close

हेलिकप्टर चढेर पिकनिक पुगेपछि मुख्यमन्त्री विवादमा, भने- ‘निजी खर्चमा गएको हुँ, भ्रम फैलाइयो’

टेकपाना टेकपाना

पुस १८, २०८२ १५:२८

हेलिकप्टर चढेर पिकनिक पुगेपछि मुख्यमन्त्री विवादमा, भने- ‘निजी खर्चमा गएको हुँ, भ्रम फैलाइयो’

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टर चढेर वनभोजमा पुगेपछि सामाजिक सञ्जालमा आलोचित भएका छन् । नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवले बिहीबार आयोजना गरेको वनभोजमा मुख्यमन्त्री बानियाँ हेटौंडाबाट माउन्टेन एयरको हेलिकप्टर चढेर पुगेका थिए । उनका भिडिओ र तस्बिर भाइरल भएपछि चर्को आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राज्य स्रोतको दुरुपयोग गरेको, नेताहरूको विलासी जीवनशैली देखाएको, आम जनता आर्थिक संकटमा छँदा यस्तो देखावटी गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । केहीले यो घटनालाई प्रदेश संरचना खारेज गर्नुपर्ने उदाहरण बनाएका छन् ।

यसैबिच चर्को आलोचना भएपछि मुख्यमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ । प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँ आफ्नै व्यक्तिगत खर्चमा हेलिकप्टरमा गएको दाबी गरेका छन् ।

मुख्यमन्त्रीको कार्यतालिका व्यस्त रहेका कारण हेलिकप्टरको सहारा लिनुपरेको सचिवालयको भनाइ छ ।

सोही दिन सिन्धुपाल्चोकको मेलम्ची-९, गुफा डाँडामा आयोजित छैटौँ जलवायु सम्मेलनमा सहभागी भई पुनः सिराहा पुग्नुपर्ने र सडक मार्गबाट यात्रा गर्न समयका हिसाबले असम्भव भएपछि बाध्यात्मक परिस्थितिका कारण निजी खर्चमा हेलिकप्टर चार्टर गरिएको विज्ञप्तिमा उल्लेख छ।

केही व्यक्ति र समूहले मुख्यमन्त्रीको सकारात्मक कार्यलाई ओझेलमा पार्न र उनको चरित्रहत्या गर्न निरन्तर नकारात्मक सन्देश प्रवाह गरिरहेको सचिवालयले आरोप लगाएको छ । "सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउन खोज्नु साइबर अपराध भएकाले यस्ता गलत सामग्रीको सम्प्रेषण नगर्नुहुन सबैमा अनुरोध छ । सञ्चार माध्यमहरूलाई पनि सत्य-तथ्य जाँच गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने दायित्वबाट विमुख नहुन समेत सादर अनुरोध गर्दछौं," विज्ञप्तिमा भनिएको छ ।

सचिवालयले मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गरेदेखि नै आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउँदै आएको दाबी गरेको छ । मुख्यमन्त्रीले आफ्नो सरकारी निवासको खर्चदेखि सवारीको इन्धनसमेत निजी खर्चमा बेहोर्दै आएको र आफ्नो सुविधा बापतको रकमबाट विपन्न परिवारका लागि घर निर्माण गरिदिएको उदाहरण सचिवालयले प्रस्तुत गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १५:५७