close

टेकपाना फ्याक्टचेकः एमाले नेता प्रदीप ज्ञवाली रोएको भन्दै भाइरल फोटो-भिडिओ एआई सिर्जित

हिक्मत आचार्य हिक्मत आचार्य

पुस १, २०८२ १६:२४

टेकपाना फ्याक्टचेकः एमाले नेता प्रदीप ज्ञवाली रोएको भन्दै भाइरल फोटो-भिडिओ एआई सिर्जित

काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रुँदै फर्किएको दाबीसहितका फोटो तथा भिडिओ भाइरल भइरहेका छन् । सोमबार भृकुटिमण्डपस्थित बन्दसत्र हलबाट ज्ञवाली बाहिरिएको र पछि मनोनयनका क्रममा चित्त दुखाएर रुँदै फर्किएको दाबीसहितको समाचार अनलाइनखबर डटकममा प्रकाशित भएको थियो । लगत्तै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा प्रदीप ज्ञवाली रोइरहेका फोटो र भिडिओ भाइरल भए । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानबाट ती भाइरल सामग्री एआई सिर्जित भएको पुष्टि भएको छ । 

दाबी

‘जोक्स नेपाल’ नामक फेसबुक पेजले १५ डिसेम्बर २०२५ (सोमबार) मा एउटा फोटो सहितको पोस्ट राखेको थियो । पोस्टमा लेखिएको छ, “AI हो कि real थाहा भएन। तर मानवीय स्वभावलाई हेर्ने हो भने जो मान्छे प्रतिकार गर्न सक्दैन, उ रुन्छ । देशका लागि, पार्टीका लागि, बुवा-आमाका लागि, सन्तानका लागि, श्रीमान वा श्रीमतीका लागि जोसुकैका लागि भए पनि आँसु त्यसै आउँदैन । आँसु चरम पिडाको अभिव्यक्ति हो ।” फोटोमा एमाले नेता प्रदिप ज्ञवली रोइरहेको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

त्यस्तै ‘एभरेस्ट दैनिक’ नामक फेसबुक पेजले १६ डिसेम्बर २०२५ (मङ्गलबार) मा एक भिडिओ राखेको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “केपी ओलीले महासचिवको उम्मेद्वार नबनाएपछि यसरी रुँदै घर गएका थिए प्रदीप ज्ञवाली । उनै ज्ञवाली आज फेरि ओलीकै पक्षमा भोट माग्न व्यस्त छन् ।”

भिडिओमा ज्ञवाली रोइरहेको देखिन्छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनरेकर्ड । 

अनुसन्धान

ज्ञवाली रोइरहेको भन्ने समाचार अनलाइन खबरबाट पहिलो पटक २९ मंसिर २०८२ अपरान्ह ५ः२२ बजे ‘भृकुटीमण्डपबाट रुँदै फर्किए प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी’ शीर्षकको समाचार प्रकाशित भएको थियो । हेर्नुहोस् आर्काइभ लिङ्क । त्यस लगत्तै फेसबुक र एक्समा ज्ञवाली रोएको जस्तो देखिने फोटो भिडिओ भाइरल हुन थालेको देखिन्छ । 

टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धानका क्रममा ज्ञवाली रोइरहेको देखिने फोटो विभिन्न फेसबुक तथा एक्स प्रयोगकर्ताले राखेको फेला पार्‍यो । सूर्य तामाङ नामका फेसबुक प्रयोगकर्ताले सोमबार राति ९ बजे सोही फोटो राख्दै लेखेका छन, “केपी ओलीले महासचिवमा नराखेपछी कमरेड प्रदिप ज्ञवाली रुदै महाधिवेशन स्थलबाट बाहिरिदै। (नोट : फोटो साच्चै हो कि AI हो मलाई थाहा छैन।)” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

 

एक्समा हेमन्त बजगाईं नामका प्रयोगकर्ताले सोमबार राति १०ः१९ मिनेटमा सोही फोटो राख्दै लेखेका छन्, “नेता की अभिनेता ? ओस्कार अवार्डको लागि सिफारिस गर्छु है 

@PradeepgyawaliK सर ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

 

त्यस्तै ‘समिर गिरी’ नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “हिजो भिम रावलहरुको कत्लेआम गरिदाँ उहाँ ताली पिट्नेमा हुनुहुन्थ्यो आज रुने दिन आएछ आज ताली पिट्नेको पनि भोलि यहीँ अवस्था हुने हो ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

नेपाल भ्वाइस नामक फेसबुक पेजले पनि सोही भिडिओ राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

