close

पार्टी चलाउन हर्क साम्पाङले मागे क्यूआरमार्फत आर्थिक सहयोग

टेकपाना टेकपाना

पुस १२, २०८२ २२:३१

पार्टी चलाउन हर्क साम्पाङले मागे क्यूआरमार्फत आर्थिक सहयोग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो राजनीतिक दल सञ्चालनका लागि सर्वसाधारणसँग आर्थिक सहयोगको अपिल गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोड सार्वजनिक गर्दै साम्पाङले पार्टीका लागि आर्थिक स्रोत जुटाउने अभियान थालेका हुन् ।

पार्टीलाई पारदर्शी ढंगले अगाडि बढाउन यो कदम चालिएको उल्लेख गर्दै उनले यो आह्वान स्वेच्छिक सहयोग गर्न चाहनेहरूका लागि मात्र भएको उल्लेख गरेका छन् । “यो कुनै विदेशी प्रभुले लगानी लगाइदिएको या देश बेचेको, भ्रष्टाचार गरेको पैसाले खोलिएको पार्टी होइन," साम्पाङले आफ्नो पोस्टमा लेखेका छन् ।

आर्थिक सहयोग मागेकोमा आलोचना र खिसी गर्नेहरूलाई लक्षित गर्दै साम्पाङ लेख्छन्, “सहयोग नगर्ने विरोधीले हाँस्नु पर्ने केही छैन । देश हामी सबैको हो सबैले दु:ख गरौँ । मेरो पेवा व्यक्तिगत व्यापार व्यवसाय होइन यो त्यसैले विरोध गर्ने खिसी गर्ने कुरा छैन । खिसी गर्नेले जीवनमा कति सहयोग र योगदान दिए त देशका लागि ?”

पछिल्लो अध्यावधिक: पुस १२, २०८२ २२:३१