रास्वपामा समानुपातिक उम्मेदवार छान्न डिजिटल भोटिङ, एपमा 'एरर' आउन सक्ने भन्दै नआत्तिन आग्रह
पुस १२, २०८२ ११:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्न आन्तरिक मतदान प्रक्रिया सुरु गरेको छ । शनिबार बिहान ७ बजेदेखि सुरु भएको यो मतदान प्रक्रिया आइतबार बेलुका ७ बजेसम्म चल्नेछ ।
पार्टीले आफ्ना सदस्यका लागि मोबाइल एपमार्फत नै भोटिङ गर्ने व्यवस्था मिलाएको हो । कुल ११० जना उम्मेदवार छनोटका लागि भइरहेको यस मतदानमा रास्वपाको सदस्यता लिएका नागरिकले भाग लिन पाउनेछन् ।
मतदान प्रक्रिया सुरु भएसँगै एपमा अत्यधिक चापका कारण केही प्राविधिक समस्या आउन सक्ने भन्दै पार्टीले मतदातालाई नआत्तिन आग्रह गरेको छ । एपमा ‘एरर’ आउने वा ‘क्र्यास’ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्याप्त समय (३६ घण्टा) छुट्याइएको पार्टीले जनाएको छ ।
शनिबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै रास्वपाले भनेको छ, “अत्यधिक चापका कारण एपमा केही प्राविधिक समस्या वा एरर देखिन सक्छ । त्यस्तो अवस्थामा केही समय धैर्य गरी पुनः प्रयास गर्नुहोला । मतदानका लागि ३६ घण्टाको पर्याप्त समय भएकाले नआत्तिन अनुरोध गर्दछौँ ।”
पछिल्लो अध्यावधिक: पुस १२, २०८२ १२:२७
