close

फ्याक्टचेक: झापामा एमालेले पैसा बाँड्दा गोली चलेको दाबी मिथ्या, भिडिओ ग्रीसको भएको पुष्टि

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

माघ २९, २०८२ ११:७

फ्याक्टचेक: झापामा एमालेले पैसा बाँड्दा गोली चलेको दाबी मिथ्या, भिडिओ ग्रीसको भएको पुष्टि

काठमाडौँ । नेकपा (एमाले) ले पैसा बाँड्ने क्रममा प्रहरीले छापा मार्दा झापामा गोली चलेको दाबी गरिएको एउटा भिडिओ बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 'Deepak' नामक फेसबुक प्रयोगकर्ताले झडपको दृश्य देखिने भिडिओ सार्वजनिक गर्दै झापामा गोली चलेको दाबी गरेका हुन् । तर, टेकपानाको तथ्यजाँच (Fact-check) बाट उक्त दाबी पूर्णतः निराधार र मिथ्या रहेको पुष्टि भएको छ । वास्तवमा दुई महिनाअघि ग्रीसको राजधानी एथेन्समा भएको झडपको दृश्यलाई झापाको घटना भन्दै भ्रम फैलाइएको पाइएको हो ।

दाबी 

फेसबुक प्रयोगकर्ता ‘Deepak’ ले ‘झापामा चल्यो गोली’ भन्ने क्याप्सन राखेर बुधबार बिहान एउटा भिडिओ शेयर गरेका छन् । भिडिओको सुरुवाती ८ सेकेन्डमा लगातार गोली चलेको जस्तो आवाज सुनिन्छ । दृश्यमा धुवाँ उडिरहेको, केही प्रदर्शनकारीले रातो र हरियो रङको झण्डा बोकेको र एम्बुलेन्स वा प्रहरीको साइरन बजिरहेको सुन्न सकिन्छ ।

भिडिओमा दाबी गरिएको छ, “साथीहरू, झापामा एमालेले पैसा बाँड्ने क्रममा पुलिसले छापा मारेपछि दुई समूहबिच गोली हानाहान भएको छ ।”

बिहान ८:१५ बजे पोष्ट गरिएको यो भिडिओलाई केही घण्टामै ११ हजार ५०० भन्दा बढीले रियाक्ट गरेका छन् भने १२ सयभन्दा बढी पटक शेयर गरिएको छ । यो भिडिओ ५ लाख ३५ हजारभन्दा बढी पटक हेरिएको छ । यो सामग्री 'Rabi Lamichhane Party-(𝐑𝐒𝐏)', 'Madhesh Pradesh (मधेश प्रदेश)' र ‘Apil Tripathi-गण्डकी छड्के समर्थक ग्रुप’ जस्ता ठूला फेसबुक समूहहरूमा पनि फैलिएको छ ।

फेसबुक प्रयोगकर्ता ‘Deepak’ ले ‘झापा मा चल्यो गोलि’ क्याप्सन सहित बुधबार बिहान एक भिडिओ शेयर गरेका छन् । भिडि‌ओको पहिलो ८ सेकेन्डमा लगातार गोली चलिरहेको आवाज सुन्न सकिन्छ । दृश्यमा धुवा उडिरहेको छ भने हातमा रातो र हरियो मिश्रित रङको झण्डा बोकेर केही प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन् । साइरन बजिरहेको समेत भिडि‌ओमा सुन्न सकिन्छ ।

त्यसपछि भिडिओमा  भनिएको छ, “झापामा एमालेले पैसा बाँड्ने क्रममा पुलिसको छापा मारिसकेपछि दुई समूहबिच गोली हानाहान भएको छ साथीहरू ।” हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

  

यो भिडिओ चार लाख बढी सदस्य रहेको 'Rabi Lamichhane Party-(𝐑𝐒𝐏)' नामको फेसबुक ग्रुप, एक लाख बढी सदस्य रहेको ग्रुप 'Madhesh Pradesh (मधेश प्रदेश)', चार लाख बढी सदस्य रहेको ‘Apil Tripathi-गण्डकी छड्के समर्थक ग्रुप’ लगायतमा समेत शेयर भएको पाइएको छ । 

अनुसन्धान

फेसबुक प्रयोगकर्ता ‘Deepak’ को भिडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको पाइएपछि हामीले उक्त घटनासँग सम्बन्धित समाचारहरू खोज्ने प्रयास गर्‍यौँ । ‘झापा एमाले पैसा’, ‘झापा गोली’, ‘झापा प्रहरी छापा’ लगायतका किवर्डहरू राखेर सर्च गर्दा झापामा गोली चलेको घटनालाई पुष्टि गर्न सक्ने सामग्रीहरू फेला पार्न सकेनौँ । 

