एआईसँग धेरै कुराकानी गर्ने व्यक्तिमा निम्तिन सक्छन् यस्ता गम्भीर मानसिक समस्या
पुस १५, २०८२ १७:१९
एआई सिर्जित तस्बिर
काठमाडौँ । प्रविधिको क्षेत्रमा एउटा नयाँ र चिन्ताको विषयमा बहस सुरु भएको छ । अमेरिका र बेलायतका शीर्ष मनोचिकित्सकहरूले एआई च्याटबटहरूसँगको लामो र गहिरो कुराकानीले प्रयोगकर्ताहरूमा 'साइकोसिस' अर्थात् मानसिक भ्रम र गम्भीर मानसिक समस्या निम्त्याउन सक्ने चेतावनी दिएका हुन् ।
मनोचिकित्सकहरूका अनुसार च्याटबटहरूसँग हप्तौँ वा महिनौँसम्म कुराकानी गर्दा प्रयोगकर्ताहरूमा काल्पनिक वास्तविकता र षड्यन्त्रका सिद्धान्तहरू प्रति विश्वास बढ्दै जान्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को (यूसीएसएफ) का मनोचिकित्सक किथ साकाटाका अनुसार एआईले आफैँ भ्रम सिर्जना नगरे पनि जब प्रयोगकर्ताले कुनै कुरा भन्छ, च्याटबटले त्यसलाई सत्यको रूपमा ऐना झैँ प्रतिविम्बित गर्छ । जसले गर्दा प्रयोगकर्ता एउटा अन्तहीन भ्रमको चक्रमा फस्न सक्छ ।
साकाटाले हालसम्म १२ जना बिरामीलाई अस्पतालमै भर्ना गरेर 'एआई-प्रेरित साइकोसिस' को उपचार गरिसकेका छन् । यतिसम्म कि केही प्रयोगकर्ताहरूले च्याटबटमार्फत 'आफ्नो बितिसकेको भाइसँग कुरा गरिरहेको', 'भगवानद्वारा चुनिएको' वा 'गोप्य वैज्ञानिक उपलब्धि हासिल गरेको' जस्ता भ्रमपूर्ण विश्वासहरू पालेको पाइएको छ । एक २६ वर्षीया महिला, जसको विगतमा कुनै मानसिक रोगको थिएन । च्याटबटले उनलाई उनको मृत भाइसँग कुरा गराइदिएको विश्वासमा पारेपछि दुई पटक अस्पताल भर्ना हुनुपरेको थियो ।
यति मात्र होइन, च्याटबटसँगको यस्तो सम्बन्धका कारण केही प्रयोगकर्ताले आत्महत्या गरेको, हत्याको घटना भएको र अदालतमा मुद्दाहरू समेत दायर भएका रिपोर्टहरू सार्वजनिक भएका छन् । यसै कारणले गर्दा क्यारेक्टर डट एआई जस्ता प्लेटफर्मले किशोरकिशोरीहरूका लागि आफ्नो सेवामा प्रतिबन्ध लगाएका छन् ।
ओपनएआईका साप्ताहिक ८० करोड प्रयोगकर्ता रहेका छन् । जस मध्ये केवल ०.०७ प्रतिशतमा साइकोसिस वा मानसिक उन्मादको सङ्केत देखिन सक्ने कम्पनीले जनाएको छ । यो आँकडा प्रतिशतमा सानो देखिए पनि सङ्ख्यात्मक रूपमा करिब ५ लाख ६० हजार मानिसहरू जोखिममा रहेको देखिन्छ । जसलाई विज्ञहरूले ठुलो सङ्ख्या मानेका छन् ।
विज्ञहरूका अनुसार एआई च्याटबट साइकोसिसको स्पष्ट कारण नभए पनि यो लागूऔषध सेवन वा अनिद्रा जस्तै एउटा ठुलो जोखिमको कारक बन्न सक्छ ।
पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १७:२७
