काठमाडौँ । नेपालमा विदेशी नागरिकहरूको गतिविधिको रेकर्ड राख्ने प्रणालीको औपचारिक सुरुवात भएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) सुरु गरेको हो ।
सुरुवाती चरणमा काठमाडौँ उपत्यकाका सबै तारे होटलहरूमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । अब ती होटलहरूले विदेशी नागरिकहरू चेक-इन गर्दा उनीहरूको पासपोर्ट नम्बर लगायतका विवरण एफएनएमआईएस प्रणालीमा इन्ट्री गर्नुपर्ने छ । होटलबाट निस्किएपछि चेक-आउट भएको विवरण पनि सोही प्रणालीमा अपडेट गर्नु पर्नेछ ।
दोस्रो चरण अन्तर्गत १७ फागुन (१ मार्च) देखि नेपालभरका सबै तारे होटेल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्स्चेन्जरहरूमा यो प्रणाली विस्तार गरिने उनले जानकारी दिए ।
त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा प्रणाली लागु गर्ने सरकारी योजना छ ।
विभागले उक्त प्रणाली १ असोजदेखि नै लागु गर्ने तयारी गरेको थियो । तर २३-२४ भदौको जेनजी आन्दोलनका कारण उक्त प्रणालीको कार्यान्वयन ढिलो भएपछि अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सुरुवात गरिएको हो ।
सबै स्थानमा एफएनएमआईएस कार्यान्वयनमा आएपछि नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरू कुन-कुन स्थानमा बसे र कहाँ-कहाँ पुगे भन्ने विषयको व्यवस्थित अभिलेख अध्यागमन विभागसँग रहने छ । यो अभिलेखले विदेशी नागरिकको आगमन र गतिविधिलाई व्यवस्थित गर्नुका साथै आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने बताइएको छ ।
पासपोर्ट नम्बर मात्र लिइने भएकाले यसबाट पर्यटकको व्यक्तिगत गोपनीयतामा कुनै असर नपर्ने विभागको दाबी छ । संकलित सबै डेटा अध्यागमन विभागको केन्द्रीय प्रणालीमा मात्र सुरक्षित रहने प्रवक्ता ढकालले स्पष्ट पारे । अन्य सरकारी निकायले विदेशी नागरिकको डेटा लिनु परेमा विभागको अनुमति लिएर प्रयोग गर्न सक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: पुस १७, २०८२ १५:५९
