एआईका गडफादर भन्छन्- अहिलेको एआई प्रणाली त्रुटिपूर्ण छ, मानवीय स्तरको बुद्धि पाउन सक्दैन
माघ १६, २०८२ १७:४५
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका एक ‘गडफादर’ मानिने प्रोफेसर यान लेकुनले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) को अवधारणालाई एआई क्षेत्रको सबैभन्दा ‘ओभररेटेड’ विषय भएको बताएका छन् । स्विट्जरल्यान्डको डाभोसमा हालै भएको एआई समिटमा बोल्दै मेटाका पूर्व प्रमुख एआई वैज्ञानिक लेकुनले हालका एआई प्रणालीहरूमा गम्भीर प्राविधिक त्रुटि रहेको र यसले मानवीय स्तरको बौद्धिकता प्राप्त गर्न नसक्ने दाबी गरे ।
च्याटजीपीटीजस्ता ठुला ल्याङ्ग्वेज मोडेलहरूको सीमाबारे चर्चा गर्दै लेकुनले भने, “यी प्रणालीलाई ठुलो वा राम्रो बनाउँदैमा मानवीय स्तरको बुद्धि प्राप्त हुँदैन । अहिलेको कार्यशैलीमै आमूल परिवर्तन आवश्यक छ ।”
उनले विशेषगरी एजेन्टिक एआई अर्थात् आफैँ निर्णय गर्ने एआई असिस्टेन्टहरूको विकासप्रति चिन्ता व्यक्त गरेका छन् । “कुनै पनि प्रणालीले आफ्नो कार्यको परिणाम के हुन्छ भन्ने पूर्वानुमान गर्न सक्दैन भने उसले कसरी योजना बनाउन सक्छ ?” उनले प्रश्न गरे । उनले १७ वर्षको किशोरले १० घण्टाको अभ्यासमा गाडी चलाउन सिक्ने तर लाखौँ घण्टाको तथ्याङ्क दिँदा पनि एआईले पूर्ण रूपमा गाडी चलाउन नसक्नुले वर्तमान एआई संरचना कमजोर रहेको पुष्टि गर्ने धारणा राखे ।
लेकुनले एआईको प्राविधिक पक्षभन्दा पनि यसको नियन्त्रण केही सीमित कम्पनीहरूको हातमा हुनुलाई ठुलो खतराका रूपमा औंल्याएका छन् । अमेरिकाको सिलिकन भ्याली र चीनका मुठ्ठीभर कम्पनीहरूले एआईमा एकाधिकार जमाउँदा लोकतन्त्र, सांस्कृतिक र भाषिक विविधतामा गम्भीर संकट आउने उनले चेतावनी दिए ।
“हाम्रो डिजिटल सूचनाको मुहान ती सीमित कम्पनीहरूले नियन्त्रण गर्नेछन्, जुन लोकतन्त्रका लागि घातक हुन सक्छ,” उनले भने । यसको समाधानका लागि उनले ओपन सोर्स एआईको आवश्यकतामा जोड दिएका छन् ।
लेकुनले पछिल्लो समय एआई अनुसन्धानमा पारदर्शिता घट्दै गएकोमा असन्तुष्टि व्यक्त गरे । उनले ओपनएआई, एन्थ्रोपिकजस्ता कम्पनीहरू ‘कहिल्यै खुला नभएको’ बरु अत्यन्तै बन्द रहेको आरोप लगाए । उनले पहिले खुल्ला रहने गरेका गुगल र मेटाका अनुसन्धान केन्द्रहरू पनि पछिल्लो समय संकुचित हुँदै गएको उल्लेख गरे ।
यसैक्रममा उनले चीनको प्रशंसा गर्दै हाल विश्वमा सबैभन्दा उत्कृष्ट ओपन सोर्स मोडेलहरू चीनबाट आइरहेको र विश्वभरका अनुसन्धानकर्ताहरूले चिनियाँ मोडेल प्रयोग गरिरहेको जानकारी दिए । पश्चिमा देशहरूले अनुसन्धानलाई खुल्ला नगर्दा प्रगति सुस्त हुँदै गएको उनको विश्लेषण छ ।
भाषाको संसारभन्दा वास्तविक भौतिक संसार निकै जटिल रहेको उल्लेख गर्दै लेकुनले वर्तमान एआई केवल शब्दको पूर्वानुमानमा मात्र सीमित रहेको र यसले वास्तविक बुद्धिको सट्टा केवल नक्कल मात्र गरिरहेको टिप्पणी गरे ।
पछिल्लो अध्यावधिक: माघ १६, २०८२ १८:७
