close

छुट्टै ‘विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय’ बनाउन मुख्यसचिवले अल्झाएपछि रिस उठ्यो र म्याग्दी तिर दगुरेँ’- पुन

टेकपाना टेकपाना

माघ ७, २०८२ ९:१६

छुट्टै ‘विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय’ बनाउन मुख्यसचिवले अल्झाएपछि रिस उठ्यो र म्याग्दी तिर दगुरेँ’- पुन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मन्त्री महावीर पुनले आफू चुनावी मैदानमा उत्रिनुको कारण खुलाएका छन्  । बुधबार फेसबुकमा एक पोस्ट राख्दै पुनले आफूले ल्याउन खोजेको तीन ओटा अध्यादेश र चार ओटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार नगरेकाले चुनाव लड्नुपरेको उल्लेख गरे ।

“शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको तीन ओटा अध्यादेश र चार वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिइनँ,” उनले लेखेका छन् ।

विशेषगरी, विज्ञान र प्रविधिको विकासका लागि एक शक्तिशाली र छुट्टै ‘विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय’ बनाउने आफ्नो योजनामा मुख्य सचिव सुमनराज अर्यालले अवरोध सिर्जना गरेको पुनको आरोप छ । उनले लेखेका छन्, “एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झाए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरें ।”

प्रशासकीय नेतृत्वबाट आफ्नो सुधारको योजनामा असहयोग भएपछि रुष्ट बनेका पुन आफ्नो निर्वाचन क्षेत्र म्याग्दीको दुर्गम भेगमा चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । बुधबार बिहानै उनले आफू चुनाव प्रचारका लागि मुना गाउँतिर उकालो लागेको जानकारी दिए ।

नेपालमा आविष्कार र प्रविधिको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले मन्त्री पदमा रहँदा नीतिगत सुधारको प्रयास गरेका थिए । तर, कर्मचारीतन्त्रको असहयोगका कारण आफ्नो योजना सफल हुन नसकेपछि प्रत्यक्ष राजनीति र संसदीय बाटो रोजेको उनले संकेत गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८२ ९:१६