अल्गोरिदममा अलमलिएका मान्छे, कुहिराका काग भेला गरेर चुनाव जित्छु भनेर केहीथरी कुदेका छन्ः ओली
माघ ९, २०८२ १५:३२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल र अल्गोरिदमको भरमा राजनीतिमा आएका नयाँ शक्तिका समर्थकलाई कुहिराको कागको संज्ञा दिएका छन् । बिहीबार कान्तिपुर टिभीको युट्युब च्यानलमा प्रसारित अन्तर्वार्तामा उनले प्रविधि र सामाजिक सञ्जालको प्रयोगमा आफूहरू पनि कमजोर नरहेको जिकिर गरे ।
अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले रवि लामिछाने र बालेन्द्र शाह (बालेन) जस्ता नयाँ उम्मेदवारहरू प्रति लक्षित गर्दै पार्टीको सङ्गठन बिना केवल अल्गोरिदमको भरमा चुनाव जित्ने भ्रममा नपर्न चेतावनी दिए । “पार्टी-सार्टी केही नभएको, अल्गोरिदमका भरमा अलमलिएका मान्छेहरू, कुहिराका कागहरू भेला गरेर चुनाव जित्छु भनेर केही थरी कुदेका छन्,” उनले भने ।
नयाँ दलहरूले डिजिटल प्लेटफर्ममा आक्रामक प्रचार गरिरहँदा एमाले केही पछि परेको हो कि भन्ने प्रश्नमा ओलीले त्यसलाई स्वीकार गरे । “अलिकति पछि पर्या हो, तर यसो होइन कि डिजिटल संसारबाट एमाले अनभिज्ञ छ,” उनले भनेका छन् ।
उनले एमालेसँग अब पैसा खर्च गरेर ‘फेक बुस्ट’ गर्ने नभई आफ्नै जनशक्ति प्रयोग गरेर डिजिटल उपस्थितिलाई बलियो बनाउने योजना रहेको सुनाए । ओलीले दाबी गर्दै भने, “हामीसँग आईटी इन्जिनियरहरू, डिजिटल इन्जिनियरहरू र एआई र कमसेकम कन्टेन्ट क्रिएटरहरूदेखि लिएर सबै प्रकारका म्यानपावर छन् । ल्यापटप र मोबाइल हामीसँग पनि छन् ।"
भदौ २३ को घटना र गोली चलाउने आदेशको प्रसँगमा उनले प्रतिक्रिया दिए, “बरु राम्रो सजिलो के हुन्छ भने एआई प्रयोग गरेर एउटा मेसिनगन मैले बोकेर भटटटट गोली चलाएको देखाइदिए, 'अँ यही मान्छेले मारेको हो' भन्दा खेरि त गजब हुन्थ्यो होला निऽऽ ।”
देशभर फोरजी विस्तार र इन्टरनेटको पहुँच पुर्याएको दाबी गर्दै उनले एमाले पुरानो पार्टी भए पनि प्रविधि र डेटामा विश्वास गर्ने पार्टी रहेको बताए ।
“हामीलाई चाहिँ रिसर्च भनेको कुन चराको नाम हो भन्ने थाहा नभएको हो कि, अनि हामी चाहिँ डेटामा विश्वास नगर्ने आदिम जमानाका मान्छे हौँ कि ? के सोच्नु भएको छ उहाँहरूले ?” ओलीले प्रतिप्रश्न गरे
झापाको दमकमा निर्मित भ्यु टावरको आलोचनाबारे जवाफ दिँदै ओलीले त्यसलाई आईटी हबको रूपमा प्रयोग गर्न सकिने बताए । यूएईको बुर्ज खलिफा, ब्याङ्कको बिजिनेस कम्प्लेक्स, अमेरिकाको ट्विन टावरसँग उनले यसलाई तुलना गरे ।
“तपाईँले बिजिनेस सेन्टर नबनाईकन, कारोबारको सिर्जना नगरीकन पैसा नकमाईकन कहाँबाट लगेर कम्बल बाँड्नुहुन्छ?” आलोचकहरूलाई प्रश्न गर्दै उनले भने, “त्यो टावरको दुई वटा तलामा मात्रै १०० जना युवाहरूलाई आईटीको हब बनाउन दिनुभयो भने, तिनीहरूले इन्डाइरेक्टली २ हजार जनालाई जब दिन्छन् ।”
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १५:३२
