close

फ्याक्टचेक: राजेश हमालले केपी ओलीकै अघि ‘देश कहाँ पुग्यो ?’ भनेर कटाक्ष गरेको दाबी भ्रामक

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ २१, २०८२ २१:२४

फ्याक्टचेक: राजेश हमालले केपी ओलीकै अघि ‘देश कहाँ पुग्यो ?’ भनेर कटाक्ष गरेको दाबी भ्रामक

काठमाडौँ । सामाजिक सञ्जालमा कलाकार राजेश हमालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा देशको अवस्थाबारे कटाक्ष गरेको दाबीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा हमालले नेपाल एसियाकै गरिब मुलुक रहेको र नेताहरूले देश राम्रो बनाउने झुटा आश्वासन दिएर 'बकवास' गरिरहेको बताएका छन् । टेकपानाको तथ्यजाँचबाट हमालले बोलेका कुराहरू सही भए तापनि उनले केपी शर्मा ओलीको अगाडि ती कुरा बोलेको भन्ने दाबी भने भ्रामक रहेको पुष्टि भएको छ । 

दाबी

३ फेब्रुअरी (मङ्गलबार) दिउँसो ३:०० बजे ‘Abiral Sanchar’ नामक फेसबुक पेजबाट एउटा भिडिओ सार्वजनिक गरियो । जसमा राजेश हमालले केपी शर्मा ओलीकै अगाडि ‘देश कहाँ पुग्यो’ भन्दै प्रश्न गरेको दाबी गरिएको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “ओलीकै अघि राजेश हमालको कटाक्ष: देश कहाँ पुग्यो ?” 

भिडिओमा यो सामग्री तयार पार्दासम्म एक लाख ४३ हजार बढी रियाक्सन आएको छ भने ३४ लाखभन्दा धेरै पटक हेरिएको छ । भिडिओमा हमाल कुनै कार्यक्रममा भाषण दिइरहेका देखिन्छन् । जहाँ उनले भनेका छन्, “नेपाली जनताको सामु घोक्रो बोलाएर चैँ नि अर्को १० वर्षमा साउथ एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउछौँ बनाउछौँ अर्को १५-२० वर्ष दिनु भयो भने युरोपियन स्ट्यान्डर्डमा लान्छौँ भनेर, त्यो भन्दा ठुलो बकवास के हुन सक्छ ? हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

 

अनुसन्धान 

'Nepal news collection page' नामको फेसबुक पेजमा ३ फेब्रुअरी दिउँसो ३:५९ मा सोही दाबी सहितको भिडिओ पोस्ट भएको छ । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “ओलीकै अघि राजेश हमालको कटा क्ष: देश कहाँ पुग्यो” हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 

 

२७ जनवरीमा ‘weseekforanswersnow7’ नामको युजर आईडीबाट टिकटकमा राजेश हमालको भिडिओ पोस्ट भएको छ । ४१ हजार बढी लाइक छ भने चार लाख २६ हजारभन्दा धेरै पटक हेरिएको छ । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ,  “Much needed speech by our own @Rajesh Hamal” हेर्नुहोस्  भिडिओ र स्क्रिनशट ।  

सामाजिक सञ्जालमा यो भिडिओ भाइरल भइरहेको पाइएपछि हामीले ‘abiral sanchar rajesh hamal’ ‘rajesh hamal’, ‘राजेश हमाल’ ‘राजेश हमाल देश’ लगायतका किवर्डसहित गुगल एड्भान्स सर्च गर्‍यौँ । यसरी खोज्दा अनलाइन न्युज पोर्टल  ‘केन्द्रविन्दु’ को ‘kendrabindu news’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको एक वर्ष पुरानो भिडिओ फेला पर्‍यो । उक्त भिडिओ भाइरल भिडि‌ओसँग समान रहेको देख्न सकिन्छ । 

२ अक्टोबर २०२४ मा सार्वजनिक उक्त भिडि‌ओको शीर्षकमा लेखिएको छ, “महानायक राजेश हमालले युवाहरुलाई दिए रोल मोडल बन्ने टिप्स, खोक्रो भाषण नेताहरुलाई छाडेनन्Rajesh Hamal” 

