ड्रोन हब नेपालको कार्यशाला, एउटै पाइलटले धेरै ड्रोन उडाउने प्रविधिबारे छलफल
मंसिर २५, २०८२ १९:०
काठमाडौँ । मानवरहित विमान (ड्रोन) प्रवर्द्धन गर्ने संस्था ड्रोन हब नेपालले काभ्रेको धुलिखेलमा एकदिने ड्रोन कार्यशाला सम्पन्न गरेको छ । चीनको ग्वाङझाउ सिभिल एभिएसन कलेज (जीसीएसी) का प्रतिनिधिहरूको विशेष उपस्थितिमा बुधबार ‘हाइडअवे ग्लाम्पिङ’ मा उक्त कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यशालामा ड्रोन क्षेत्रमा भइरहेको विश्वव्यापी अभ्यास र नेपालको अवस्थाबारे छलफल भएको थियो । सो अवसरमा नेपालमा भइरहेको ड्रोन म्यापिङ र फिक्स्ड विङ ड्रोनको प्रयोगबारे जानकारी गराइएको ड्रोन हब नेपालका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।
कार्यक्रममा सहभागी जीसीएसीका चिनियाँ प्रतिनिधिहरूले चीनमा ड्रोन क्षेत्रले हासिल गरेको प्रगति र ‘ड्रोन ट्याक्सी’ को विकासबारे प्रस्तुति दिएका थिए । सो अवसरमा एउटै पाइलटले एकैपटक धेरै ड्रोन उडाउन सक्ने प्रविधिबारे जानकारी दिँदै उनीहरूले नेपालमा पनि यस्तो प्रविधि भित्र्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यशालामा फ्रान्सबाट ल्याइएको प्यारोट ड्रोन, डीजेआई ड्रोन तथा नेपालमै एसेम्बल गरिएका आरसी ड्रोनहरू प्रदर्शनमा राखिएको थियो ।
कार्यक्रममा शिक्षक, विद्यार्थी तथा ड्रोन क्षेत्रमा कार्यरत प्राविधिक गरी एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।
ड्रोन हब नेपालले विगत केही समयदेखि जीसीएसीसँग प्रविधि आदानप्रदान र प्रशिक्षक प्रशिक्षण (ट्रेनर ट्रेनिङ) लगायतका विषयमा प्राविधिक सहकार्य गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ १८:३०
