close

अब च्याटजीपीटीमा पनि विज्ञापन देखिने

टेकपाना टेकपाना

माघ ३, २०८२ ९:२४

अब च्याटजीपीटीमा पनि विज्ञापन देखिने

काठमाडौँ । ओपनएआईले च्याटजीपीटीमा विज्ञापन देखाउने तयारी गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले अमेरिकाका वयस्क प्रयोगकर्ताका लागि निःशुल्क संस्करणमा विज्ञापनको परीक्षण सुरु गर्न लागेको जानकारी दिएको हो ।

यसका साथै कम्पनीले विश्वभरका प्रयोगकर्ताका लागि मासिक ८ डलर शुल्क पर्ने नयाँ ‘गो’ सब्सक्रिप्सन योजना पनि सार्वजनिक गरेको छ । यो हाल कायम रहेको २० डलरको ‘प्लस’ र २०० डलरको ‘प्रो’ योजनाभन्दा निकै सस्तो छ । ‘गो’ सब्सक्रिप्सनमा प्रयोगकर्ताले लामो ‘मेमोरी’ र थप तस्बिर बनाउने सुविधा पाउनेछन्, तर यसमा विज्ञापन भने समावेश हुनेछन् । 

त्यस्तै प्लस, प्रो र बिजनेस ग्राहकले भने विज्ञापनरहित सेवा नै पाउनेछन् ।

ओपनएआईका सीईओ साम अल्टम्यानले यसअघि च्याटजीपीटीमा विज्ञापन राख्ने कुरामा असहमति जनाउँदै आएका थिए । तर, कम्पनीले आगामी आठ वर्षमा एआई पूर्वाधार विकासका लागि खर्च गर्ने भनिएको १.४ ट्रिलियन डलरका लागि ठूलो रकम जुटाउनु पर्ने दबाब छ । ८० करोड मासिक प्रयोगकर्ता रहेको ओपनएआईले सन् २०२५ को अन्त्यसम्ममा वार्षिक राजस्व २० अर्ब डलर पुग्ने लक्ष्य राखेको छ ।

विज्ञापनको मोडेललाई प्रभावकारी बनाउन ओपनएआईले प्रयोगकर्ताको कुराकानीको प्रसङ्गलाई आधार मान्नेछ । उदाहरणका लागि यदि कुनै प्रयोगकर्ताले भ्रमणको योजनाबारे सोधेमा च्याटजीपीटीले सम्बन्धित ठाउँका होटल वा मनोरञ्जनका विज्ञापन देखाउन सक्नेछ ।

विज्ञापन च्याटजीपीटीको जवाफको तल ‘Sponsored’ ट्यागका साथ देखिनेछन् । कम्पनीले विज्ञापनका कारण च्याटजीपीटीको जवाफको निष्पक्षता प्रभावित नहुने स्पष्ट पारेको छ । प्रयोगकर्ताले चाहेमा आफ्नो कुराकानीका आधारमा देखाइने विज्ञापनलाई बन्द गर्न सक्ने सुविधा पनि दिने उल्लेख गरेको छ ।

ओपनएआईले स्वास्थ्य मानसिक स्वास्थ्य र राजनीति जस्ता संवेदनशील विषयका कुराकानीमा विज्ञापन नदेखाउने र प्रयोगकर्ताको निजी डेटा विज्ञापनदातालाई नबेच्ने प्रतिबद्धता जनाएको छ । साथै १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई पनि विज्ञापन देखाइने छैन ।

एआई च्याटबटमार्फत सामान बेच्ने र विज्ञापन गर्ने प्रतिस्पर्धामा ओपनएआई एक्लो छैन । गत डिसेम्बरदेखि मेटाले पनि आफ्नो एआई च्याटबटमार्फत विज्ञापन देखाउन सुरु गरिसकेको छ ।

यद्यपि, च्याटबटमा विज्ञापन राख्ने विषय केही विवादास्पद पनि बन्न सक्छ । प्रयोगकर्ताले च्याटजीपीटीसँग अत्यन्तै व्यक्तिगत कुराकानी गर्ने भएकाले गोपनीयताको प्रश्न उठ्न सक्ने चिन्ता छ । यसअघि च्याटजीपीटीले हानिकारक सल्लाह दिएका कारण मुद्दा खेपिरहेको सन्दर्भमा विज्ञापन मार्फत सिफारिस गरिने उत्पादन सुरक्षित हुनुपर्ने अर्को चुनौती कम्पनीसामु छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८२ ९:५१