२० मिनेट ४७ सेकेन्ड लामो उक्त भिडिओमा हमालको पूर्ण भाषण सुन्न सकिन्छ । उनले नेपाल एसियाकै गरिब र कमजोर मुलुक भएको उल्लेख गर्दै नेताहरूले दिने काल्पनिक आश्वासनको आलोचना गरेका छन् । 

भिडिओमा उनले भनेका छन्, “एसियाको सबैभन्दा गरिब मुलुक नेपाल हो । सबैभन्दा कमजोर मुलुक नेपाल हो । र, अन्तराष्ट्रिय क्षेत्रमा तितो सत्य के हो भने हरेक राष्ट्रको आफ्नो एउटा हैसियत त हुन्छ हुन्छ । वर्ल्ड वाइडको दाजोमा कुरा छोडदिनुस यहिँ साउथ एसियाको दाँजोमा पनि हाम्रो परिस्थिति र स्थिति चै नि अर्कै छ ।  हाम्रो वास्तविकताहरू के छ त्यो हामीले मनन गर्नै पर्छ । विशेष गरिकन युवाहरूले त गर्नै पर्छ । अनि ६२/६३ मा जब अर्को टप्फुहरू आउनु भयो । मलाई लाग्यो, उहाँहरू आफैँले पनि भन्नुहुन्थ्यो, नयाँ नेपालको अवधारणा गर्नु हुन्थ्यो । अझ उहाँको एउटा शीर्ष नेताले त अर्को १० वर्षमा आज भन्दा २० वर्ष अगाडिको कुरा आजको १० वर्षमा हामीले साउथ एसियाको सबै भन्दा विकसित राष्ट्र त बनाउँछौँ बनाउँछौँ अर्को पाँच दश वर्ष थप्यो भने युरोपियन राष्ट्रको चै नि मापदण्डमा जान्छौँ भनेर । तर आज हेर्नुस् त परिस्थिति आफ्नो कन्ट्री चाहिँ नि लिस्ट डेभलप कन्ट्री भएको कुराहरू गर्नुहुन्छ । र यहाँ आएर नेपाली जनताको सामु घोक्रो बोलाएर चै नि ‘अर्को १० वर्षमा साउथ एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउँछौँ बनाउँछौँ अर्को १५-२० वर्ष दिनु भयो भने युरोपियन स्ट्यान्डर्डमा लान्छौँ भनेर त्यो भन्दा ठुलो बकवास के हुन सक्छ ?” 

भिडि‌ओको सुरुवातदेखि १ मिनेट १५ सेकेन्डसम्ममा यो क्लिप देख्न सकिन्छ । तर यो क्लिपमामा केपी शर्मा ओली देखिएका छैनन् । २० मिनेट लामो यो भिडि‌ओमा दर्शक दीर्घातर्फ समय समयमा क्यामेरा देखाइएको छ । तर कहिँपनि ओलीलाई देखाइएको छैन । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

 


यस्तै हामीले राजेश हमालको सोही दिनको अन्य भिडि‌‌ओहरू पनि खोज्ने प्रयास गर्‍यौँ । २ अक्टोबर २०२४ मा “महानायक राजेश हमाल भन्छन्, 'नेताहरु घाँटी तन्काई तन्काई बकवास गरिरहेका छन् ।'|| Actor Rajesh Hamal” शीर्षकमा ‘Phaktanglung Online tv’ नामको युट्युब च्यानलले राखेको भिडिओ फेला पर्‍यो । भिडिओको २:४५ सेकेन्डमा हमालले एसियाको सबैभन्दा गरिब मुलुक नेपाल रहेको बताएका छन् । उक्त भिडि‌ओमा पनि केपी शर्मा ओली देखिएका छैनन् । 

