अस्ट्रियामा भएको एआई ह्याकाथनको उपाधि र्यापर समेत रहेका इन्जिनियर युनिक पोइटको टोलीलाई
पुस ५, २०८२ १२:०
काठमाडौँ । अस्ट्रियाको जोहानेस केपलर युनिभर्सिटी लिन्जमा आयोजित ‘ग्रेट एआई ह्याकाथन’को उपाधि नेपाली र्यापर उत्साह जोशी (युनिक पोइट) सम्मिलित टिमले जितेको छ । गुगल डेभलपर्स ग्रुप (जीडीजी) लिन्जले आयोजना गरेको विश्वव्यापी प्रतिस्पर्धामा उत्साहको टिमले १५ सय युरो (करिब साढे दुई लाख रुपैयाँ) पुरस्कार सहित प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा उत्साहसँगै अर्नब मण्डल, गौरव पराजुली, मिलेना कोवाल्स्का र निकोलाउस वेनगार्टमायर सहभागी थिए । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मसिन लर्निङ र क्लाउड टेक्नोलोजीको प्रयोग गरी प्राविधिक समाधान खोज्ने उद्देश्यले आयोजित उक्त ह्याकाथनमा उनीहरूले ‘द न्यु हायर’ नामक विशेष प्रोजेक्ट प्रस्तुत गरेका थिए ।
‘पढेर सर्टिफिकेट त छ, तर काम गर्ने अनुभव छैन’ भन्ने युवाको समस्या हटाउन र उनीहरूलाई रोजगारीसँग जोड्न यो प्रोजेक्ट ल्याइएको एआई इन्जिनियर समेत रहेका जोशीले बताए ।
जोशीका अनुसार ‘द न्यु हायर’ एउटा यस्तो सफ्टवेयर हो जहाँ विद्यार्थी र नयाँ डेभलरले एआई सहकर्मीसँग अन्तर्क्रिया गर्न, कोड रिभ्यु लिन र साताव्यापी कार्ययोजनामा काम गर्दै कार्यस्थलको अनुभव लिन सक्छन् । गुगल जेमिनाई र एन्टिग्र्याभिटी जस्ता प्लेटफर्मको प्रयोग गरी उनीहरूले एक दिनको समयावधिमा यो सफ्टवेयरको नमुना तयार पारेका थिए ।
प्रतियोगिताको नतिजा सार्वजनिक भएपछि र्यापर युनिक पोइटले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफ्ना टिमका सदस्य र आयोजकलाई धन्यवाद दिएका छन् । अन्तिम समयमा टिम बनाएर प्रतिस्पर्धामा उत्रिए पनि उत्कृष्ट प्रस्तुतीकरण र नयाँ अवधारणाका कारण उनीहरूको टिमले विश्वभरका अन्य प्रतिस्पर्धीलाई पछि पार्न सफल भएको हो ।
पछिल्लो अध्यावधिक: पुस २०, २०८२ २२:२३
