close

फ्याक्टचेकः दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको केपी ओलीको दाबी भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

माघ २८, २०८२ २०:११

फ्याक्टचेकः दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको केपी ओलीको दाबी भ्रामक

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहँदा दैलेखमा ग्यासको सम्भाव्यता अध्यन गरेको र त्यसबेला १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको दाबी गरेका छन् । गत बिहीबार फेसबुकमा पोस्ट गर्दै उनले आफू सरकारमा रहँदाको बखत भएका कामको चर्चा गर्दै यस्तो दाबी गरेका थिए । 

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट ‘दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको’ ओलीको दाबी भ्रामक देखिएको छ । वास्तवमा प्रारम्भिक अन्वेषणमा १ खर्ब १२ अर्ब घनमिटरसम्म मिथेन ग्यास भण्डारण हुनसक्ने अनुमान गरिएको थियो । तर, ओलीले त्यही प्रारम्भिक अन्वेषणको अनुमानलाई ‘पुष्टि’ भइसकेको उल्लेख गर्दै भ्रम फैलाएका हुन् । 

 

दाबी

बिहीबार, ५ फेब्रुअरी २०२६ मा बेलुका ६ः११ बजे नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट राखे । जसमा पोस्टरसँगै क्याप्सन राखिएको थियो । पोस्टमा लेखिएको छ, ‘दैलेखमा ग्यास उत्खनन् गर्‍यौँ, अब घर-घरमा पुर्‍याउँछौँ ।’ 

उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “...सरकारमा हुँदा हामीले दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गर्‍यौं र उत्खनन् गर्ने काम अघि बढायौं । हामी सरकारमा हुँदा नै गत वर्ष १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भयो । त्यसको नमूना परीक्षण सफल भएपछि हामीले गत मंसिरमै व्यवसायिक उत्पादनको योजना सहित काम अघि बढाएका थियौँ। तर भदौमा नै हामी सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न सकेन…

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ९५ हजार रियाक्सन, २५ हजार बढी कमेन्ट आएका छन् भने पोस्ट १६०० भन्दा बढी पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

 

अनुसन्धान

एमाले अध्यक्ष ओलीको ‘दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भयो’ भन्ने दाबीलाई तथ्यजाँच गर्न टेकपानाले ‘१ खर्ब १२ अर्ब घनमिटर ग्यास’, ‘१ खर्ब १२ अर्ब घनमिटर ग्यास दैलेख’ जस्ता कीवर्ड प्रयोग गरेर अनुसन्धान सुरु गर्‍यो । 

त्यस क्रममा सरकारी समाचार माध्यम गोरखापत्रको अनलाइन संस्करणमा ६ असार २०८२ मा ‘दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि’ शीर्षषको समाचार फेला पर्‍यो ।  ‘लक्ष्मी सापकोटा र यामराज विष्ट’ को बाइलाइनमा प्रकाशित उक्त समाचारमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो तथ्य पुष्टि गरेको उल्लेख छ । मन्त्री भण्डारीकै भनाइलाई उद्धृत गर्दै शीर्षकमा ‘११२ अर्ब घनमिटर प्राकृतिक ग्यास पुष्टि’ भनिए तापनि समाचारका अन्य विवरण भने प्रारम्भिक प्रतिवेदनकै आधारमा तयार पारिएको देखिन्छ । हेर्नुहोस् समाचार र स्क्रिनशट । 

त्यस्तै सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) मा ५ असार २०८२ मा ‘दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पुष्टि’ शीर्षको समाचार राखेको र सोही समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको पाइयो । गुगल एड्भान्स सर्चमा ‘मिथेन ग्यास दैलेख पुष्टि’ जस्ता कीवर्ड राख्दा ती समाचार राख्ने सञ्चार माध्यमको सूची देखिन्छ । 

