ग्यालेक्सी एस२६ सिरिजको स्पेक्स र मूल्य लिक, अल्ट्रामा १६ जीबी र्याम र २०० एमपी क्यामेरा
माघ २८, २०८२ ८:२३
काठमाडौँ । सामसङ ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक हुनुअघि नै यसका तीन ओटै मोडेलहरूको स्पेसिफिकेसन र मूल्य बाहिरिएको छ । आगामी २५ फेब्रुअरीमा औपचारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको यस सिरिजमा कम्पनीले हार्डवेयरभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित गरेको देखिएको छ ।
सिरिजमा एस२६, एस२६ प्लस र एस२६ अल्ट्रा गरी तीन मोडेल रहनेछन् । एस२६ र एस२६ प्लस मा सामसङको आफ्नै एक्सिनस २६०० चिपसेट प्रयोग गरिनेछ भने प्रिमियम मोडेल एस२६ अल्ट्रामा क्वालकमको शक्तिशाली स्न्यापड्रागन ८ एलिट जेन फाइभ प्रोसेसर रहनेछ ।
ग्यालेक्सी एस२६ र एस२६ प्लसमा १२ जीबी र्याम उपलब्ध हुनेछ । अल्ट्रामा भने १ टेराबाइट स्टोरेज भेरियन्ट छनोट गर्ने ग्राहकले १६ जीबी र्याम प्राप्त गर्नेछन् । एस२६ को न्यूनतम स्टोरेज २५६ जीबीबाट सुरु हुनेछ । डिस्प्लेको हकमा अघिल्लो एस२५ सिरिजकै आकार र रेजोलुसनलाई निरन्तरता दिइएको छ, जसमा सुरक्षाका लागि कोर्निङ गोरिल्ला आर्मर टु प्रयोग गरिएको छ ।
क्यामेराको कुरा गर्दा अल्ट्रा सबैभन्दा अगाडि देखिएको छ । यसमा एफ/१.४ एपर्चरसहितको २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको ५ गुणा अप्टिकल जुम दिने पेरिस्कोप टेलिफोटो र ५० मेगापिक्सेलकै अल्ट्रावाइड क्यामेरा छ ।
यस्तै, एस२६ र एस२६ प्लस मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको ३ गुणा जुम हुने टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहनेछ । सेल्फीका लागि तीनै मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा सेटअप गरिएको छ ।
ब्याट्री क्षमतामा ग्यालेक्सी एस२६ मा मात्र सामान्य सुधार गरिएको छ । यसमा अघिल्लो संस्करणभन्दा ३०० एमएएच थप गरी ४३०० एमएएचको ब्याट्री राखिएको छ । एस२६ प्लस मा ४९०० एमएएच र अल्ट्रामा ५००० एमएएचको ब्याट्री हुनेछ । अल्ट्रा मोडेलले ६० वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ । तर कुनै पनि मोडेलमा म्याग्नेटिक वायरलेस चार्जिङ (Qi2) को सुविधा नरहेको उल्लेख छ ।
सार्वजनिक विवरण अनुसार युरोपेली बजारमा ग्यालेक्सी एस२६ को सुरुवाती मूल्य ९९९ युरो (करिब एक लाख ७० हजार रुपैयाँ बढी) तोकिएको छ । त्यस्तै, एस२६ प्लसको १२६९ युरो र एस२६ अल्ट्राको मूल्य १४६९ युरोबाट सुरु हुने दाबी गरिएको छ ।
सामसङले यी फोनहरूमा एन्ड्रोइड १६ मा आधारित वन यूआई ८.५ सफ्टवेयर उपलब्ध गराउनेछ । कम्पनीले फेब्रुअरी २५ मा आयोजना गर्ने एक कार्यक्रममार्फत यो सिरिज विश्वव्यापी रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
पछिल्लो अध्यावधिक: माघ २८, २०८२ ९:०
