close

एआई निर्मित नक्कली कागजातको सहारामा रुसका संवेदनशील निकायमा साइबर आक्रमण !

टेकपाना टेकपाना

पुस ५, २०८२ १०:१५

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । रुसका हवाई प्रतिरक्षा, इलेक्ट्रोनिक्स र सैन्य प्रविधि क्षेत्र कम्पनीमाथि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी साइबर जासुसी भएको खुलासा भएको छ । साइबर सुरक्षा फर्म ‘इन्टेजर’ ले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो खुलासा गरेको हो ।

प्रतिवेदनका अनुसार पेपर वेयरवुल्फ नामक ह्याकरको समूहले एआई सिर्जित नक्कली कागजात प्रयोग गरी रुसी सैन्य क्षेत्रको गोप्य विवरण चोरी गरिरहेका छन् । सन् २०२२ देखि सक्रिय रहेको ‘पेपर वेयरवुल्फ’ नामको ह्याकिङ समूहले यो अपरेसन चलाइरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस ह्याकरको समूहलाई युक्रेन समर्थक मानिएको छ । यो त्यही समूह हो, जसले आफ्ना साइबर आक्रमण पूर्ण रूपमा रुसी सैन्य र सरकारी निकायमा केन्द्रित गर्दै आएको छ ।

इन्टेजरकी वरिष्ठ सुरक्षा अनुसन्धानकर्ता निकोल फिशबिनका अनुसार यसपटक ह्याकरले उच्च पदस्थ रुसी सैन्य अधिकारी र सरकारी निकायलाई निशाना बनाउन एआई टुलको सहारा लिएका छन् । एआई प्रयोग गरी बनाइएका कागजात यति वास्तविक देखिन्छन् कि ती सजिलै पहिचान गर्न कठिन हुन्छ । उनले रोयटर्सलाई भनिन्, “यसले नयाँ प्रविधिले कसरी जटिल आक्रमणका लागि बाटो सहज बनाइदिन सक्छन् भन्ने देखाउँछ । प्रविधि आफैँमा समस्या होइन, बरु यसको दुरुपयोग नै मुख्य चुनौती बनेको छ ।”

एउटा घटनामा उच्च पदस्थ सैनिक अधिकारीलाई ‘कन्सर्ट’ को नक्कली इन्भिटेसन पत्र पठाइएको थियो भने अर्को घटनामा रुसी उद्योग तथा वाणिज्य मन्त्रालयको नाममा सरकारी मूल्य निर्धारण सम्बन्धी पत्र पठाइएको पाइएको थियो । यस्ता कागजातमा मालवेयर लुकाइएको थियो भने त्यसको सहायताले कम्पनीका संवेदनशील प्रणालीमा पहुँच पुर्‍याइएको अनुसन्धानले देखाएको छ ।

रुसी साइबर नीति अनुसन्धानकर्ता ओलेग शाकिरोभले यो आक्रमणले रुसको सैन्य उद्योग र आपूर्ति श्रृंखलामाथि ठुलो खतरा पैदा गरेको बताएका छन् । रक्षा निकायको प्रणालीमा पहुँच पुग्दा रुसी सैन्य उपकरणको उत्पादन, अनुसन्धान तथा विकास र आपूर्ति श्रृंखलाका गोप्य विवरण बाहिरिने जोखिम रहन्छ ।

ह्याकरको यो समूहले पछिल्लो समय सरकारी एजेन्सी, ऊर्जा र वित्त क्षेत्रभन्दा बाहिर सैन्य प्रविधि कम्पनीलाई आफ्नो निशाना बनाउनुलाई रणनीतिक परिवर्तनका रूपमा हेरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८२ १०:१६