केही सञ्चार माध्यमले दैलेखमा ‘१ अर्ब १२ करोड’ घनमिटर मिथेन ग्यास भेटिएको दाबी गरेका छन् भने कतिपयले ‘चाइना जिओलोजिकल सर्भे’ को प्रारम्भिक प्रतिवेदनलाई आधार मान्दै ‘१ खर्ब १२ अर्ब’ घनमिटर ग्यास रहेको उल्लेख गरेका छन् । यहाँ क्लिक गरेर ती समाचार माध्यममा प्रकाशित समाचारको सूची फेला पार्न सक्नुहुन्छ । 

यसरी समाचार माध्यमहरूबिच ग्यासको परिमाणलाई लिएर अर्ब र खर्बको अङ्कमै एकरूपता देखिएन । कान्तिपुरले ५ असार २०८२ मा प्रकाशन गरेको ‘दैलेखमा १ सय १२ अर्ब घनमिटर मिथेन ग्यास, कहिले होला उत्खनन ?’ शीर्षकको समाचारमा सुरुमा ‘१ अर्ब १२ करोड’ लेखिएको भए तापनि पछि त्यसलाई सच्याएर ‘१ खर्ब १२ अर्ब’ बनाइएको उल्लेख छ । हेर्नुहोस् समाचार

विभिन्न सञ्चार माध्यमले प्रारम्भिक प्रतिवेदनलाई उद्धृत गर्दै उक्त परिमाण पुष्टि भइसकेको उल्लेख गरेका छन् । तर केही दिन अघि पुनः सो विषयका समाचार केही सञ्चार माध्यमहरूमा आएका छन् । ५ फेब्रुअरी २०२६ मा नेपालन्युज अनलाइनले लेखेको छ, “प्रारम्भिक अध्ययनले जलजले क्षेत्रमा एक खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको अनुमान गरेकोमा अन्तिम प्रतिवेदनले त्यहाँ ८० अर्ब ७० करोड घनमिटर मात्रै ग्यास रहेको निष्कर्ष निकालेको हो ।” हेर्नुहोस्, समाचार ।  

यसैगरी बीबीसी नेपाली सेवाले १० फेब्रुअरी २०२६ को मितिमा सोही किसिमको समाचार लेखेको छ । जसमा भनिएको छ, “दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा मीथेन ग्यासको विशाल भण्डार रहेको यसअघि चीनको चाइना जिअलजिकल सर्भेले गरेको प्रारम्भिक अन्वेषणमा देखिएको थियो। त्यसको विस्तृत प्रतिवेदनबारे जानकारी गराउँदै चिनियाँ कम्पनीले उक्त स्थानमा ८० अर्ब ७० करोड घनमिटर ग्यास रहेको जानकारी नेपालको खानी तथा भूगर्भ विभागलाई गराएको हो।” हेर्नुहोस्, समाचार । 

यसको वास्तविकता बुझ्न हामीले खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्कासँग सम्पर्क गर्‍यौँ । खड्का खानी तथा भूगर्भ विभागस्थित पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख समेत हुन् । उनका अनुसार चिनियाँ सरकारी स्वामित्वको ‘चाइना जिओलोजिकल सर्भे’ ले अन्वेषण कार्य सम्पन्न गरी प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । विस्तृत प्रतिवेदनका मुख्य बुँदाबारे जानकारी प्राप्त भए पनि औपचारिक रूपमा सरकारी पक्षलाई हस्तान्तरण हुन भने अझै पनि बाँकी छ । चिनियाँ पक्षसँगको सम्झौताका कारण प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने उनले स्पष्ट पारे । 

प्रवक्ता खड्काले प्रारम्भिक प्रतिवेदनका आधारमा दैलेखको भैरवी गाउँपालिका वडा नं. १, जलजलेमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने ‘अनुमान’ गरिएको बताए । यद्यपि, विस्तृत प्रतिवेदनको जानकारी दिने क्रममा पछिल्लो पटक चिनियाँ प्राविधिकले सो क्षेत्रमा सुरुमा अनुमान गरिएभन्दा कम अर्थात् ८० अर्ब ७० करोड घनमिटर मात्र ग्यास हुन सक्ने जानकारी दिएका छन् । “यो परिमाण पनि अन्तिम रूपमा पुष्टि भइसकेको भने होइन,” टेकपाना फ्याक्टचेक डेस्कसँग कुरा गर्दै खड्काले भने, “यसपछि पनि केही अन्वेषण र अध्ययनका काम बाँकी नै छन् ।”

