फाइल तस्बिर
काठमाडौँ । सामाजिक सञ्जालमार्फत तथ्यहीन र अपमानजनक अभिव्यक्ति दिएको आरोपमा युवराज पौडेल ‘सफल’ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार उनलाई तिलगङ्गाबाट नियन्त्रणमा लिएको हो ।
पौडेलले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महान्यायाधिवक्ता र सो कार्यालयलाई लक्षित गरी अपशब्द प्रयोग गर्ने, गालीगलौज गर्ने र नकारात्मक भ्रम फैलाउने काम गरेको आरोप लगाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले टेकपानासँग भने, “महान्यायाधिवक्ताको कार्यालयबाट ८ माघमा प्राप्त पत्रका आधारमा अनुसन्धान गर्दा युवराज पाैडेलले सामाजिक सञ्जालमा तथ्यहीन कुराहरूको भिडिओ बनाएर पोस्ट गरेको देखियो,” एसपी भट्टराईले भने, “यही विषयमा अनुसन्धान गर्न जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर विस्तृत अनुसन्धान थालेका छौँ ।”
रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनको विषयमा पाैडेलले महान्यायाधिवक्ता सविता भण्डारी र महान्यायाधिवक्ता कार्यालयलाई लक्षित गरी विभिन्न पोस्ट गरेका थिए । साथै महान्यायाधिवक्ताको निर्णयमा चलखेल भएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने अख्तियारमा उजुरी हालेका थिए ।
पाैडेलले तथ्यहीन, अपमानजनक, गालीगलौजपूर्ण र भ्रम फैलाउने नियतले सामाजिक सञ्जालमा बारम्बार पोस्ट गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्र लेखेको थियो । यसै आधारमा नियन्त्रणमा लिई अनुसन्धान थालिएको भट्टराईले बताए ।
पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १८:३४
