close

हलमा रिलिज भएको ९ महिनामै युट्युबमा आउँदै ‘ऊनको स्वीटर’

टेकपाना टेकपाना

माघ ७, २०८२ १७:१६

हलमा रिलिज भएको ९ महिनामै युट्युबमा आउँदै ‘ऊनको स्वीटर’

 

काठमाडौँ । गत वैशाखमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमा सार्वजनिक हुने भएको छ । चलचित्रका लेखक तथा निर्देशक नवीन चौहानले बिहीबारदेखि ‘आर्टमान्डु’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागिएको जानकारी दिएका हुन् ।

गत २६ वैशाख देखि नेपालभरका सिनेमा हलमा प्रदर्शन भएको यो चलचित्रले हलमा ९ महिनाको यात्रा पूरा गरेसँगै डिजिटल प्लेटफर्ममा आउन लागेको हो । नेपालका साथै दक्षिण कोरिया र जापानमा समेत सकारात्मक प्रतिक्रिया बटुलेको यो फिल्मले भारतमा पनि उल्लेख्य सफलता हासिल गरेको थियो । केही प्राविधिक जटिलताका कारण भारतमा ढिलो गरी रिलिज भए पनि त्यहाँ गौरवमय ५१ दिन मनाउन सफल भएको निर्देशक चौहानले बताए ।

भारतका विभिन्न सहर र विदेशमा रहेका नेपाली दर्शकको व्यापक मागका बाबजुद सबै ठाउँमा फिल्म पुर्‍याउन सम्भव नभएपछि युट्युबमा सार्वजनिक गर्ने निर्णय गरिएको निर्माण पक्षको भनाइ छ ।

निर्देशक नवीन चौहानले दर्शकको चाहनालाई सम्मान गर्दै यस्तो निर्णय लिइएको बताए । उनले भने, “भारतका विविध सहरबाट हाम्रो फिल्मको माग भयो, तर नेपाली भाषाको फिल्म हुनुको आफ्नै जटिलताका कारण हामी हरेक सहरमा पुग्न सकेनौँ । अमेरिका, अस्ट्रेलिया र युके लगायतका देशबाट फिल्म हेर्न छुटाउनु भएका दर्शकको धोकोलाई सर्वसुलभ बनाउन हामीले युट्युबमा रिलिज गर्ने ‘वाइज डिसिजन’ लिएका हौँ ।”

‘डम्बर’ र ‘इच्छा’ बीचको प्रेम सम्बन्धको कथा बुनिएको यस चलचित्रमा समावेश ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’, ‘फूल’ र ‘जून हेर्नु तिमी’ जस्ता गीतले सामाजिक सञ्जालमा चर्चा पाएका थिए ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १७:१६