त्यसपछि हामीले झडपको भिडिओबाट स्क्रिनशट लिएर गुगल रिभर्स सर्च गर्‍यौँ । यसरी खोज्ने क्रममा फेसबुक प्रयोगकर्ता ‘Deepak’ ले राखेको जस्तै समान किसिमको भिडिओ फेला परे । ‘Clashes erupt at Athens protest marking teen’s killing anniversary’ शीर्षकमा ‘द अस्ट्रेलियन’ नामको न्युज पोर्टलले सोही भिडिओ राखेको फेला परेको हो । 

यस्तै ‘Deepak’ ले राखेको भिडिओमा ‘Fox news channel’ को वाटरमार्क देख्न सकिन्छ । त्यसपछि हामीले उक्त भिडिओ वास्तवमा अमेरिकामा आधारित रहेको फक्स न्युज च्यानलबाट पोस्ट भए/नभएको खोज्ने प्रयास गर्‍यौँ । त्यसका लागि ‘Athens protest teen’s killing anniversary fox news’ किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । 

‘Fox News’ को भेरिफाइड फेसबुक पेजबाट ७ डिसेम्बर २०२५ मा १५ सेकेन्ड लामो सोही भिडिओ सार्वजनिक भएको फेला पर्‍यो । हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

भिडिओको क्याप्सनमा भनिएको छ “ग्रीसको एथेन्समा सडकमा प्रदर्शनकारीहरूको प्रदर्शन नियन्त्रण प्रहरीले स्टन ग्रेनेड प्रयोग गरेर हटायो । शनिबारको प्रदर्शन प्रहरीले एक किशोरलाई गोली हानी हत्या गरेको घटनाको १७ औँ वार्षिकोत्सवको अवसरमा गरिएको थियो । उक्त प्रदर्शनले व्यापक दङ्गा भड्काएको थियो ।” (अङ्ग्रेजीमा लेखिएको क्याप्सनको नेपाली रूपान्तरण)

त्यसपछि हामीले उक्त दङ्गा हुनुको कारण बुझ्ने प्रयास गर्‍यौँ । युरोपीयन न्युज पोर्टल ‘Tovima’ र ग्रीसको राजधानी एथेन्सबाट सञ्जालनमा रहेको न्युज पोर्टल ‘Ekathimerini’ मा उक्त प्रदर्शनको बारेमा तयार पारेको समाचार फेला पर्‍यो । उक्त समाचारहरूका अनुसार ६ डिसेम्बरमा ग्रीस राजधानी एथेन्समा पाँच हजार भन्दा धेरै प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए । 

१७ वर्ष पहिले अर्थात् ६ डिसेम्बर २००८ मा विशेष कुनै कारण बिना १५ वर्षीय किशोर एलेक्जेन्ड्रोस ग्रिगोरोपोलिलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो । सोही किशोरको हत्याको शोक र प्रहरीको क्रूरता विरुद्ध हरेक वर्ष ६ डिसेम्बरमा एथेन्समा स्थानीयहरूले प्रदर्शन गर्दै आएका छन् । सन् २०२५ मा स्थिति केही बिग्रिएपछि भीडलाई नियन्त्रणमा लिन स्टन ग्रेनेड (भीड नियन्त्रण गर्न प्रहरीले प्रयोग गर्ने कम घातक हतियार) प्रहार गरेको समयको हो । उक्त प्रदर्शनमा स्थिति केही बिग्रिएपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा समेत लिएको थियो ।

यता फेसबुक प्रयोगकर्ता ‘Deepak’ ले नै केही दिनअघि धनगढीमा महेश बस्नेतले कुटाई खाएको भन्दै दुई महिना पुरानो भ्रामक भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओको टेकपानाले तथ्यजाँच समेत गरेको थियो । तथ्यजाँचबाट उनले भ्रम फैलाएको पुष्टि भएको छ । 

दाबी

झापामा एमालेले पैसा बाँड्ने क्रममा पुलिसको छापा मार्दा दुई समूहबिच गोली हानाहान भयो । 

दाबीकर्ता 

फेसबुक प्रयोगकर्ता ‘Deepak’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

भाइरल भिडिओ झापाको होइन । उक्त भिडिओ दुई महिना पहिले ग्रीसको राजधानी एथेन्समा भएको प्रदर्शन र झडपको हो । जहाँ प्रहरीले भीड नियन्त्रणका लागि स्टन ग्रेनेड प्रयोग गरेको थियो । त्यसलाई झापामा एमालेले पैसा बाँड्ने क्रममा प्रहरीले छापा मार्दा गोली चलेको भनेर गलत तरिकाले प्रस्तुत गरिएको हो । 

निष्कर्ष

झापामा एमालेले पैसा बाँड्दा प्रहरीले छापा मारेको र दुई पक्षबिच गोली हानाहान भएको भन्ने दाबी मिथ्या हो ।  

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८२ ११:१३