close

फ्याक्टचेकः नझुक्किनुस् ! महेश बस्नेतले दाबी गरे जस्तो प्रधानन्याधीशले ‘अदालत जलाउनमा १००% बालेनको हात छ’ भनेका छैनन्

हिक्मत आचार्य हिक्मत आचार्य

माघ १४, २०८२ २२:५

फ्याक्टचेकः नझुक्किनुस् ! महेश बस्नेतले दाबी गरे जस्तो प्रधानन्याधीशले ‘अदालत जलाउनमा १००% बालेनको हात छ’ भनेका छैनन्

काठमाडौँ । बुधबारदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ‘अदालत जलाउनुमा शतप्रतिशत बालेनको हात छ’ भनी अभिव्यक्ति दिएको दाबीसहित चर्चा भइरहेको छ । प्रधानन्यायाधीशले नै यस्तो खुलासा गरेको भन्दै बालेन (बालेन्द्र शाह)को नाम जोडिएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक देखिएको छ । प्रधानन्यायाधीश राउतले आफ्नो सम्बोधनमा कतै पनि बालेनको नाम नलिएको र उनको प्रसङगलाई तोडमरोड गरी भ्रम फैलाइएको हो ।

दाबी

बुधबार, २८ जनवरी २०२६ बिहान ७ः०८ मिनेटमा ‘Ganesh Regmi’ नामको फेसबुक अकाउन्टबाट एउटा पोस्ट अपलोड भयो । पोस्टमा जेन-जी विद्रोहका क्रममा जलेको सर्वोच्चको फोटो, अगाडिपट्टि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको फोटो राखिएको छ । फोटोमा लेखिएको छ, “प्राधनन्यायाधीसको खुलासाः अदालत जलेको होइन, नियोजित रूपमा जनाइयो , यसमा १०० % बालेनको हात छ ।” उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “खानेपानीको बोतलमा मादक पदार्थ मिसाएर जेनजी युवाहरूलाई फ्री मा बितरण गरि सिंहदरबार सर्बोच्च लगायतका महत्त्वपूर्ण सम्पदा जलाउने काम लुसिफर बालेन कै हो भन्ने अब घाम झै छर्लङ्ग भैसकेको छ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ७६०० बढी रियाक्सन र १६०० बढी कमेन्ट आएका छन् । त्यस्तै यो पोस्ट १२०० भन्दा बढी पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँचकै क्रममा नेकपा (एमाले)का केन्द्रीय सचिव एवं २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले पनि पोस्ट राखेको फेला पार्‍यो । बस्नेतले बुधबार बेलुकी ७ः५५ बजे ‘Ganesh Regmi’ ले नै राखेको फोटो र क्याप्सन कपी गर्दै पोस्ट गरेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४८०० बढी रियाक्सन, १९०० बढी कमेन्ट आएका छन् भने १२३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

हामीले उक्त पोस्ट गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौं । त्यस क्रममा उक्त फोटो २३ जनवरी २०२६ राति ९ः५७ बजे ‘Janata news’ बाट पोस्ट भएको फेला पार्‍यौं । तर, महेश बस्नेत र गणेश रेग्मीले राखेको फोटोमा लोगो हटाई तलपट्टि बालेनको नाम जोडेको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । यसमा उल्लेख 'बालेन' नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को हो । 

जनता न्युजको पोस्टमा कतै पनि बालेनको नाम उल्लेख छैन । उक्त पेजले शेयर गरेको क्याप्सनमा भनिएको छ, “सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक प्रक्रियामा कुनै पनि गलत प्रवृत्ति सहन नहुने बताएका छन्। बागलुङ बजारमा उच्च अदालत पोखरा बागलुङ इजलासको नवनिर्मित भवन उद्घाटन गर्दै उनले कानून व्यवसायी र न्यायाधीशबीचको सम्बन्ध पूर्णतया व्यवसायिक हुनुपर्ने जोड दिए।

उनले भने, “हामीले कठोर तरिकाले आत्म–समीक्षा थालेका छौँ। हाम्रो व्यवसायिक सम्बन्धलाई धुमिल पार्ने कुनै पनि ‘रङ एलिमेन्ट’ टरोल्ने छैन।”