सबैभन्दा पहिले फोटोको विश्लेषण गरौं । फोटो गुगल रिभर्स इमेज सर्च गरी हेर्दा नेपाल प्रेसमा सोमबार ‘उपाध्यक्षमा प्रस्तावित प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी’ शीर्षकको समाचारमा वास्तविक फोटो फेला पर्‍यो । त्यसमा रोएको देखिंदैन । भाइरल भइरहेको फोटोका प्रायः पक्ष सोही फोटोसँग मिलेको देखिन्छ । यतिसम्म कि ज्ञवाली रोइरहेको देखिने फोटोमा पनि नेपालप्रेसको वाटरमार्क (तोडमोड भएको वाटरमार्क) देखिन्छ ।

 

थप पुष्टि गर्न हामीले फोटो ‘फेक इमेज डिटेक्टर’ नामक एआई फोटो डिटेक्सन टुलमा राखेर हेर्‍यौं । 

उक्त टुलले सो फोटो एआई सिर्जित वा मोडिफाई भएको हुनसक्ने देखायो ।

गुगलको ‘सिन्थ आईडी डिटेक्टर’ टुलमा राखेर हेर्‍यौं । 

त्यस क्रममा उक्त टुलले फोटो एआईले तयार पारेको वा एआईले एडिट गरेको हुनक्ने देखायो । 

अब भाइरल भिडिओको विश्लेषण गरौं । भिडिओमा पनि ज्ञवाली सञ्चार माध्यमका अगाडि रोइरहेको देखिन्छन् । भिडिओबाट किफ्रेम निकालेर रिभर्स इमेज सर्च गरी हेर्दा यो वास्तविक भिडिओ १९ नोभेम्बर २०२५ (३ मंसिर २०८२) मा खिचेको देखियो । ३ मंसिमा प्रधानमन्त्री कार्यालयबाट वैठक सकेर ज्ञवालीसहित अन्य एमाले नेता बाहिरिएका थिए । त्यही बेला ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गरेका थिए । सोमबार ज्ञवाली रुँदै बाहिरिएको भन्ने समाचार आएपछि सोही भिडिओलाई एआईको सहायताले रुँदै गरेको बनाइएको देखिन्छ । फेक इमेज डिटेक्सनले पनि ज्ञवाली रोइरहेको देखिने भिडिओको किफ्रेम एआई सिर्जित हुने वा मोडिफाई हुने सम्भावना उच्च रहेको देखाएको छ । 

भिडिओमा ‘inShot’ नामक भिडिओ एटिडिटङ एपको वाटरमार्क देखिन्छ । यही भिडिओ एडिटिङ एपको एआई टुलको सहायताले सो भिडिओमा ज्ञवालीलाई रोइरहेको देखाइएको पुष्टि हुन्छ । 

दाबी

एमाले नेता प्रदीप ज्ञवाली आफूलाई महासचिवको उम्मेद्वार नबनाएपछि चित्त दुखाएर रुँदै भृकुटिमण्डपस्थित बन्दसत्र हलबाट फर्किए ।

दाबीकर्ता

जोक्स नेपाल, एभरेस्ट दैनिक, सूर्य तामाङ, हेमन्त बजगाईं, समिर गिरी, नेपाल भ्वाइस लगयाततका पेज तथा प्रयोगकर्ता । 

तथ्य

भाइरल भएको फोटोको वास्तविक फोटो ‘नेपाल प्रेस’ मा प्रकाशित समाचारमा भेटिएको छ । उक्त फोटोमा प्रदीप ज्ञवाली रोएका छैनन् । भाइरल फोटोमा नेपाल प्रेसको वाटरमार्क तोडमोड भएको देखिन्छ । ‘फेक इमेज डिटेक्टर’ र गुगलको ‘सिन्थ आईडी डिटेक्टर’ जस्ता टुलले उक्त फोटो एआई सिर्जित वा मोडिफाई गरिएको देखाएको छ ।

ज्ञवाली रोइरहेको भनिएको भिडिओ ३ मंसिर २०८२ (१९ नोभेम्बर २०२५) मा प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदाको पुरानो भिडिओ हो । त्यतिबेला उनी सञ्चारकर्मीसँग सामान्य कुराकानी गरिरहेका थिए । भिडिओमा ‘inShot’ भिडिओ एडिटिङ एपको वाटरमार्क देखिन्छ र सोही एपको एआई टुल प्रयोग गरी उनलाई रुँदै गरेको देखाइएको हो ।

निष्कर्ष

एमाले नेता प्रदीप ज्ञवाली रोएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएका फोटो-भिडिओ वास्तविक नभई एआई तथा भिडिओ एडिटिङ टुल प्रयोग गरेर बनाइएका भ्रामक सामग्री हुन् ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस १, २०८२ १६:२४