close

गुगल ट्रान्सलेटलाई टक्कर दिन आयो ‘च्याटजीपीटी ट्रान्सलेट’, प्रसङ्ग र हाउभाउ पनि बुझ्ने

टेकपाना टेकपाना

माघ १७, २०८२ १४:१८

गुगल ट्रान्सलेटलाई टक्कर दिन आयो ‘च्याटजीपीटी ट्रान्सलेट’, प्रसङ्ग र हाउभाउ पनि बुझ्ने

काठमाडौँ । ओपनएआईले गुगल ट्रान्सलेटको वर्चस्वलाई चुनौती दिँदै आफ्नो नयाँ भाषा अनुवाद टुल ‘च्याटजीपीटी ट्रान्सलेट’ सार्वजनिक गरेको छ । यसअघि प्रयोगकर्ताहरूले च्याटजीपीटीको सामान्य च्याट बक्समार्फत नै अनुवाद गर्दै आएकोमा अब कम्पनीले यसका लागि छुट्टै र समर्पित प्लेटफर्म उपलब्ध गराएको हो ।

यो टुल सरल र शुद्ध अनुवाद चाहने प्रयोगकर्ताका लागि लक्षित भएको कम्पनीले जनाएको छ । यहाँ क्लिक गरेर वा chatgpt.com/translate मा गई यो सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ ।

ओपनएआईका अनुसार च्याटजीपीटी सुरुदेखि नै भाषाको अनुवादमा अब्बल रहँदै आएको छ । नयाँ ट्रान्सलेट टुलले ४० भन्दा बढी भाषामा शुद्धता, उचित लय र सांस्कृतिक संवेदनशीलताका साथ अनुवाद गर्न सक्ने दाबी कम्पनीको छ । हाल यसले ४७ ओटा भाषा गर्ने जनाइएको छ ।

यता गुगल ट्रान्सलेटले २०० बढी भाषाहरू सपोर्ट गर्ने भएकाले संख्याका आधारमा गुगल अझै अगाडि छ । हामीले परीक्षण गर्ने क्रममा पनि च्याटजीपीटीले नेपाली भाषालाई अङ्ग्रेजीमा भावानुवाद गर्ने क्रममा राम्ररी गरेको पायौं । 

गुगल ट्रान्सलेटको तुलनामा च्याटजीपीटी ट्रान्सलेटमा केही विशेष सुविधाहरू थपिएका छन् । यसमा ‘फ्लुएन्सी’ तत्व समावेश गरिएको छ । यसले गर्दा अनुवादित सामग्रीलाई थप स्वभाविक बनाउँछ ।

प्रयोगकर्ताले एआईको प्रयोग गरी अनुवाद गरिएको टेक्स्टलाई ‘औपचारिक’ बनाउन वा ‘बालबालिकाले बुझ्ने गरी सरल’ बनाउन पनि सक्छन् । यसले केवल शब्दको अनुवाद मात्र नगरी प्रसङ्ग र हाउभाउलाई समेत ध्यान दिने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८२ १४:५५