध भएका छन् । यी सबस्टेसनहरूलाई अब मीनभवनस्थित प्राधिकरणको भवनमा रहेको नयाँ ‘नियन्त्रण कक्ष’ बाटै सञ्चालन तथा नियन्त्रण गर्न थालिएको छ ।

यी सबस्टेसनहरू स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँग ‘सुपरभाइजरी कन्ट्रोल एण्ड डेटा एक्विजिसन’ प्रणालीमार्फत जोडिने भएकाले एकीकृत प्रणाली सञ्चालन थप मजबुत बन्ने प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा छनोट गरिएका १३ मध्ये अब स्यूचाटार, टेकु, मातातीर्थ, चाबहिल, के ३ र लामासाँघु गरी ६ ओटा सबस्टेसनलाई स्वचालित बनाउन बाँकी छ । यो काम आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

एसियाली विकास बैंक (एडीबी) को विद्युत प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजना अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा यो काम भइरहेको हो । यस आयोजनाको कुल लागत करिब ६१ करोड रुपैयाँ रहेको छ ।

यस्तै, एडीबीकै सहयोगमा देशभरका बाँकी ६४ ओटा ग्रिड सबस्टेसनलाई पनि आगामी डेढ वर्षभित्र स्वचालित बनाउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १९:२५