close

अनलाइन गेमको लतमा फसेका ३ नाबालिग दिदीबहिनीले ९ औँ तलाबाट हामफालेर लिए आफ्नै ज्यान

टेकपाना टेकपाना

माघ २१, २०८२ ११:३१

अनलाइन गेमको लतमा फसेका ३ नाबालिग दिदीबहिनीले ९ औँ तलाबाट हामफालेर लिए आफ्नै ज्यान

काठमाडौँ । उत्तर प्रदेशको गाजियाबादस्थित एउटा अग्लो आवासीय भवनको नवौँ तलाबाट ३ नाबालिग दिदीबहिनीले हाम फालेर सामूहिक आत्महत्या गरेको हृदयविदारक घटना सार्वजनिक भएको छ । बुधबार बिहान करिब २:१५ बजेतिर भएको यो घटनाले स्थानीय क्षेत्रमा ठुलो शोक र सन्त्रास फैलाएको छ ।

भारतीय सञ्चार माध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरे अनुसार १६ वर्षीया निशिका (कतै विशिका भनिएको), १४ वर्षीया प्राची र १२ वर्षीया पाखीले भारत सिटी सोसाइटीको टावर बी-१ को फ्ल्याट नम्बर ९०७ को बाल्कोनीबाट एकपछि अर्को गर्दै हाम फालेका थिए । उनीहरू विदेशी विनिमय व्यापारीका छोरीहरू रहेको बताइएको छ ।

घटनाको समयमा परिवारका अन्य सदस्यहरू सुतिरहेका थिए । किशोरीहरू सुटुक्क पूजा कोठामा छिरेर भित्रबाट ढोका थुनेका थिए । त्यसपछि उनीहरूले एउटा प्लास्टिकको कुर्सी बाल्कोनीको छेउमा राखेर त्यसैको सहायताले पालैपालो हाम फालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यस घटनाको मुख्य कारण एक घातक अनलाइन गेमको लत रहेको प्रहरीको दाबी छ । सहायक प्रहरी आयुक्त (एसीपी) अतुल कुमार सिंहका अनुसार ती किशोरीहरू 'कोरियन लभ' वा 'कोरियन राजकुमारी' सम्बन्धी कुनै टास्कमा आधारित अनलाइन गेमप्रति अत्यन्तै आसक्त थिए ।

एसीपी सिंहले भनेका छन्, "यी किशोरीहरू अनलाइन गेमको लतमा यसरी फसेका थिए कि उनीहरूले आफूलाई भारतीय नभई कोरियन ठान्न थालेका थिए । उनीहरूले आफूलाई कोरियन राजकुमारीको रूपमा चित्रण गर्थे ।"

प्रहरीले घटनास्थलबाट एउटा डायरी समेत फेला पारेको छ, जसमा किशोरीहरूले माफी माग्दै 'सरी' लेखेका छन् र रुँदै गरेको एउटा चित्र पनि बनाएका छन् । डायरीका नोटहरूले उनीहरूको जीवनशैली र खेलप्रतिको चरम पागलपनलाई स्पष्ट पार्ने प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका अनुसार कोभिड-१९ को महामारीपछि यी किशोरीहरूमा अनलाइन गेमको लत सुरु भएको थियो । उनीहरू स्कुल जान समेत छोडेका थिए र दिनभर मोबाइलमै झुन्डि रहन्थे । अभिभावकले पटक-पटक मोबाइल चलाउन रोक्ने र पढाइमा ध्यान दिन सम्झाउने गर्दा घरमा तनाव हुने गरेको थियो । मङ्गलबार राति पनि गेम खेल्ने विषयमा विवाद भएपछि उनीहरूले यस्तो कठोर कदम चालेको आशङ्का गरिएको छ ।

छिमेकीहरूका अनुसार ती तीनै दिदीबहिनीहरू सधैँ सँगै हुन्थे; उनीहरू सँगै खाने, सुत्ने र नुहाउनेसम्म पनि सँगै गर्ने गर्थे । उनीहरूबिचको यो प्रगाढ सम्बन्धले नै सामूहिक आत्महत्याको 'प्याक्ट' गर्न प्रेरित गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

तिला मोड थाना प्रहरीले किशोरीहरूको मोबाइल फोन फेला पारी फरेन्सिक परीक्षणका लागि पठाएको छ । प्रहरीले ती किशोरीहरू कुन विशेष गेममा आबद्ध थिए र कसैले उनीहरूलाई आत्महत्याका लागि उक्साएको थियो कि भन्ने पक्षबाट पनि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले यो घटनालाई आधुनिक डिजिटल युगमा बालबालिकामा बढ्दो गमिङ एडिक्सनको एउटा भयानक उदाहरणका रूपमा लिएको छ । अधिकारीहरूले अभिभावकहरूलाई आफ्ना बालबालिकाको डिजिटल गतिविधिमा विशेष निगरानी राख्न र उनीहरूको मानसिक अवस्थाप्रति सचेत रहन अपिल गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ ११:३४