चिनियाँ अदालतमा नबिल बैंकको जीत, १ अर्ब रुपैयाँ बराबरको बैंक ग्यारेन्टी रकम फिर्ता
पुस ७, २०८२ १४:५६
काठमाडौँ । नबिल बैंक लिमिटेडले चीनको अदालतमा चलेको झन्डै दुई वर्ष लामो कानुनी लडाइँ जितेर ७४ लाख ४९ हजार ३८६ अमेरिकी डलर (करिब एक अर्ब ६ करोड रुपैयाँ बढी) फिर्ता पाएको छ । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको बैंक जमानत (बैंक ग्यारेन्टी) सँग सम्बन्धित मुद्दामा बैंकले आइतबार उक्त रकम प्राप्त गरेको हो ।
नबिल बैंकले त्रिशूली जलविद्युत् कम्पनीका नाममा जारी गरेको चार ओटा बैंक ग्यारेन्टीको काउन्टर ग्यारेन्टी चीनको ‘चाइना एभरब्राइट बैंक लिमिटेड, चेङ्दु शाखा’ ले दिएको थियो । १ डिसेम्बर २०२३ मा त्रिशूली जलविद्युत्ले उक्त ग्यारेन्टी दाबी (इन्भोकेसन) गरेपछि नबिल बैंकले सोही दिन स्विफ्टमार्फत चिनियाँ बैंकसँग रकम भुक्तानीको माग गरेको थियो ।
तर, चीनको चेङ्दु वित्तीय अदालतले भुक्तानी रोक्का गर्ने अन्तरिम आदेश जारी गरेको भन्दै चाइना एभरब्राइट बैंकले १० डिसेम्बर २०२३ मा रकम पठाउन अस्वीकार गरेको थियो । चिनियाँ बैंकले रकम नपठाए पनि नबिल बैंकले लाभग्राही त्रिशूली जलविद्युत् कम्पनीलाई आफैँ भुक्तानी दिएर चिनियाँ अदालतमा कानुनी प्रक्रिया सुरु गरेको थियो ।
उक्त मुद्दामा १७ जनवरी २०२४ मा चेङ्दु वित्तीय अदालतले नबिल बैंकको पक्षमा फैसला गर्दै विपक्षी ‘सुइफा-आन्हे ग्रुप कम्पनी लिमिटेड’को दाबी खारेज गरिदिएको थियो । सो फैसला विरुद्ध सुइफा-आन्हे ग्रुपले ‘चोङकिङ उच्च जनअदालत’मा पुनरावेदन गरेको थियो ।
गत २३ सेप्टेम्बर २०२५ मा भएको अन्तिम सुनुवाइपछि उच्च अदालतले पनि नबिल बैंककै पक्षमा फैसला सदर गरेको हो । अदालतको सोही निर्णय अनुसार चारै ओटा बैंक ग्यारेन्टीको सम्पूर्ण रकम प्राप्त गरेको बैंकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १५:११
