भीड देखाउन एआई फोटो राखिएको महेश बस्नेतको स्वीकारोक्ति, तर भन्छन्ः कहाँबाट छिर्यो, थाहा छैन
मंसिर २९, २०८२ १०:४९
काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले भक्तपुरमा आयोजित पार्टीको महाधिवेशनमा सहभागीको सङ्ख्या बढी देखाउन एआई निर्मित तस्बिर प्रयोग भएको स्वीकार गरेका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा मानिसको उपस्थिति अस्वाभाविक रूपमा धेरै देखाउने गरी ‘एआई’ प्रयोग गरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त तस्बिर नेता बस्नेतकै आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । सोही विषयमा आइतबार भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बस्नेतले आफ्नो पेजबाट एआई सिर्जित फोटो पोस्ट भएको स्वीकारेका हुन् । यद्यपि उनले उक्त कार्य आफ्नो जानकारी बिना सचिवालय वा सहयोगीबाट भएको जिकिर गरेका छन् ।
ड्रोनबाट खिचिएको भनिएको उक्त तस्बिरमा अत्यधिक भीड देखाउन प्रविधिको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेका बेला बस्नेतले यसको जिम्मेवारी लिएका छन् । उनले विपक्षीले कार्यक्रम सुरु हुनुअघि नै खाली कुर्सीको फोटो राखेर दुष्प्रचार गरेपछि आफ्ना कार्यकर्ताले त्यसको प्रतिवाद गर्न एआई फोटोको सहारा लिएको बताए ।
नेता बस्नेतले भने, “एआई कहाँबाट छिर्यो मलाई थाहा छैन । हामी त्यहाँ एक बजेदेखि कार्यक्रम सुरु गर्दै थियौँ, तर बिहान १० बजेदेखि नै ‘मिसन’ बोकेका केही साथीले एक चौथाइ पनि मानिस छैनन् भन्दै फोटो हालेर प्रचार गर्न थाले । त्यसको ‘काउन्टर’ स्वरूप मेरा साथीहरूले एआई फोटो हालेको बुझियो ।”
आफ्नो फेसबुक पेज शेयर भएकाले त्यसमा आफ्नो प्रत्यक्ष संलग्नता नभए पनि जिम्मेवारी भने आफैँले लिने उनले बताए ।
“पेज भनेको साझा भए पनि त्यसको जिम्मेवारी मैले लिनै पर्छ । साथीलाई सोध्दा उनीहरूले विपक्षीको दुष्प्रचारलाई रोक्न यसो गरिएको बताए,” बस्नेतले भने, “वास्तवमा कार्यक्रममा जति मान्छे थिए, त्यसलाई कम देखाउन वा बढी बनाउन आवश्यक थिएन । हाम्रै साथीहरूले पनि बढी गरे ।”
शनिबार सार्वजनिक भएको उक्त तस्बिरमा देखिएको जन-सागर वास्तविक नभई एआईको प्रयोग गरेर थपिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले एमाले र नेता बस्नेतको आलोचना गरिरहेका छन् । त्यही एआई सिर्जित फोटो एमाले निकट अन्य नेता तथा कार्यकर्ताले समेत व्यापक प्रचार गरेका थिए ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ ११:४७
