close

कोटेश्वर-एयरपोर्ट छेउछाउ राम्रोसँग किन टिप्दैन मोबाइल नेटवर्क ? यस्तो छ कारण

उन्‍नत सापकोटा उन्‍नत सापकोटा

पुस २४, २०८२ १५:२५

कोटेश्वर-एयरपोर्ट छेउछाउ राम्रोसँग किन टिप्दैन मोबाइल नेटवर्क ? यस्तो छ कारण

काठमाडौँ । काठमाडौँको जडीबुटी बस्ने संयोग कर्माचार्य नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ‘०२’ सुरु हुने विन्दुको बाहिर दायाँपट्टि छ, उनको घर  । 

तर, बेलामौकामा उनको मोबाइलबाट न कल लाग्छ, आएको कल पनि कुरा गर्दागर्दै काटिन्छ । कहिलेकाही डेटा नचल्ने समस्या देखिन्छ । एसएमएस पनि नजाने समस्या उनले भोग्दै आएका छन् । 

“अरू ठाउँको तुलनामा यहाँ नेटवर्कमा बढी नै समस्या आउँछ । विमानस्थलमा कति धेरै उपकरण चलिरहेका हुन्छन्, त्यसैले पनि नेटवर्कमा डिस्टर्बेन्स आएको हो कि भन्ने लाग्छ । अन्त जाँदा यति धेरै समस्या हुँदैन,” कर्माचार्यले भने । 

कर्माचार्यजस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जडीबुटी-कोटेश्वर-तीनकुने सडकखण्ड प्रयोग गरेर यात्रा गर्ने अधिकांश यात्रुले कोटेश्वर आसपास पुग्दा मोबाइल नेटवर्कमा समस्या भोग्छन् । सवारी-साधनमा बसेर युट्युबलगायतका एपमा भिडिओ/अडियो प्ले गर्दा वा भिडिओ/अडियो कल गर्दा कोटेश्वर आसपास प्रायः नेटवर्कमा समस्या आइरहेकै हुन्छ । आखिर किन विमानस्थल वरपर मोबाइल नेटवर्कमा समस्या आउँछ त ?     

विमानस्थलमा रहेका राडार, एयर ट्राफिक कन्ट्रोल रेडियो र ग्राउन्ड ह्यान्डलिङ उपकरणमा समेत फ्रिक्वेन्सीको सहायताले सञ्चालन भइरहेका हुन्छन् । कहिलेकाहीँ ती फ्रिक्वेन्सी मोबाइल नेटवर्कसँग जुध्दा यस्तो समस्या आउन सक्छ ।    

नेपाल नागरिक उड्डयन प्राधिकरणका डेपुटी म्यानेजर तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले पनि विमानस्थल छेउछाउमा मोबाइल नेटर्वकमा समस्या आउने गरेको स्वीकार गरे । विमानस्थलले नेभिगेसन ब्यान्ड र कम्युनिकेसन ब्यान्डका लागि भनेर फ्रिक्वेन्सी प्रयोग गर्ने गरेकाले मोबाइल नेटवर्कको फ्रिक्वेन्सीसँग जुध्दा समस्या आउने उनको भनाई छ । १०८ देखि १३७ मेगाहर्जसम्मलाई त्रिभुवन विमानस्थलको ‘एभिएसन फ्रिक्वेन्सी ब्यान्ड’को रूपमा छुट्याइएको छ ।  

“समस्या आउँदै नआउने भन्ने होइन । त्रिभुवन विमानस्थलमा १०८ देखि १३७ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग हुन्छ । १०८ देखि ११८ मेगाहर्जसम्म नेभिगेसन ब्यान्ड र ११८ देखि १३७ मेगाहर्जसम्म कम्युनिकेसन ब्यान्डको रूपमा प्रयोग भइरहेको छ । नेभिगेसन ब्यान्डको सहायतामा विमानहरूले आफ्नो रूट तय गर्नछन् । कम्युनिकेसन ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबिच संवाद हुन्छ,” भुलले टेकपानासँग भने ।

