close

अब एनबैंक एपबाटै देश-विदेशको फ्लाइट र बस टिकट बुकिङ गर्न सकिने, ट्रिप टर्बोसँग साझेदारी

टेकपाना टेकपाना

माघ ६, २०८२ १८:४९

अब एनबैंक एपबाटै देश-विदेशको फ्लाइट र बस टिकट बुकिङ गर्न सकिने, ट्रिप टर्बोसँग साझेदारी

काठमाडाै । ट्राभल मार्केटप्लेस 'ट्रिप टर्बो' र नबिल बैंक लिमिटेडबिच एनबैंक मोबाइल एपमार्फत ट्राभल बुकिङ सेवा उपलब्ध गराउने सम्बन्धमा साझेदारी भएको छ । यस सम्झौतासँगै नबिल बैंकका ग्राहकले अब बैंककै एपबाट सहजै यात्रा सम्बन्धी सेवाहरू लिन सक्ने भएका छन् ।

साझेदारी पत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ एण्ड मार्केटिङ लिड विमलराज पौडेलले हस्ताक्षर गरे ।

यस सहकार्यपछि एनबैंक प्रयोगकर्ताले एपभित्रैबाट बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र ट्रिप टर्बोद्वारा सञ्चालित विभिन्न पर्यटकीय गतिविधि बुकिङ गर्न सक्नेछन् । बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरिएकाले ग्राहकरूले छुट्टै एप प्रयोग गर्नुपर्ने झन्झट हटेको बैंकले जनाएको छ ।

ग्राहकले एनबैंक एपको होम पेजमा गई ‘मोर’ (More) भित्र रहेको मार्केटप्लेस (Marketplace) सेक्सनमा ट्रिप टर्बो छनोट गरेर आफूलाई आवश्यक यात्रा सेवा खरिद गर्न र एनबैंकमार्फत नै सुरक्षित भुक्तानी गर्न सक्नेछन् ।

सम्झौताबारे बोल्दै ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले भने, “हाम्रो लक्ष्य प्रविधिको प्रयोगमार्फत यात्रालाई सरल बनाउनु हो । नबिल बैंकसँगको साझेदारीले ग्राहकहरूलाई एनबैंक एपबाटै सुरक्षित र सहज रूपमा यात्रा योजना बनाउन र बुकिङ गर्न मद्दत पुग्नेछ ।”

त्यस्तै, नबिल बैंकका डीसीईओ आदर्श बजगाईंले एनबैंकलाई ग्राहकको दैनिक आवश्यकता पूरा गर्ने एकल प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । “एनबैंकको मार्केटप्लेसमा अर्को एउटा महत्त्वपूर्ण साझेदार थप्न पाउँदा हामी खुसी छौँ । यसले हाम्रा ग्राहकहरूलाई यात्राको योजना बनाउन थप सहजता प्रदान गर्नेमा हामी विश्वस्त छौँ,” उनले भने ।

सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले २०२४ सेप्टेम्बरदेखि आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको थियो । हालसम्म यसको एप एन्ड्रोइड र आईओएस गरी तीन लाख ७० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ । नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटीएम नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १८:४९