सम्बन्ध तोडिएपछि अन्तरङ्ग तस्बिर/भिडिओमार्फत ब्ल्याकमेल गर्ने प्रवृत्ति बढ्दै
माघ २५, २०८२ १५:५९
काठमाडौँ । नेपालमा पछिल्लो समय साइबर अपराधका घटना बढिरहेका बेला साइबर ब्युरोले सामाजिक सञ्जाल प्रयोगकर्तालाई आफ्ना पूर्व वा वर्तमान पार्टनर (साथी) बाट हुने साइबर अपराधविरुद्ध सचेत रहन र उजुरी दिन विशेष आग्रह गरेको छ । सामाजिक बहिष्कार र प्रतिष्ठा गुम्ने डरले पीडितले उजुरी नगर्ने वा दिएका उजुरी पनि बीचमै फिर्ता लिने प्रवृत्ति बढेपछि ब्युरोले निर्धक्क भई कानुनी प्रक्रियामा आउन प्रयोगकर्तालाई प्रेरित गरेको हो ।
सम्बन्धमा रहँदाका अन्तरङ्ग तस्बिरमार्फत सम्बन्ध तोडिएपछि ब्ल्याकमेल गर्ने घटना बढेको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताएका छन् । कानुनी प्रक्रियामा जान सकिने भए पनि सामाजिक त्रास र दबाबले गर्दा पीडित घटना सार्वजनिक गर्न डराउने गरेको उनको भनाइ छ ।
“विविध कारणले साइबर अपराधमा पीडित भएका व्यक्तिले घटना रिपोर्ट गरिरहेका हुँदैनन् । रिपोर्ट गरे पनि अन्तिममा फिर्ता लिने अवस्था हुन्छ, जसले गर्दा उनीहरू पछि थप गम्भीर पीडामा पर्ने गरेका छन् । यस्ता घटनाबारे निर्धक्क उजुरी दिन प्रेरित गर्ने उद्देश्यले नै हामीले सजग गराएका हौँ ।”
विशेषगरी आफ्नै नजिकका व्यक्ति वा पार्टनरबाट हुने अनलाइन हिंसा र शोषणलाई भित्रभित्रै दबाउने प्रवृत्तिका विरुद्ध सचेतना जगाउन ब्युरोले यो अभियान थालेको हो । ब्युरोले व्यक्तिगत सम्बन्धमा हुने साइबर अपराध मात्र नभई अनलाइन ठगी, स्क्याम, अनधिकृत पहुँच (ह्याकिङ) र सफ्टवेयरको सोर्स कोड चोरी जस्ता प्राविधिक अपराधका बारेमा पनि सर्वसाधारणलाई सचेत गराएको छ । यस्ता कुनै पनि साइबर अपराधको सिकार भएमा पीडितहरूले अनलाइनमार्फत वा सिधै ब्युरोमा सम्पर्क गरी उजुरी दिन सक्ने व्यस्था मिलाइएको छ ।
साइबर अपराध सम्बन्धी उजुरी वा जानकारीका लागि प्रहरीले फोन नम्बर ९८५१२८६७७०, ०१-५३१९०४४ (एक्सटेन्सन १००) र ईमेल [email protected] उपलब्ध गराएको छ । पीडितको गोपनीयता कायम राख्दै दोषीमाथि कारबाही गरिने प्रतिबद्धता समेत ब्युरोले जनाएको छ ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १६:२०