प्रधानन्यायाधीश राउतले भदौ २३–२४ को आन्दोलनमा अदालत जलाइएको भए पनि नियोजित ढंगले जलाइएको बताए। उनले न्यायिक मिसिल संकलनको काममा कानून व्यवसायीको सहयोग लिइरहेको र अहिलेसम्म १४ हजार मिसिल प्राप्त भइसकेको जानकारी दिए।

उनका अनुसार आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा क्षति पुगेको थियो। राउतले अदालतमा गम्भीर समीक्षा आवश्यक भएको र अब अदालत नियमित काममा फर्किसकेको बताए।”

हामीले प्रकाशमान सिंह राउतले यस्तो अभिव्यक्ति दिएका हुन् कि होइनन् भन्ने जाँच्न गुगल एड्भान्स सर्चमा ‘प्रधानन्यायाधीश’ कीवर्ड सर्च गर्‍यौं । त्यस क्रममा ९ माघ २०८२ मा नागरिक दैनिकको वेबसाइटमा अदालत जलेको होइन जलाइएको हो, यो सबैलाई थाहा छ: प्रधानन्यायाधीश शीर्षकको समाचार फेला पार्‍यौं । उक्त समाचारमा प्रधानन्यायाधीश राउतले ‘बागलुङ बजारमा उच्च अदालत पोखरा बागलुङ इजलासको नवनिर्मित भवनको उद्घाटन गर्ने’ क्रममा ‘जेन-जी विद्रोहका क्रममा अदालत जलेको नभई जलाइएको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । तर, उक्त समाचारमा कतै पनि प्रधानन्यायाधीश राउतले बालेनको नाम लिएको उल्लेख छैन । हामीले बालेन र प्रधानन्यायाधीश जोडिएको विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार खोज्यौं । तर, कुनै पनि व्यावसायिक सञ्चारमाध्यमले प्रधानन्यायाधीश राउत र बालेनलाई जोडेर 'अदालत जलेको' विषमा दिएको अभिव्यक्तिबारे समाचार फेला परेन ।

हामीले जनता न्युज र महेश बस्नेत लगायतले राखेको फोटो तुलना गरेर हेर्‍यौं । यसबाट के देखियो भने गणेश रेग्मीले राखेको पोस्टमा जनता न्युजको लोगो गायब छ । र, तलपट्टि ‘यसमा 100% बालेनको हात छ ।”’ भन्ने शब्द थपिएको पुष्टि हुन्छ ।

दाबी

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले "अदालत जलेको होइन, नियोजित रूपमा जलाइएको हो र यसमा १०० प्रतिशत बालेनको हात छ" भनी खुलासा गरे । साथै, बालेनले जेन-जी युवाहरूलाई मादक पदार्थ मिसाइएको पानी खुवाएर सरकारी सम्पदा जलाउन लगाए ।

दाबीकर्ता

'Ganesh Regmi' नामका फेसबुक प्रयोगकर्ता र नेकपा (एमाले)का सचिव एवं प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेत ।

तथ्य 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बागलुङमा उच्च अदालतको भवन उद्घाटन गर्दा "अदालत जलेको होइन, जलाइएको हो" भन्ने अभिव्यक्ति दिएका थिए, तर उनले बालेन शाहको नाम कतै पनि लिएका थिएनन् । भ्रामक पोस्टमा प्रयोग गरिएको फोटो 'जनता न्युज'को आधिकारिक पोस्टबाट साभार गरिएको हो । 'जनता न्युज' को सक्कली फोटोमा बालेनको नाम कतै उल्लेख छैन । भ्रामक पोस्ट बनाउने व्यक्तिले उक्त फोटोबाट मिडियाको लोगो हटाएर "यसमा १००% बालेनको हात छ" भन्ने वाक्य आफैँ एडिट गरेको पाइएको छ । त्यस्तै विभिन्न सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारमा पनि प्रधानन्यायाधीशले कुनै व्यक्ति विशेषको नाम नतोकी अदालतमा क्षति पुर्‍याइएको विषयमा मात्र बोलेको पुष्टि हुन्छ ।

निष्कर्ष

प्रधानन्यायाधीशले प्रकाशमान सिंह राउतले अदालत जल्नुका पछाडि १०० प्रतिशत बालेनकै हात छ भन्ने अभिव्यक्ति दिए भन्दै भाइरल भएको पोस्ट भ्रामक हो । 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८२ २२:३१