यसबाट के स्पष्ट हुन्छ भने केही सञ्चार माध्यमले दाबी गरेझैँ ‘१ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास पुष्टि भएको’ भन्ने कुरा तथ्यगत रूपमा भ्रामक छ । अब ‘दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भयो’ भन्ने विभिन्न सञ्चार माध्यम र केपी ओलीको अर्को दाबीतर्फ लागौँ । यो परिमाण केवल प्रारम्भिक अन्वेषण प्रतिवेदनमा गरिएको एउटा ‘अनुमान’ मात्र हो भन्ने स्पष्ट भइसकेको छ । अब प्रारम्भिक अन्वेषण प्रतिवेदन भनेको के हो र यसका प्रक्रियाहरू कसरी अगाडि बढ्छन् भन्नेबारे चर्चा गरौँ ।

बीबीसी नेपालीमा १० फ्रेब्रुअरी २०२६ मा ‘दैलेखमा ग्यास भण्डार पत्ता लगाउने अन्वेषण कहाँ पुग्यो, कति ग्यास निकाल्न सकिन्छ’ शीर्षकको समाचार प्रकाशित भएको छ । यस समाचारमा विस्तृत प्रतिवेदनलाई आधार बनाएर खानी तथा भूगर्व विभागका प्रवक्ता धर्मराज खड्का र पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी भूगर्भविद् प्रकाश लुइँटेलको भनाइ राखिएकोछ । 

भूगर्वविद् लुइँटेलले बीबीसीलाई भने अनुसार ‘वेल टेस्टिङ’ वा ‘परीक्षण उत्पादन’बाट मात्रै त्यहाँको भण्डारणबाट निकाल्न सकिने ग्यासको मात्राबारे आकलन गर्न सकिन्छ । उनले बीबीसीलाई भनेका छन्, “उत्पादन परीक्षणमा यसअघि ‘ड्रिल’ गरिएका ठाउँमा अन्य उपकरण छिराएर चट्टानलाई फुटाउनुपर्ने हो कि अथवा त्यहाँ भएको प्राकृतिक ग्यासलाई केही चिजले विस्थापित गर्नुपर्ने हो भन्ने लगायतका भण्डारको वास्तविक विशेषता कस्तो छ भनेर परीक्षण गरिन्छ ।”

सोसाइटी अफ पेट्रोलियम इन्जिनियर्सका अनुसार वैज्ञानिक तथा पेट्रोलियम अन्वेषणको भाषामा ‘पुष्टि हुनु’ (प्रुभन वा कन्फर्म्ड रिजर्भ) भनेको निकै कडा मापदण्ड पूरा भएको अवस्था हो । यो भनेको ड्रिलिङ, परीक्षण र उत्पादनबाट उच्च विश्वास (सामान्यतया ९०% भन्दा बढी सम्भाव्यता) का साथ आर्थिक रूपमा निकाल्न सकिने मात्रा निश्चित भएको अवस्था हो । यसलाई मात्र ‘प्रुभन रिजर्भ्स’ भनिन्छ, जसलाई व्यावसायिक उत्पादनका लागि भरपर्दो मानिन्छ । 

 

अन्य स्तरमा भने सम्भाव्य स्रोत (prospective resources) वा सशर्त स्रोत (contingent resources) भनिन्छ । जुन अनुमानित वा प्रारम्भिक मात्र हुन्छन् र थप अन्वेषण वा परीक्षण आवश्यक पर्छ ।

दैलेखको अवस्थामा चिनियाँ टोलीको विस्तृत भूगर्भीय प्रतिवेदनले जलजले क्षेत्रमा करिब ८०.७ अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने अनुमान गरेको हो । यसमा ग्यासको अनुमानित मात्रा पहिलेको प्रारम्भिक अनुमान भन्दा कम छ । ड्रिलिङबाट ग्यासको उपस्थिति पुष्टि भएको छ, तर यो मात्रा अनुमानित वा सम्भाव्य मात्र हो । यहाँ व्यावसायिक उत्पादन सुरु भएको छैन । 

