close

सुमनाको भाषणमा रविको नाम जोडेर मिडियाको ‘म्यानुपुलेसन’, सन्दर्भ एकातिर, क्याप्सन अर्कातिर

टेकपाना टेकपाना

पुस ७, २०८२ १६:२९

सुमनाको भाषणमा रविको नाम जोडेर मिडियाको ‘म्यानुपुलेसन’, सन्दर्भ एकातिर, क्याप्सन अर्कातिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शनिबार एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर केही अनलाइन सञ्चारमाध्यमले भ्रामक ‘न्यारेटिभ’ निर्माण गर्न खोजेको देखिएको छ । पार्टीको आन्तरिक लोकतन्त्र र पद्धतिबारे उनले राखेको धारणालाई रास्वपा सभापति रवि लामिछानेसँग जोडेर भ्रम फैलाउन खोजिएको हो ।

शनिबार राजधानीमा आयोजित ‘पिपल्स फर्स्ट पार्टी’को स्थापना अधिवेशनमा श्रेष्ठले नयाँ राजनीतिमा होमिएकालाई आफ्नो अनुभवका आधारमा सुझाव दिएकी थिइन् । उनले कुनै पनि राजनीतिक दल एक व्यक्तिमा मात्र केन्द्रित हुँदा लोकतन्त्र कमजोर हुने र ‘एक व्यक्ति नभए देश नै कोल्याप्स हुन्छ’ भन्ने मानसिकता घातक हुने धारणा राखेकी थिइन् ।

आफ्नो सम्बोधनका क्रममा उनले नेकपा (एमाले) र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रसङ्ग उल्लेख गर्दै २३ भदौको घटना र पार्टीको आन्तरिक लोकतन्त्रबारे प्रश्न उठाएकी थिइन् । उनले भनिन्, “एक व्यक्तिले नै पार्टी र देशलाई निकास दिन्छ, त्यो व्यक्ति भएन भने देश घर्ल्याम-घुर्लुम जान्छ भन्नु सत्य होइन । यदि त्यस्तो हो भने हामीले कस्तो देश बनाएछौँ त ?” उनले नयाँ दललाई व्यक्तिपूजाको बाटोमा नलाग्न र पद्धति बलियो बनाउन ‘इनोभेसन’ गर्न सुझाव दिएकी थिइन् ।

तर, ‘हुलाक सञ्चार’ र ‘ओटीभी नेपाल’ लगायतका केही अनलाइन सञ्चारमाध्यमले सुमनाको यो भनाइलाई विषयान्तर गर्दै ‘रवि छुटेपछि सुमनाको बोली’ भन्दै भ्रामक क्याप्सनका साथ भिडिओ सम्प्रेषण गरेका छन् । ‘रवि लामिछाने छुट्नु र सुमना श्रेष्ठले आफ्नो धारणा राख्नु’मा केही सम्बन्ध छैन । 

श्रेष्ठले रास्वपा छोडेपछि उक्त पार्टीका पक्षधर निरन्तर उनीमाथि खनिरहेका छन् । यही ‘इमोसन’ क्याश गर्न यी उल्लेखित सञ्चारमाध्यमले रवि लामिछानेलको नाम जोडेको देखिन्छ । 

हुलाक सञ्चारले राखेको १ मिनेट २८ सेकेन्डको भिडिओमा २५ हजार बढी रियाक्सन र १५ लाख बढी भ्युज छ । त्यस्तै ओटीभी नेपालले राखेको ११ मिनेट ४८ सेकेन्डको भिडिओमा १३०० बढी रियाक्सन र झन्डै ६० हजार रियाक्सन छ । हुलाक सञ्चारले राखेको उक्त भिडिओ डाउनलोड गरेर अन्य टिकटक तथा फेसबुक प्रयोगकर्ताले पनि अपलोड गरेको देखिन्छ । टिकटकमा विशाल नामका प्रयोगकर्ताले उक्त भिडिओ राखेका छन् । सो भिडिओमा दुई हजार बढी लाइक र ६० हजार बढी भ्युज छ । 

मिडियाले यसरी असान्दर्भिक शीर्षक र सन्दर्भ जोड्नुको मुख्य उद्देश्य ‘क्लिकबेट’ मार्फत भ्युज बटुल्नु खोजेको देखिन्छ । यस विषयमा श्रेष्ठले मिडियाको यस्तो व्यवहारलाई समाजमा ‘विष’ छर्ने कामको संज्ञा दिएकी छन् । उनले टेकपानासँग भनिन्, “अहिलेको राजनीतिक स्पेक्ट्रममा गाली गरेर मात्र परिवर्तन हुन्छ भन्ने सोच हावी गराउन खोजिएको छ । मान्छेमा जति धेरै फ्रस्ट्रेसन भर्न सकियो, त्यति नै ‘मै मात्र समाधान हुँ’ भन्न सजिलो हुने भएकाले यस्तो गरिएको हो । यो अल्पकालीन राजनीतिक फाइदाका लागि समाजमा विष छर्ने काम भइरहेको छ ।”

मिडियाले मानिसको ‘कन्फर्मेसन बायस’ (आफूलाई जे विश्वास छ, त्यही सुन्न चाहने प्रवृत्ति) लाई प्रयोग गरेर म्यानुपुलेट गरिरहेको उनको बुझाइ छ । “मिडियाले यसरी म्यानुपुलेट गर्ने हो भने समाजलाई जहाँ पनि पुर्‍याइदिन सक्छ, जुन अत्यन्तै जोखिमपूर्ण छ,” उनले भनिन् ।

तर हुलाक सञ्चारका सम्पादक विनोद आचार्यले भिडिओको क्याप्सन र सामग्रीको तालमेल नमिलेको कुरालाई अस्वीकार गरे । भिडिओको क्याप्सनले मिडिया म्यानिपुलेसन गरेको भन्ने विषय व्यक्तिगत बुझाई मात्र भएको उनको दाबी छ । "यो विषयले उल्टै हुलाक सञ्चारको डिफेम गरेको छ । रवि (लामिछाने) छुटेको पनि सही हो र सुमनाले बोलेको पनि हो । शीर्षक के राख्ने भन्ने विषय सम्बन्धित मिडियाको कुरा हो । हामीले राखेको शीर्षकले कुनै किसिमको दिग्भ्रमित पारेको छैन," उनले भने ।

 

*समाचारमा हुलाक सञ्चारका सम्पादकको भनाई अपडेट गरिएको छ । सुरुवाति सामग्रीमा उक्त भनाई समेट्न नसकिएको प्रति क्षमाप्रार्थी छौँ । -स.

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १३:४४