जेन-जी आन्दोलनका शहिद सुलभ राज श्रेष्ठको नाममा इन्जिनियरिङ कार्यक्रममा पूर्ण छात्रवृत्ति
पुस २३, २०८२ २३:८
काठमाडौँ । कालीमाटीस्थित काठमाडौँ इन्जिनियरिङ कलेजले जेन-जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका इन्जिनियर सुलभराज श्रेष्ठको सम्मानमा पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । कलेजले आफ्ना पूर्वविद्यार्थी श्रेष्ठको त्याग, आदर्श र प्रेरणालाई चिरस्थायी बनाउने उद्देश्यले ‘शहिद ई. सुलभराज श्रेष्ठ छात्रवृत्ति’ स्थापना गर्ने निर्णय गरेको हो ।
सुलभले सोही कलेजको २०७६ ब्याचबाट सिभिल इन्जिनियरिङमा अध्ययन पूरा गरेका थिए । सुलभका पिता नरेन्द्र श्रेष्ठको समेत सहमतिमा यो छात्रवृत्ति ल्याइएको कलेजका अध्यक्ष एवं प्रिन्सिपल प्रा. हिरेन्द्रमान प्रधानले जानकारी दिए ।
आगामी शैक्षिक सत्रदेखि लागु हुने छात्रवृत्ति प्रत्येक शैक्षिक सत्रमा कुनै एक विभागका एक जना आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा जेहनदार विद्यार्थीलाई प्रदान गरिनेछ ।
यो छात्रवृत्ति त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीमध्येबाट छनौट गरिनेछ । छात्रवृत्ति प्रदान गर्न कलेजले निर्धारण गरेको निश्चित मापदण्डका आधारमा पारदर्शी र निष्पक्ष रूपमा विद्यार्थीको छनौट गरिने प्रधानले बताए ।
आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थीको शैक्षिक यात्रा अवरुद्ध हुन नदिनु र शहिद सुलभले देखाएको भ्रष्टाचारमुक्त समाजको प्रतिबद्धतालाई नयाँ पुस्तासम्म पुर्याउनु यस छात्रवृत्तिको मुख्य लक्ष्य रहेको कलेजको सूचनामा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८२ २३:१३
