उधारो ३५ करोड नतिर्दा एनसेलले ब्यान्डविथ दिन रोकेपछि अन्ततः वर्ल्डलिङ्कको शरणमा क्लासिक टेक
माघ ८, २०८२ १५:३४
काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले अन्तर्राष्ट्रिय ब्यान्डविथ दिन छोडेपछि रातारात क्लासिक टेक वर्ल्डलिंकको शरणमा पुगेको छ । बुधबार राति एनसेलले ब्यान्डविथ लिङ्क काटेपछि क्लासिक टेक प्रतिस्पर्धी कम्पनी वर्ल्डलिङ्कसँग जोडिएको हो ।
इन्टरनेट एक्स्चेन्ज तथा डेटा ट्राफिकको नेभिगेसन तथा राउटिङ सम्बन्धी बोर्डर गेटवे प्रोटोकल (बीजीपी) मा देखिएको विवरण अनुसार क्लासिक टेकले वर्ल्डलिङ्कको अन्तर्राष्ट्रिय ट्रान्जिट एएसएन प्रयोग गरेको छ । सरकारी बक्यौता नतिर्दा नेटवर्क सेवाको लाइसेन्स नवीकरण गर्न नसकेपछि क्लासिक टेक आफैँ विदेशबाट ब्यान्डविथ खरिद गर्न नसक्ने अवस्थामा छ ।

यस्तोमा उसले स्थानीय स्तरमै अन्य नेटवर्क सेवा प्रदायक कम्पनीको भर पर्नुपर्ने बाध्यता छ । तत्काल कम्पनीलाई ब्यान्डविथ उपलब्ध गराउन सक्ने क्षमता एनसेल बाहेक वर्ल्डलिङ्कसँग मात्र रहेको छ । क्लासिक टेकले आफ्नो इन्टरनेट सेवाको निरन्तरताका लागि वर्ल्डलिङ्कबाट ब्यान्डविथ लिन थाले पनि दुई कम्पनीबिचको सम्झौता विवरण भने बाहिर आएको छैन । यद्यपि क्लासिक टेकलाई ब्यान्डविथ विक्री गरिएको विषय भने वर्ल्डलिङ्क सम्बद्ध स्रोतले पुष्टि गरेको छ ।
उधारो थुप्रिँदै गएपछि एनसेलले एक महिनाअघि मात्र क्लासिक टेकसँगको ब्यान्डविथ खरिद विक्री सम्झौता तोड्ने निर्णय गरेको थियो ।
दुई कम्पनीबिच भएको मास्टर सर्भिस एग्रिमेन्ट १२ चैत २०८० देखि कार्यान्वयनमा आएको थियो । ब्यान्डविथ खरिद बिक्रीका लागि भएको सोही एग्रिमेन्ट तोड्दै एनसेलले ब्यान्डविथ दिन छोडेपछि क्लासिक टेक वर्ल्डलिङ्क कहाँ गएको हो ।
५० करोड बढी सरकारी बक्यौता नतिरेको क्लासिक टेकले अनुमतिपत्र नवीकरण नगराई अवैध रूपमा इन्टरनेट सेवा दिँदे आएको छ । सम्बद्ध स्रोतका अनुसार हालसम्म क्लासिक टेकले एनसेललाई ब्यान्डविथ बापत ३५ करोड रुपैयाँभन्दा बढी बुझाउन बाँकी छ ।
जब कि कम्पनीले कुमारी बैङ्कबाट २ देखि ३ करोड रुपैयाँ मात्रै बैङ्क ग्यारेन्टी राखेको छ । बैङ्क ग्यारेन्टी सिज गर्दा समेत एनसेलको कम्तीमा ३२ करोड रुपैयाँभन्दा बढी उधारो नउठ्ने जोखिम छ ।
एनसेलबाट क्लासिक टेकले ६२ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ लिँदै आएको थियो । कम्पनीले पैसा भुक्तान नगरेपछि एनसेलको ठुलो रकम उधारोमा फसेको हो ।
सरकारी बक्यौता तिर्न नसक्दा आफ्नो १६ चैत २०८० मा नेटवर्क सेवा प्रदायकको लाइसेन्स गुमाएको क्लासिक टेकले करिब दुई वर्षदेखि एनसेलबाट ब्यान्डविथ लिएर इन्टरनेट सेवा दिँदै आएको थियो । एनसेलले ब्यान्डविथ आपूर्ति गरेपछि सोही बराबर (करिब ६२ जीबीपीएस देखि ७० जीबीपीएससम्म) को ब्यान्डविथ क्लासिक टेकले वर्ल्डलिङ्कबाट लिन थालेको बताइएको छ ।
एनसेल र सरकारपछि अब क्लासिक टेकका ग्राहक समेत फस्ने जोखिम रहेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन् । तर नियामक भने यस विषयमा अकर्मण्यताको स्थितिमा छ ।
पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १६:१३