१०८ देखि १३७ मेगाहर्ज बाहेकको फ्रिक्वेन्सीमा एफएम रेडियोसहित अन्य प्रयोजनका सेवा सञ्चालन भइरहेका छन् । जसका कारण कहिलेकाहीँ मोबाइल सेवा प्रदायकहरूले प्रयोग गर्ने फ्रिक्वेन्सी एभिएसन फ्रिक्वेन्सी ब्यान्डसँग जुध्दा मोबाइल नेटवर्कमा समस्या आउने भुलले जानकारी दिए । 

“मोबाइल नेटवर्कमा समस्या देखिनुको कारण हामीले रोक्न खोजेर होइन । विमानस्थलमा प्रयोग हुने फ्रिक्वेन्सीसँग मोबाइल सेवाको फ्रिक्वेन्सी जुध्नाले हो । अझ त्यसमाथि विमानले टेकअफ र ल्यान्डिङ गर्नेबेलामा नेभिगेसन र कम्युनिकेसन प्रविधि अधिक प्रयोग हुँदा फ्रिक्वेन्सी पनि उत्तिकै प्रयोग भइरहेको हुन्छ । जसका कारण विमान नजिक वा एयरपोर्ट छेउछाउ रहेका मोबाइल डिभाइसमा नेटवर्कको समस्या आउने गर्छ । त्यसैले त विमान उड्दा र अवतरण गराउँदा फ्रिक्वेन्सी इन्टरफ्रेन्स नहोस् भनेर मोबाइललाई स्वीच अफ वा एयरप्लेन मोडमा राख्न भन्छौँ,” भुलले भने ।

विमानले उडान वा अवतरणका क्रममा नेभिगेसनका साथै एटीसीसँग निरन्तर संवादका लागि कम्युनिकेसन ब्यान्ड प्रयोग गर्ने भएकाले मोबाइल नेटवर्कसँगको फ्रिक्वेन्सी मिक्सअप भएर विच्छेद हुने गर्छ । 

तर, मोबाइल नेटवर्कलाई सिज गर्न कुनै पनि प्रकारको जामर भने आफूहरूले प्रयोग नगर्ने भुलले बताए । विमानस्थलमा हवाई सेना, जासुसीसम्बन्धी विमान आउँदा त्यसमा डिफेन्स प्रणालीअन्तर्गत जडान गरिएको मोबाइल जामर भने हुने गर्छ । जसका कारण विमान वरपरका मोबाइल तथा अन्य विद्युतीय डिभाइसको नेटवर्क स्वतः बन्द हुन्छ । 

“एयर फोर्स, जासुसीसम्बन्धी संयन्त्रका विमानमा जामर लगाइएको हुन्छ । जसका कारण मोबाइल नेटवर्क सिज हुने गर्छ । नेपाल आएका अमेरिकी वायुसेनालगायतका विमानमा पनि यो प्रणाली थियो । जसका कारण वरपरको मोबाइल नेटवर्क चल्दैन । यस्ता विमान त विमानस्थलको राडारमा पनि देखिँदैनन्,” भुलले भने । 

तर, नेपाल टेलिकमका उप-प्रबन्धक प्रक्षेत थापा क्षेत्रीले विमानस्थलमा प्रयोग हुने फ्रिक्वेन्सी र टेलिकम कम्पनीहरूले चलाउन फ्रिक्वेन्सी धेरै फरक भएकाले जुध्ने सम्भावना नै नरहेको बताए । “नेटवर्क इन्टरफ्रेन्स वा मिसम्याचको सम्भावना छैन । किनभने वहाँहरूले १०८ देखि १३७ मेगाहर्जको फ्रिक्वेन्सी चलाउनु हुन्छ । हामी ८०० मेगाहर्ज वा ९०० मेगाहर्ज ब्यान्डदेखि मात्रै चलाउँछौँ । हामीले जडान गर्ने टावरमै पनि एउटै फ्रिक्वेन्सीको हुन दिँदैनौँ । फरक राख्छौँ । त्यसैले फ्रिक्वेन्सी जुधेर समस्या आयो भन्ने त हुँदै होइन । त्यो प्राविधिक रूपमा सम्भव नै छैन । अरू कुनै कारणले त्यस क्षेत्रमा समस्या आएको हुन सक्छ । त्यसबारे हाम्रो प्राविधिक टिमलाई जानकारी गराउँछौँ,” क्षेत्रीले टेकपानासँग भने । 

