close

मोबाइलका लागि २० हजार एमएएच क्षमताको ब्याट्री ल्याउँदै सामसङ

टेकपाना टेकपाना

पुस १७, २०८२ १६:६

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । सामसङले स्मार्टफोनका लागि अहिलेसम्मकै शक्तिशाली २०,००० एमएएच क्षमताको ब्याट्री परीक्षण गरिरहेको खबर बाहिरिएको छ । चिनियाँ स्मार्टफोन ब्रान्डहरूले ८००० एमएएचभन्दा ठुला ब्याट्री भएका फोन बजारमा ल्याएका बेला सामसङको ब्याट्री निर्माण गर्ने सहायक कम्पनी सामसङ एसडीआईले यो नयाँ प्रयोग सुरु गरेको हो ।

हालै सार्वजनिक भएको सामसङको फ्ल्यागशिप फोन ग्यालेक्सी एस २५ अल्ट्रामा ५,००० एमएएचको मात्र ब्याट्री प्रयोग गरिएको छ । यस्तो अवस्थामा सामसङले विकास गरिरहेको यो विशाल ब्याट्रीले स्मार्टफोनको ब्याट्री ब्याकअपको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्लेषण गरिएको छ ।

के छ विशेषता ?

यो ब्याट्री सिलिकन-कार्बन प्रविधिमा आधारित हुनेछ, जसमा डुअल-सेल सेटअप प्रयोग गरिएको छ । यसअन्तर्गत एउटा सेल १२,००० एमएएच (६.३ एमएम बाक्लो) र अर्को सेल ८,००० एमएएच (४ एमएम बाक्लो) रहेको छ ।

परीक्षणका क्रममा यो ब्याट्रीले निकै प्रभावशाली नतिजा दिएको दाबी गरिएको छ । यसले एक पटकको फुल चार्जमा लगातार २७ घण्टाको स्क्रिन-अन टाइम दिएको र वर्षमा करिब ९६० पटकसम्म चार्ज गर्न सकिने क्षमता देखाएको छ ।

ब्याट्रीको क्षमता निकै उच्च भए पनि प्रारम्भिक परीक्षण भने पूर्ण रूपमा सफल हुन नसकेको बताइएको छ । परीक्षण सकिए लगत्तै ब्याट्री फुल्ने समस्या देखिएपछि यसको दीर्घकालीन टिकाउपनमा प्रश्न उठेको छ । रिपोर्ट अनुसार ८,००० एमएएचको सेल ४ मिलिमिटरबाट फुलेर ७.२ मिलिमिटरसम्म पुगेको थियो ।

यद्यपि, यो जानकारी कुनै आधिकारिक स्रोतबाट नभई टिपस्टरमार्फत बाहिरिएको हुनाले यसलाई पूर्ण सत्य मान्न नसकिने विज्ञहरूले बताएका छन् । केही स्रोतहरूले भने सामसङ एसडीआईले यो ब्याट्री स्मार्टफोनका लागि नभई विद्युतीय सवारी साधनका लागि परीक्षण गरिरहेको हुनसक्ने अनुमान समेत गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: पुस १७, २०८२ १६:४२