close

देशभर एनसेलका २५० नयाँ टावर जडान, २,२०० साइटको क्षमता विस्तारसँगै फोरजी सेवामा सुधार

टेकपाना टेकपाना

पुस १८, २०८२ १७:२७

देशभर एनसेलका २५० नयाँ टावर जडान, २,२०० साइटको क्षमता विस्तारसँगै फोरजी सेवामा सुधार

काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो फोरजी नेटवर्कको गुणस्तर सुदृढ बनाउन गत वर्ष देशभर २५० ओटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै कम्पनीले २,२०० ओटा टावर (साइट) को क्षमता अभिवृद्धि गर्दै भ्वाइस र उच्च गतिको डेटा सेवाको गुणस्तरमा व्यापक सुधार गरेको छ ।

कनेक्टिभिटी केवल सम्पर्कको माध्यम मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय र आत्मीयजनसँग जोडिनका लागि अत्यावश्यक आधार भएको उल्लेख गर्दै एनसेलले फोरजी नेटवर्कको सुदृढीकरण र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।

नयाँ टावरहरू सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा स्थापना गरिएका छन् । विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा सेवाको गुणस्तर सुधार गर्न कम्पनीले नयाँ टावर जडान र क्षमता अभिवृद्धिलाई तीव्रता दिएको छ ।

एनसेलले कर्णाली प्रदेशअन्तर्गत दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानीय तहमा टावर स्थापना गरी फोरजी सेवा सुरु गरेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको डोटी (लडागडा), कैलाली (बनजरिया) र कञ्चनपुर (सरस्वती टोल) लगायतका स्थानमा पनि नयाँ टावरहरू सञ्चालनमा ल्याइएका छन् । मधेश प्रदेशका सिराहा (हनुमाननगर), सप्तरी (भिमपुर) र धनुषा (मुसहरनिया) लगायत दर्जनौँ स्थानमा सेवा विस्तार गरिएको छ ।

कुल २५० नयाँ टावरमध्ये १९७ ओटा पछिल्लो साढे दुई महिनामा मात्र स्थापना गरिएका हुन् । उपकरण आयातमा सहजीकरण नहुँदाको अवस्थामा पनि कम्पनीले आफ्नै स्टकमा रहेका र स्पेयर उपकरणहरूको अधिकतम उपयोग गरी ५३ ओटा टावर सञ्चालनमा ल्याएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले उपकरण आयातमा देखिएका गाँठो फुकाएसँगै नयाँ टावर स्थापनाको कामले थप गति लिएको हो ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले नेटवर्क विस्तारका बारेमा भने, “देशभर थपिएका नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटहरूले स्थानीय तहमा मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँचलाई अझ व्यापक बनाएको छ । यो नेटवर्क विस्तारले आधारभूत सञ्चार, व्यवसाय र अध्ययनका लागि ग्राहकलाई थप सहजता प्रदान गर्नेछ ।”

तथ्याङ्कअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी १०० भन्दा बढी नयाँ टावर थपिएका छन् । त्यस्तै लुम्बिनीमा ४० र कोशी प्रदेशमा ३५ भन्दा बढी टावर स्थापना गरिएका छन् । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आवश्यकता अनुसार थप टावरहरू जडान भएका छन् ।

२०७४ जेठदेखि फोरजी सेवा सुरु गरेको एनसेलको पहुँच हाल ७७ वटै जिल्लामा पुगिसकेको छ । हाल कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी मानिस माझ एनसेलको फोरजी सेवा पुगेको कम्पनीले जनाएको छ । यस विस्तारले देशव्यापी रूपमा डिजिटल कनेक्टिभिटीलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १७:२७