बरु भीआईपी सवारी, हवाई सेना वा अन्य संवेदनशील विमान आउँदाजाँदा त्यसमा भएको जामरले मोबाइल नेटवर्कमा समस्या पार्छ । त्यसबाहेक त नेटवर्क इन्टरफ्रेन्स भएर समस्या आउने सम्भावना नरहेको दाबी क्षेत्रीले गरे ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्याल पनि नागरिक उड्डयन प्राधिकरणले प्रयोग गर्ने र मोबाइल सेवा प्रदायकहरूले प्रयोग गर्ने फ्रिक्वेन्सी फरक हुने भएकाले इन्टरफ्रेन्सको सम्भावना कम रहेको बताउँछन् । दुवैले प्रयोग गर्ने फ्रिक्वेन्सी ब्यान्ड फरक भएकाले जुध्ने सम्भावना नरहेको भन्दै उनले अपरेटरले त्यस क्षेत्रमा आफ्नो नेटवर्क अप्टिमाइजेसन, नेटवर्क क्षमता लगायतमा ध्यान नपुर्‍याउँदा पनि समस्या देखिएको हुन सक्ने बताए । 

“फ्रिक्वेन्सी जुध्ने सम्भावना त निकै कम छ । तर, सेवा प्रदायकले कोटेश्वरसहितका क्षेत्रमा आफ्नो नेटवर्क अप्टिमाइजेसन, पर्याप्त क्षमता विस्तारदेखि नेटवर्कलाई चुस्तदुरुस्त राखे नराखेको विषय महत्त्वपूर्ण हुन्छ,” अर्यालले टेकपानासँग भने, “दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तर तोकेको बमोजिम नभएको गुनासो आए सेवा प्रदायकलाई स्पष्टीकरण सोधेर कारबाही गर्छ । यदि अरू कुनै समस्या हो भने प्राधिकरणलाई जानकारी गराउनुपर्‍यो ।” 

प्राधिकरणकै फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापन शाखाका उपनिर्देशक डा प्रदीप पौड्यालले ‘सिग्नल-टु-नोइज-इन्टरफ्रेन्स’का कारण पनि विमानस्थल वरपर मोबाइल नेटवर्कको गुणस्तर कमजोर बन्न सक्ने सम्भावना औँल्याए । फ्रिक्वेन्सी तथा सिग्नलको गुणस्तरलाई चर्को तथा अनावश्यक ध्वनीले असर पुर्‍याउन सक्ने उनको भनाइ छ । त्यसैगरी, विमानस्थलमा सेवा प्रदायकहरूले आफूअनुकूल बेस स्टेसन (टावर) राख्न नमिल्ने भएकाले पनि सबैतिर समान ढङ्गले सिग्नल नपुगेर गुणस्तर खस्किन सक्ने पौड्यालको तर्क छ । 

“सेलको एजतिर सिग्नल नपुग्न सक्छ । बेस स्टेसन टाढा टाढा हुँदा नेटवर्कको गुणस्तर कमजोर बन्न पुग्छ । जसका कारण मोबाइल सेवा सोचेअनुरूप सञ्चालन गर्न नसकिने अवस्था आउँछ । अब अरू कारणका लागि त विस्तृत अध्ययन नै गर्नुपर्छ,” पौड्यालले भने ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १६:२