यी विभिन्न तथ्यको विश्लेषण गर्दा पहिले तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनुमानित परिणामलाई पुष्टि भयो भन्दै सञ्चार माध्यमसँग कुराकानी गरेको बुझिन्छ । सञ्चार माध्यमहरूले पनि त्यही भनाइलाई आधार मान्दै दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन (प्राकृति ग्यास) रहेको पुष्टि भयो भन्दै समाचार राखे । पछि त्यसैलाई आधार लिएर ओलीले आफ्नो प्रधानमन्त्रीत्व कार्यकालमा दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको भनी दाबी गरे । जुन टेकपानाको फ्याक्टचेकबाट भ्रामक पुष्टि हुन्छ । उनको पालामा दैलेखमा प्राकृतिक ग्यासको सम्भाव्यता अध्ययन भएको कुरा सत्य भए तापनि अध्ययनले सो परिमाणको ग्यास पुष्टि गरेको भने होइन । 

प्रारम्भिक अन्वेषण प्रतिवेदनले १ खर्ब १२ अर्ब घनमिटर ग्यास हुन सक्ने अनुमान गरे पनि विस्तृत प्रतिवेदनले ८० अर्ब ७० करोड घनमिटर मात्र हुन सक्ने देखाएको छ । यो परिमाण पनि हालसम्म अन्तिम रूपमा पुष्टि भइसकेको होइन । अर्थात् यो मात्रा पनि फरक पर्न सक्छ । 

 

दाबी

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ५ फेब्रुअरी २०२६ मा आफ्नो फेसबुक पोस्टमार्फत दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गरिएको र आफू सरकारमा हुँदा नै गत वर्ष १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको दाबी गरेका छन् । उनले उक्त परिमाण पुष्टि भइसकेको भन्दै नमुना परीक्षण सफल भएको र व्यावसायिक उत्पादनको योजना अघि बढाइएको पनि उल्लेख गरेका छन् ।

 

दाबीकर्ता

दाबीकर्ता नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हुन् । उनले उक्त दाबी आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक रूपमा पोस्ट गरेका थिए ।

 

तथ्य

टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धान अनुसार दैलेखको जलजले क्षेत्रमा ‘१ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास’ रहेको कुरा पुष्टि भएको होइन । बरु चिनियाँ सरकारी निकाय ‘चाइना जिओलोजिकल सर्भे’ ले तयार पारेको प्रारम्भिक अन्वेषण प्रतिवेदनमा यति मात्रा हुन सक्ने अनुमान मात्र गरिएको थियो । पछि विस्तृत प्रतिवेदनको जानकारी दिने क्रममा उक्त परिमाण घटेर करिब ८० अर्ब ७० करोड घनमिटर हुनसक्ने सङ्केत गरिएको छ । तर यो पनि अन्तिम रूपमा पुष्टि भइसकेको छैन ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काले उल्लेख गरिएको मात्रा अनुमानकै रूपमा रहेको स्पष्ट पारे । पेट्रोलियम अन्वेषणको मापदण्डअनुसार 'पुष्टि' (प्रुभन रिजर्भ) भन्नका लागि ड्रिलिङ, परीक्षण उत्पादन र आर्थिक रूपमा निकाल्न सकिने उच्च विश्वसनीय प्रमाण आवश्यक पर्छ । जुन दैलेखको सन्दर्भमा अझै पूरा भइसकेको छैन ।

 

निष्कर्ष

“दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास पुष्टि भएको” भन्ने केपी शर्मा ओलीको दाबी भ्रामक छ । किनकि उपलब्ध तथ्यअनुसार उक्त परिमाण प्रारम्भिक अन्वेषणमा गरिएको अनुमान मात्र हो, पुष्टि भइसकेको प्रमाणित निष्कर्ष होइन । दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन भएको कुरा सही भए पनि ओलीले अनुमानलाई ‘पुष्टि’ भनेर प्रस्तुत गरेकाले दाबी तथ्यगत रूपमा गलत दिशामा लैजाने खालको देखिन्छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८२ २०:१९