२०२४ को अक्टोबर पहिलो हप्तामा हमालको उक्त भिडिओ विभिन्न युट्युब च्यानलबाट सार्वजनिक भएको पाइएपछि हामीले त्यसबेला राजेश हमाल कुनै कार्यक्रममा उपस्थित भएको समाचार खोज्यौँ । खोजी गर्ने क्रममा ​ईकान्तिपुरले “राष्ट्रिय युवा संसद घोषणा” शीर्षकमा १५ असोज २०८१ अर्थात् (१ अक्टोबर २०२४) मा पोस्ट गरेको समाचार फेला पर्‍यो । युवा संसद घोषणा कार्यक्रममा पूर्व प्रधानन्यायधीश ‍सुशीला कार्की (हाल प्रधानमन्त्री) प्रमुख अतिथिका साथै राजेश हमाल, पत्रकार एवं साहित्यकार नवराज लम्साल, बैंकर मनोज ज्ञवाली, अभियन्ता निगम हुमागाईं लगायतले आफ्नो भनाइ राखेको समाचारमा उल्लेख छ । 

समाचारमा लेखिएको छ, “महानायक राजेश हमालले युवाले आफूमा भएको ऊर्जा कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थबारे पनि जानकार हुनुपर्ने बताए । ‘युवाले आफ्नो वास्तविकता के हो? चुनौती के हो? कस्तो किसिमको दलदलमा हामी फसेका छौं ? भन्ने मनन नगर्ने हो भने तपाईहरु कसरी दलदलबाट उम्कनुहुन्छ ? त्यसैले युवा पुस्ता सचेत बन्दै देशलाई हाक्ने सामथ्र्य राख्नुपर्छ ,’ हमालले भने ।” 

ईकान्तिपुरको समाचारमा प्रयोग गरिएको तस्बिर र भाइरल भिडिओको दृश्य दाँजेर हेर्दा दुवै एउटै कार्यक्रमको रहेको स्पष्ट देखियो ।

राजेश हमालले उक्त कार्यक्रममा बोलेको समय (१५ असोज २०८१ )मा प्रधानमन्त्री पदमा केपी शर्मा ओली थिए । यदि उनी कार्यक्रममा सहभागी भएको भए स्वाभाविक रूपमै प्रमुख अतिथि उनलाई राखिने थियो । तर प्रधानमन्त्रीको उपस्थितिबारे कार्यक्रमको समाचारमा कतै उल्लेख छैन । त्यसपछि हामीले सामाजिक सञ्जालमा भिडिओमा प्रयोग भएको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भिडिओ क्लिपको स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च र यान्डेक्समा सर्च गर्‍यौँ । तर ओलीको ठ्याक्कै सोही भिडिओ क्लिप भने फेला पार्न सकिएन ।

दाबी 

राजेश हमालले केपी शर्मा ओलीकै अघि ‘देश कहाँ पुग्यो’ भनेर कटाक्ष गरे । 

दाबीकर्ता 

फेसबुक पेजहरू ‘Abiral Sanchar’, ‘Nepal news collection page’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य 

भाइरल भइरहेको भिडिओमा कलाकार राजेश हमालले नेपाल एसियाकै गरिब मुलुक भएको र नेताहरूले पूरा हुन नसक्ने आश्वासन दिने गरेको भनी गरेको टिप्पणी सत्य हो । तर, उनले उक्त आलोचना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भने गरेका होइनन् । वास्तवमा, हमालको उक्त भाषण १ अक्टोबर २०२४ (१५ असोज २०८१) मा आयोजित ‘राष्ट्रिय युवा संसद् घोषणा’ कार्यक्रमको हो, जहाँ उनले युवाहरूलाई लक्षित गरी मन्तव्य दिएका थिए । सो कार्यक्रममा केपी शर्मा ओली उपस्थित थिएनन् । पछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ओलीको अर्कै भिडिओ क्लिप जोडेर भ्रम फैलाएका हुन् ।

निष्कर्ष 

भाइरल भइरहेको भिडिओमा महानायक राजेश हमालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेताहरूले देश बिगारेको भनी आलोचना गरेको भन्ने दाबी भ्रामक हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ २१:३०